व्यक्ति हत्या गरी प्रजातन्त्र दिवसमाः छुटेका दोलखा दुई पुरुष २३ वर्षपछि पक्राउ
दोलखा । हत्या आरोपमा सर्वस्वसहित जन्मकैदको फैसला भएपनि असल चालचलन भएको भन्दै छुटेका दोलखाको मेलुङ गाउँपालिकाका दुई पुरुष २३ वर्षपछि पुनः पक्राउ परेका छन् ।
मेलुङ गाउँपालिका–८ का ७२ वर्षीय वृद्ध दुर्गाबहादुर दमाई र सोही स्थानका ५३ वर्षीय साधुराम भनिने खड्गबहादुर दमाई असल चालचलन भएको भन्दै छुटेको २३ वर्षपछि पुनः पक्राउ परेका हुन् । उनीहरुविरुद्ध दोलखा जिल्ला अदालतले २०५३ साल माघ २५ गते हत्या अभियोगमा सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो । तर, दुवै जना कारागार व्यवस्थापन विभागको सिफारिस अनुसार असल चालचलन भएको भन्दै २०५६ साल फागुन ७ गते प्रजातन्त्र दिवसको दिन कारागारबाट छुटेका थिए ।
हत्या अभियोगमा सर्वस्वसहित जन्मकैदको फैसला भएका व्यक्तिलाई कैद मिनाहा गरिएको भन्दै पीडित पक्षले सर्वोच्च अदालतमा पुनरावेदन दिएका थिए । सर्वोच्चले पनि कैदी माफी मिनाहाको निर्णय उल्टाउँदै जिल्लाकै फैसलालाई सदर गरेको थियो । २०५८ सालको मंसिर ७ गते सर्वोच्चको यस्तो फैसला आएपछि फरार रहेका उनीहरुलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले २३ वर्षपछि काठमाडौँबाट पक्राउ गरेको हो ।
पक्राउ परेका दुवै जनालाई कर्तव्य ज्यान मुद्धामा कैद भुक्तानका लागि काठमाडौँ जिल्ला अदालत पेश गरिएको प्रहरीले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए maishirnepal@gmail.com मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।