माईस्थान मन्दिर: आस्था र विश्वासको केन्द्र

माई स्थान मन्दिर जसलाई कमलामाई मन्दिरको नामले पनि पुकारिन्छ कमलामाई नगरपालिका वडा नं. ५ अन्तर्गत जिल्ला सदरमुकाम सिन्धुलीमाढीबाट आएको पवित्र गौमती नदी र चुरेपर्वतबाट उत्पति भई आएको कमला नदीको संगमस्थलमा अवस्थित छ । यो मन्दिरमा माघे संक्रान्तीका दीन निकै ठुलो मेला लाग्दछ । यो मन्दिरमा पुगेर इच्छाएको कुरा माग्दा पुरा हुने भन्ने विश्वासले गर्दा यो मन्दिरको महत्त्व अति छ । माई स्थान मन्दिरमा विशेष गरी माघ महिनामा पाठी परेवाको भोग दिई भाकल पुरा गरिन्छ तर समयको अन्तराल सँगै जीवात्माको वली दिने प्रथामा कमी हुँदै आइरहेको छ । प्राकृतिक मनोरमता, शहरको भिडभाड र हो हल्लाबाट टाढा, यातायातका साधनको सहज पहुँच अनि अगाध आस्था र विश्वासको कारणले यो मन्दिरमा श्रद्घालुहरु मात्र नभई मनोरञ्जनको उद्घेश्यले आउने समूहहरूको पनि मन्दिर क्षेत्रमा सधैँ भिडभाड रहेको हुन्छ ।

माईस्थान मन्दिरको उत्पतिको सन्दर्भमा निकै कथनहरू चर्चामा छन् । अभौतिक कथनहरू (Metaphysical Speculation ) विशेष गरी अलौकिक तर्क र विश्वासमा आधारित छ । जसलाई विश्वास गर्दा ऐतिहासिक सन्दर्भहरूको साख कमजोर हुन्छ । तसर्थ यी अलौकिक तर्कहरूलाई आजको यो लेखमा समावेश नगर्ने विचार गरेको छु । यो सानो लेखमा विशेष गरी इतिहास तथा माई स्थान मन्दिरमा उपलब्ध गहनाहरूमा उल्लेख गरिएको तीथिमितिलाई आधार मानेर इतिहाँसलाई प्रस्तुत गर्ने प्रयास गरेको छु ।

