विद्यालय र स्वास्थ्य संस्थाका समस्या उजागर गर्दै युवाहरु

कमलामाई नगरपालिका, वडा नं. ९ का ४९ वर्षीय भीमबहादुरलाई स्वास्थ्य चौकीबाट कुन कुन औषधी निःशुल्क उपलब्ध हुन्छन् भन्ने जानकारी नहुँदा लामो समय अघिदेखि मेडिकल हलमा पुगेर औषधी किन्ने गर्नुहुन्थ्यो । तर, युवा नागरिक अंकपत्र कार्यान्वयनको क्रममा लक्षित समूह छलफलमा सहभागिता जनाएपछि मात्र उहाँले स्वास्थ्य चौकीबाट ९१ प्रकारका औषधीहरू निःशुल्क उपलब्ध हुन्छन् भने प्राथमिक स्वास्थ्य केन्द्र र जिल्ला अस्पतालमा ९८ किसिमका औषधी निःशुल्क प्राप्त हुने जानकारी पाउनुभयो ।
सिद्धबाबा मा.वि. पानीट्यांकीका शिक्षक अभिलाषा कोइरालालाई विद्यालयमा उपलब्ध शौचालय सुविधा पर्याप्त नै छन् भन्ने धारणा थियो । युवा अंकपत्र कार्यान्वयनका क्रममा भएको लक्षित समूह छलफलमा छात्राहरूले उठाएका समस्याले उहाँलाई झस्कायो । “छात्रा विद्यार्थीका लागि शौचालय पुगेकै छ भन्ने लागेको थियो, तर छात्राहरूले व्यक्त गरेको पीडाले हामीलाई सोच्न बाध्य बनायो”, उहाँको भनाइ छ, “लक्षित समूह छलफलका क्रममा प्रति शौचालय २५ छात्राका दरले शौचालय निर्माण गर्नुपर्छ र एक शौचालय बराबर चार युरिनल आवश्यक पर्छ भन्ने कुरा विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छता सम्बन्धी मार्गदर्शन २०८० मा उल्लेख छ भन्ने जानकारी भयो ।” यस कार्यक्रमअघि नगरपालिकाले निर्माण गरेको सो कार्यविधिको प्रावधान बारेमा समेत जानकारी थिएन ।
युवा नागरिक अंकपत्र

युवा नागरिक अंकपत्र कुनै पनि कार्यालय वा निकायसँग सम्बन्धित सवल र सुधार गर्नुपर्ने पक्षहरूको विश्लेषण गरिन्छ । यसका लागि मार्गदर्शन नै तयार गरिएको छ, जसले अंकपत्र कार्यान्वयन गर्ने युवाहरूको छनौट, उनीहरूको क्षमता विकास, लक्षित समूह छलफल, अधिकार म्याट्रिक्सको तयारी, सरोकारवालाहरूबिच आमनेसामने बैठक सञ्चालन, पहिचान गरिएका मुख्य सवाल वा समस्या समाधानका लागि अल्पकालीन र दीर्घकालीन योजना तयारी, अनुगमन र सञ्चार पैरवी कसरी गर्ने भन्ने प्रक्रियाको बारेमा विस्तृत रूपमा युवाहरूलाई जानकारी गराउँदछ ।

लक्षित समूह छलफलबाट प्राप्त सवाल र तिनको प्राथमिकीकरणको नमूना
हाल सिन्धुली जिल्लाको कमलामाई नगरपालिकामा युवा नागरिक अंकपत्र कार्यान्वयनमा ल्याइएको छ, जसलाई मानव तथा राष्ट्रिय विकास समाज (ह्याण्ड्स) नेपाल र प्लान इन्टरनेशनल नेपालले सहयोग पु¥याइरहेका छन् ।
यस कार्यका लागि प्रत्येक वडाबाट पाँच पाँच जनाका दरले ३० युवाको छनौट गरी उनीहरूको क्षमता अभिवृद्धिपश्चात् युवा नागरिक अंकपत्र कार्यान्वयनका लागि परिचालन गरिएको छ ।
उठान गरिएका मुख्य सवालहरू
लक्षित समूह छलफलका क्रममा उठान गरिएका अधिकांश सवालहरू स्थानीय सरकार सञ्चालन ऐनले स्थानीय सरकारको जिम्मेवारीमा निर्दिष्ट गरेका, संविधानले मौलिक हकको रूपमा उल्लेख गरेका र नेपाल पक्ष राष्ट्र भएका अभिसन्धि महासन्धिहरूले अधिकारको रूपमा निर्दिष्ट गरेका विषयसँग सम्बन्धित रहेका छन् ।

संघीय सरकारले २०७४ चैत्र २२ गते विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छता सम्बन्धी कार्यविधि जारी गरी विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छताका दश सूचक निर्धारण गर्नुका साथै सम्पूर्ण विद्यालयहरूलाई बालमैत्री वातावरणमा सिक्ने कुराको सुनिश्चितता हुनुपर्ने व्यवस्था गरेको छ । विद्यालयमा शुद्धीकरण गरिएको पिउने पानी तथा सरसफाइका लागि सुरक्षित पानी, पर्याप्त शौचालय, महिनावारीमैत्री शौचालय, फरक उमेर समूहका लागि एउटै आकारको सेनिटरी प्याड भएको, शौचालयभित्र सेनिटरी प्याडको विसर्जनका लागि ढक्कन सहितको बाल्टी, ठोस तथा तरल फोहर मैलाको व्यवस्थापन, सुरक्षित दिवा खाजा लगायतका विषय उठान गरिएका छन्, जुन विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छता सम्बन्धी कार्यविधिले निर्दिष्ट गरेका विषय छन् ।

यसै गरी, विद्यार्थीको बसाइ व्यवस्थापन, विद्यालयमा जेण्डर फोकल पर्सनको व्यवस्था, पंखाको मर्मत सम्भार, फर्निचर मर्मत सम्भार, विद्यालय नजिकका दुर्घटना जोखिम क्षेत्रमा सङ्केतहरू राख्नुपर्ने तथा प्रयोगकर्तामैत्री फर्निचरको व्यवस्था लगायतका विषय उठान गरिएको जानकारी युवा नागरिक अंकपत्र कार्यान्वयन गर्न युवाहरूलाई सहजीकरण गरिरहेको मानव तथा राष्ट्रिय विकास समाज (ह्याण्ड्स) नेपालका कार्यक्रम प्रबन्धक रोहित ढकालले जानकारी दिनुभयो ।

३ वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ विषयमा अध्यापन भइरहेको शिद्धबाबा माध्यमिक विद्यालयमा सबैभन्दा चर्को रूपमा विद्यालय छात्रावासको सवाल उठान भयो । विद्यालयको छात्रावास नहुँदा बाहिरबाट यहाँ अध्ययन गर्न आउने विद्यार्थीहरू डेरामा बस्नुपरेको, उपयुक्त डेराको अभाव भएको, विद्यार्थीहरू अभिभावकविहीन भएर बस्दा कुलतमा फस्ने जोखिम बढी भएको र डेरामा बस्दा सिकाइको उपयुक्त वातावरण नभएकोले छात्रावासको सुविधा भएमा छात्र छात्रा दुबैका लागि सुरक्षित र उपयुक्त वातावरणमा अध्ययन गर्न सकिने माग विद्यार्थीहरूको रहेको थियो ।

शौचालय भित्र सेनिटरी प्याडको विसर्जन गर्दै एक छात्रा
“धेरै अघिदेखि नै विद्यार्थीले यो विषय उठान गरिरहेका रहेछन्, तर त्यसमाथि व्यापक छलफल हुन सकेको रहेनछ” विद्यालयका प्रधानाध्यापक टोमप्रसाद काफ्ले भन्नुहुन्छ, “युवा नागरिक अंकपत्र कार्यान्वयनको क्रममा लक्षित समूह छलफल, अंकपत्रमा अङ्क दिने, सवालको प्राथमिकीकरण गर्ने र आमने–सामने बैठकमा छलफल गर्दा छात्रावासको आवश्यकताको बारेमा विद्यार्थीले व्यक्त गरेका विचारले सबैको मन छोयो ।”
विद्यार्थीको जायज मागमाथि छलफल गर्ने मौका मिल्योः प्रधानाध्यापक 
विद्यालय छात्रावास हाम्रो विद्यालयका लागि निकै आवश्यक छ । विद्यार्थीहरूले समेत समय समयमा यो विषयमा कुरा राख्दै आएका थिए । तर, त्यसलाई गहनताका साथ हेरिएको थिएन । यस विषयमा अभिभावक, विद्यालय परिवार, जनप्रतिनिधि, विद्यार्थी र अन्य सरोकारवालाहरू एक स्थानमा बसेर यसको आवश्यकता र औचित्यमाथि छलफल हुन सकेको थिएन ।

युवा नागरिक अंकपत्र कार्यान्वयनका ल्याउने यस विद्यालय समेत छनौटमा पर्न सफल भयो । विद्यालयभित्र नै छात्रावास र शिक्षक आवास भएमा विद्यालयभित्र नै फलफूल तथा तरकारी खेती गर्न सकिने, विद्यार्थीले विद्यालय हाताभित्र नै विभिन्न परियोजना कार्य गर्न सक्ने र संघीय सरकारले समेत प्राथमिकता दिएको आवासीय सुविधा सहितको पठनपाठनको व्यवस्था हुन सक्छ ।

टोमप्रसाद काफ्ले, प्रधानाध्यापक, सिद्धबाबा माध्यमिक विद्यालय, कमलामाई–६, पानीट्यांकी
पैसा हुनेहरू सहरका निजी विद्यालयमा पढ्न जान्छन् । हामीले सेवा दिने अधिकांश परिवार मध्यम तथा न्यून आय भएका छन् । बाहिरबाट यहाँ आएर डेरामा एक्लै बस्नेहरू छन्, जसले डेरा भाडा तिर्न पनि कठिन हुन्छ । अर्कोतर्फ उनीहरू बाहिर एक्लै डेरामा बस्ने उनीहरू सुरक्षा र संरक्षणका दृष्टिले समेत जोखिममा परिरहेका छन् । उनीहरूले छात्रावासको सुविधा प्राप्त गर्न सकेमा उनीहरूको संविधानले सुनिश्चित गरेको शिक्षाको हक सुनिश्चित गर्न समेत सहयोग पुग्छ ।
अहिले यस विषयमा हामीले प्रदेश र संघीय सांसद तथा प्रदेशका मन्त्रीलाई समेत जानकारी गराइसकेका छौँ । यो विषय कार्य योजना अनुसार कार्यान्वयनमा ल्याउन हामी सबै क्रियाशील र प्रतिबद्ध रहेका छौँ ।
टोमप्रसाद काफ्ले, प्रधानाध्यापक, सिद्धबाबा माध्यमिक विद्यालय, कमलामाई–६, पानीट्यांकी
त्यसो त, विद्यालयले छात्रावासको आवश्यकता महसुस गरेर १० वर्षे योजना समेत तयार गरेको थियो, तर सरोकारवालाबिच सघन रूपमा छलफल भएको थिएन । “अंकपत्र कार्यान्वयनका क्रममा बहुसरोकारवाला बीच सघन रूपमा छलफल भयो”, प्रधानाध्यापक काफ्ले भन्नुहुन्छ, “अंकपत्र कार्यान्वयनले हामीले छात्रावासको विषयलाई नगरपालिका, प्रदेश सरकार र संघीय सरकारसम्म पु¥याउन बल मिलेको छ ।”
विद्यालय मात्र होइन, स्वास्थ्य संस्थासँग सम्बन्धित यस्तै गहन सवालहरू युवा नागरिक अंकपत्र कार्यान्वयनका क्रममा उजागर भएका छन् । स्वास्थ्य संस्थामा खानेपानीको व्यवस्था, सेनिटरी प्याडको उपलब्धता, बिरामी जाँच गर्ने गोप्य कक्ष, अलग्गै परामर्श कक्ष, स्वास्थ्य संस्थामा नागरिक बडापत्र, औषधीको नियमित उपलब्धता, औषधीको वितरणको बारेमा समुदायलाई पर्याप्त जानकारी हुनुपर्ने, नियमित खोप सेवा, घुम्ती स्वास्थ्य शिविर, स्वास्थ्य आमा समूहमार्फत समुदायमा नियमित स्वास्थ्य शिक्षा, मौसमी रोगहरू र यसको रोकथामका उपायहरू बारेमा समुदायलाई जानकारी, स्वास्थ्य तथा सरसफाइ अभियानको निरन्तरता लगायतका विषयहरू स्वास्थ्य संस्थाका सन्दर्भमा उठान गरिएका छन् ।
स्वास्थ्य चौकीमा तला थप्न पैरवी गर्छुः  वडा अध्यक्ष पूर्णबहादुर खड्का 
कमलामाई नगरपालिका वडा नं. ५ मा रहेको स्वास्थ्य चौकीमा बिरामीको सङ्ख्या समेत उल्लेख्य छ । स्वास्थ्य चौकीले सेवा समेत प्रदान गरिरहेको छ । स्वास्थ्य चौकीबाट बेला बेलामा कोठाहरू थप गर्नुपर्ने कुरा त आउने गरेको थियो, तर त्यसलाई हामीले पर्याप्त ध्यान दिन सकेका थिएनौँ ।
युवा नागरिक अंकपत्र कार्यान्वयनका सिलसिलामा सहभागी महिला तथा स्वास्थ्यकर्मीले महिला बिरामी जाँचका लागि गोप्य कोठाको अभाव भएकोले व्यक्तिगत गोपनीयता कायम गर्न समेत कठिनाइ भएको, अलग्गै परामर्श कक्ष नहुँदा स्वास्थ्य संस्थाले दिनुपर्ने परामर्श सेवा प्रभावित भएको विषय उठान गरेपछि यसको गहनताको बारेमा प्रष्ट भयो । निःशुल्क आधारभूत स्वास्थ्य प्राप्त गर्ने व्यक्तिको संवैधानिक हक प्राप्त गर्नबाट हाम्रा नागरिक वञ्चित भइरहेका रहेछन् भन्ने कुराले निकै छोयो ।
त्यसैले, अब म पनि वडा नं. ५ को स्वास्थ्य चौकीमा कोठा थप गरी परामर्श सेवा, बिरामी जाँच सेवा, औषधी भण्डारण कक्षलाई व्यवस्थित बनाउन लाग्छु । नगरपालिका, जिल्ला, प्रदेश जहाँ पुगेर पैरवी गर्नुपरे पनि म तयार छु । युवा नागरिक अंकपत्र कार्यान्वयनका लागि हाम्रो वडामा रहेको स्वास्थ्य चौकी छनौट भएकोले यो विषय बाहिर आयो र हामी सबै सरोकारवालाहरू सचेत बन्न पायौँ ।
उठान गरिएका मध्ये कतिपय सवालहरू सम्बोधन भइरहेका छन् । कमलामाई नगरपालिका वडा नं. ५ मा रहेको कमला जनज्योति माध्यमिक विद्यालय सिलामेमा सेनिटरी प्याड विसर्जन स्थल आवश्यक भएको सवाल उठान भयो । सुरक्षित विसर्जन स्थल नहुँदा विद्यालयको सरसफाइका साथै छात्राहरूको महिनावारी स्वच्छता व्यवस्थापनमा वाधा पुगेपछि पश्चात् ह्याण्ड्स नेपालकै सहयोगमा गल्र्स स्ट््याण्डिङ स्ट्रंग परियोजनाबाट सेनिटरी प्याड सुरक्षित विसर्जन स्थल निर्माण भएको जनाइएको छ । यसै गरी, कमलामाई नगरपालिका, वडा नं. १४ मा रहेको जनता माध्यमिक विद्यालयमा नगरपालिकाको सहयोगमा सेनिटरी प्याड जलाउने मेसिन खरिद गरी प्रयोगमा आइरहेको छ ।
दीर्घकालीन प्रकृतिका सवालहरू वडा तथा नगरपालिकाको वार्षिक कार्यक्रममा समावेश गर्ने प्रयास भइरहेको नगरपालिकाले जनाएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए maishirnepal@gmail.com मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर