मरिणमा एकीकृत घुम्ती स्वास्थ्य शिविर सञ्चालन, २ सय बढीले लिए सेवा

सिन्धुली । सिन्धुलीको मरिण गाउँपालिका २ स्थित बाल साक्षर मा.वि मुङ्ग्रे दोभानमा आयोजित एकीकृत घुम्ती स्वास्थ्य शिविरबाट दुई सय भन्दा बढी सेवाग्राहीले सेवा प्राप्त गरेका छन् । मरिण गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजना तथा प्लान इन्टरनेश्नल नेपाल र मानव तथा राष्ट्रिय विकास समाज (ह्याण्ड्स) नेपाल सिन्धुलीको साझेदारीमा जि.एस.एस. परियोजना अन्तर्गत सञ्चालित शिविरबाट २ सय ७ जना लाभान्वित भएका छन् ।
शिविरमा ४१ जनाको खकार परीक्षण, ८५ जना महिलाको भिआईए परीक्षण र ४४ जना किशोरी किशोरीलाई यौन तथा प्रजनन् स्वास्थ्य सेवा सम्बन्धी परामर्श प्रदान गरिएको छ भने १ सय ६५ जना सेवाग्राहीहरूलाई औषधी प्रदान गरिएको छ ।
साथै, शिविरमा ३ जना महिलाहरूको पाठेघरमा रिङ पेसरी राखिएको छ भने शिविरमा परीक्षण गराएका ९ जना महिलाहरूको पाठेघर खसेको र ३ जना महिलाहरूको पाठेघरको मुखमा मासु पलाएको पाइएको मरिण गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मधु लाखेले जानकारी दिनु भयो ।
कार्यक्रममा मरिण गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष कमल बहादुर आले मगरले शरीर स्वस्थ भए मात्र आटेका र सोचेका कार्य पुरा गर्न सकिने बताउँदै आज सञ्चालित शिविरमा निर्धक्क भएर आफ्ना समस्या डाक्टर सामु राख्न पनि सेवाग्राहीलाई अनुरोध गरे ।
कार्यक्रममा ह्याण्ड्स नेपाल सिन्धुलीका अध्यक्ष वासुदेव अधिकारीले स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका समुदायका नागरिकलाई यस शिविरले सहयोग पुग्ने बताए ।
जि.एस.एस. परियोजना अन्तर्गत जिल्लाको कमलामाई, दुधौली नगरपालिका र मरिण गाउँपालिकाको विभिन्न स्थानमा यो कार्यक्रममा सञ्चालन गरिने छ, जस अन्तर्गत भोलि बिहीबार मरिण गाउँपालिकाको वडा नम्बर ४ को स्वास्थ्य इकाई खयरसालमा सञ्चालन हुने छ । स्थानीय सेवाग्राहीहरूले आफ्नै स्थानमा सेवा प्राप्त गर्न पाउँदा खुसी व्यक्त गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।