माईस्थान मन्दिरको उत्पतिको सन्दर्भलाई अनुमान गर्न निकै कठिन छ । किनभने यो मन्दिरमा विभिन्न कालखण्डमा अर्पण गरिएका गरगहनाहरूमा कुँदिएको तिथि मिति पनि निकै अगाडिदेखिको छ । हालको सिन्धुलीगढी लगायत कमला नदीको क्षेत्रहरू एकीकरणको समयभन्दा अगाडि मकवानपुर राज्य अन्तर्गत थियो । मकवानपुरे राजा हरइन्द्रसेनको पालामा मकवानपुर राज्यको विस्तार भारतको सिलगुडीसम्म पुगेको सन्दर्भ मकवानी वाला महाकाब्यमा उल्लेख गरिएको छ । कमलामाई मन्दिरमा हरइन्द्रसेनका पालाका दुई वटा चाँदीका पानसहरू चढाइएका छन् । एउटा पानसमा वि.सं १६९२ माघ वदी ३ रोज भनेर प्रस्टसँग अक्षरहरू कुँदिएको छ र यो पानस चढाउने व्यक्ति श्री दल दीप बहादुर पाण्डे लेखिएको छ । यो चाँदीको पानसमा लेखिएको तीथिमितिले पनि आजभन्दा करिब ४०० वर्ष अगाडि पनि माई स्थान मन्दिर आस्था र विश्वासको धरोहर भएको कुरा प्रस्ट हुन्छ ।
हरइन्द्रसेन पछि यिनका छोरा शुभ सेन मकवानपुरका राजा भए । शुभ सेनले आँफु बृद्घ भएपछि विशाल मकवानपुर राज्यलाई दुई वटा राज्यमा टुक्रा पारी कमला नदीको सिमाना लगाई दिए । कमला नदी पूर्वमा मान्धाता सेन र पश्चिमको भागमा माणिक सेनलाई भाग लगाई राज्य जिम्मा दिएका थिए । इतिहासको यो कथनलाई मनन गर्दा शुभ सेनले राज्य विभाजन पनि यही माई स्थान मन्दिर अवस्थित स्थानलाई मध्य विन्दु पारेर गरेको अनुमान गर्न सकिन्छ । यसै समयमा कमलामाई प्रतीक भनेर यो मन्दिरमा चाँदीको बडो कलात्मक कमलको फुल चढाइएको छ ।
सिन्धुलीमाढीका नजिकका मठ मन्दिरमा मकवानी राजाका समयका तिथि मिति सहितका घण्ट, मूर्तिहरू अहिले पनि पाइन्छन् । सिन्धुलीगढी नजिकैको शिद्घबाबा मन्दिरमा चढाइएको घण्टमा पनि वि.सं. १८१२ भनी प्रस्टसँग मिति कुँदिएको छ । निश्चय नै यो तत्कालीन मकवानपुरे राजा हेमकर्ण सेनको समयको हो । यी नै राजाको पालामा आफ्नी छोरी इन्द्रकुमारीको विवाह गोर्खाली राजा पृथ्वीनारायण शाहसँग हुने काममा व्यवधान आएको सन्दर्भमा सुसम्बन्धको कामना हेतु पवित्र माई स्थान मन्दिरमा चढाइएको दुई ठुलठुला घण्टहरू आज पनि माई स्थान मन्दिरमा झुण्डिरहेका छन् । वि.सं. २०४० सालसम्म पनि यी विशाल घण्टमा लेखिएका अक्षरहरू प्रस्टसँग पढ्न सकिन्थ्यो भने हालमा मौसमी क्षयीकरणको (Weathering) कारणले यसमा लेखिएका स्वस्तीशान्ति सम्बन्धी कुराहरू पढ्न अलि कठिन छ ।
माई स्थान मन्दिरमा वि.सं. १८८६ सालको माघ महिनामा चाँदीको मुकुट चढाउन काजी भीमसेन थापा स्वयं कनिष्ट पत्नी भक्त कुमारी सहित आएका थिए । आधुनिक नेपालको सर्वोच्च कार्यकारी पदका व्यक्ति माई स्थान मन्दिर दर्शन गर्न आएको भीमसेन थापा प्रथम र हालसम्मको लागि अन्तिम व्यक्ति हुन । काठमाण्डौदेखि धेरै दिन लगाएर आउनु वास्तवमै धर्म र आस्थाबाट भित्रैदेखि प्रेरित हुनु हो । त्यसैले नै होला भीमसेन थापाको समयमा भएका सुधारहरूले नेपालको प्रशासनिक, रण नैतिक, सैन्य, न्याय जस्ता पक्षहरूमा पुनर्जागरण प्रदान गर्न सकेको थियो । आफ्नी पत्नी सहित माई स्थान मन्दिरमा माघे संक्रान्ति तीर्थाटनको अवसर पारेर दर्शन गर्न आएका उनले माई स्थान मन्दिरमा चढाएको घण्टमा लेखिएको सन्दर्भ यस प्रकार छ ।

स्वस्ती श्री जनरल भीमसेन थापा एवं कनिष्ट पत्नी भक्त कुमारी देवीले कमलामाई ज्यू मा ५ प्रीती चाँदीको मुकुट सम्बत् १८८६ साल ७ मिति माघ बदी ३ रोज शुभम् ।

राणकालमा जब सिन्धुलीगढी पूर्व २ नं. को प्रशासनिक अड्डा कायम भयो त्यस समयावधिमा माई स्थान मन्दिर जंगी र निजामती दुबैका उच्च पदस्थहरूको आस्थाको केन्द्र बन्यो । तत्कालीन समयमा कर्णेल कीर्तिमान निकै धार्मिक आस्था भएका र सामाजिक भलो चाहने व्यक्ति थिए । यिनैले मन्थलीदेखि सिन्धुलीमाढीसम्म पुग्ने बाटामा २२ थरिका कल्पवृक्ष र चौताराहरू निर्माण गराएका थिए । सिन्धुलीगढी क्षेत्रको पौवा गढीमा भएको समिको वोट यिनैले लगाएका थिए । यस्ता धेरै वृक्षहरू बाटामा अद्यावधिक जीवित छन् । यीनले पनि माई स्थान मन्दिरमा वि.सं. १९७२ मा ढुङ्गाको स्तम्भ सहित ढलौटको सिंह र सुन १ तोला चढाएका थिए । यस स्तम्भ सँगै रहेको शिलालेखमा यसरी लेखिएको छ ।

श्री कमलामाई पृतय १९७२ साल आश्विनमा ढलौटको सिंह चढाएको ७४ साल फाल्गुणमा पत्थरको षंबा र सुनतोला यकको सिंह बाहन भयाको पत्र चाँदीको सिक्री स्मेतको पिता कमाण्डर कर्णेल फौद सिंह पुत्र कर्णेल कीर्तिमान ष. क्ष. दोलखाले चढाएको भुं म्मंः ॥

कीर्तिमान कर्णेलको पालामा पनि माई स्थान मन्दिरको जीर्णोद्धार भएको थियो । माई स्थान मन्दिरको मुख्य मन्दिरको तल्लो भागमा सुनको पातामा वि.सं. १९७४ मा कमलामाई मन्दिरको मर्मत सम्भार गरी चढाएको भनिएको छ ।
लेफ्टिनेण्ट कर्णेल गंगाबहादुर खत्री क्षत्री दोलखाका थिए । यीनलाई नेपालका कुशल प्रशासकको रूपमा गणना गरिन्छ । कीर्तिमान कर्णेलका सार्वजनिक निर्माण तथा सेवा धर्मको यिनलाई ठुलो प्रभाव परेको पाइन्छ । यीनले वि.सं. १९७४ सालमा कमलामाई मन्दिरमा त्रिशुल सहित सिंह चढाएका थिए । भनिन्छ यो सिंह रहेको यो ढुंगाको विशाल स्तम्भ अन्यत्रबाट बोकाएर ल्याइएको थियो । उक्त स्तम्भमा लेखिएको २ वटा लेखोटहरू यस प्रकार छ–
ले. कर्णेल गंगा बहादुर षत्री क्षत्रीले श्री कमलामाई का चरणमा चढाएको सिंह समेतको त्रिशुल भक्ति पूर्वक अर्पण गरेको छु । १९७४कर्णेल राजपद भूः कमलानी भक्तो गंगा बहादुर इति पतिथो विनितः ॥ भक्तार्ती हारिणीः अमुके कमले भवत्याः भक्ता निर्विदयति केशरीशांश सूलभ ॥ सम्बत् १९७४ साल ॥

पुष्कर विक्रम राणा र जनरल चित्र बहादुर राणा मिलेर १९८२ सालको माघे संक्रान्तिमा कमलामाई मन्दिरमा अखण्ड द्विप बालेर सुन चाँदी मिसिएको बेल पत्ता चढाएका थिए । यिनको साथमा यिनकी कान्छी छोरी मैयाँ पनि रहेको चढाइएको वेलपत्तामा उल्लेख छ । अहिले कमला उच्च मा.वि. रहेको स्थानका कटहरका रुखहरू पुष्कर विक्रम राणाले रोपेका हुन् ।

माथिका सन्दर्भहरूले निश्चय पनि माई स्थान मन्दिर उच्च तहका व्यक्तित्वदेखि लिएर साधारण जनताहरू सबैको अगाध आस्था र विश्वासको केन्द्र रहेको कुरा प्रमाणित गरेको छ । यो एउटा पवित्र शक्तिपिठको रूपमा स्थापित भइरहेको छ । नेपालको अन्तरिम कालमा विभिन्न विकृतिहरू र असहिष्णुताको सङ्क्रमण हुन सक्ने अवस्थामा धार्मिक भावना र आस्थामा खलल पु¥याउने खालका गतिविधिहरू नभइरहेका होइनन् । तर यस्ता कुराहरूमा सजग र सहज हुन सक्नु चुनौतीपूर्ण छ । बाइबलको आतङ्कलाई मार्टिन लुथरले निस्तेज बनाउन बाइबल च्यातेनन् तर बाइबलको असल पक्षहरूलाई अङ्ग्रेजीमा लेखेर प्रचार प्रसार गरे । वास्तवमा धार्मिक आस्था जे सुकै भए पनि यसले मानिसलाई अनुशासित, संयमित, प्रेम र प्रगतिको पथमा लान्छ । आस्थालाई चोट पु¥याउने कानुन र गतिविधि भएका देशहरूमा जनता सदा आतङ्कित र अनिश्चित जीवन गुजार्न बाध्य छन् ।


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए maishirnepal@gmail.com मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर