सिन्धुलीमा बागमती प्रदेश स्तरीय महिला कृषि उद्यम मेला हुने

सिन्धुली । अन्तर्राष्ट्रिय महिला दिवस विविध कार्यक्रम आयोजना गरेर मनाइँदै छ ।  विश्व महिला आन्दोलनको आधुनिक अभियान सन् १९१० मार्च ८ तारिखबाट सुरु भएसँगै  हरेक वर्ष श्रमिक महिलाका अधिकार स्थापित गर्ने उद्देश्यसहित अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै आइएको छन् ।

महिला हक, अधिकार, सशक्तीकरण एवं लैङ्गिक समानताका लागि आवाज उठाउँदै विश्वभरि एक शताब्दीभन्दा बढी समयदेखि आजकै दिनलाई महिलाका लागि विशेष दिनका रूपमा मनाइँदै आइएको छ । सन् १९०८ मार्चमा  १५ हजार महिलाले न्यूयोर्क सिटीमा काम गर्ने समय थोरै हुनुपर्ने, राम्रो ज्याला दिनुपर्ने र मतदानको अधिकार हुनुपर्ने मागसहित र्‍याली गरेसँगै यसको बीजारोपण भएको थियो । यसको एक वर्षपछि अमेरिकाको समाजवादी पार्टीले पहिलो राष्ट्रिय महिला दिवस घोषणा गरेको थियो ।

नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९१० मा अन्तर्राष्ट्रिय महिला दिवस सुरुआत गर्नुपर्नेमा सुझाएकी थिइन् । पहिलो पटक सन् १९११ मा अन्तर्राष्ट्रिय महिला दिवस अस्ट्रिया, जर्मनी, डेनमार्क र स्विट्जरल्याण्डमा मनाइएको थियो । तर संयुक्त राष्ट्रसङ्घले सन् १९७५ मा यो दिवस मनाउन थालेपछि यसले आधिकारिक मान्यता पाएको थियो ।

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर सिन्धुलीमा यस वर्ष बागमती प्रदेश स्तरीय महिला कृषि उद्यम मेला हुने भएको छ ।

सौगात लघु उद्यम सहकारी संस्था लिमिटेडले सिन्धुलीमाढीमा पत्रकार सम्मेलन  गरेर ११५ औँ अन्तर्राष्ट्रिय महिला दिवस (८ मार्च) को अवसरमा फागुन २३-२५ गतेसम्म महिला कृषि उद्यम मेला सञ्चालन हुने जनाएको छ।

सौगात लघु उद्यम सहकारी संस्था, सिन्धुलीको अगुवाइमा सञ्चालन हुने मेलामा जिल्लाका नौ वटै पालिकाका प्रमुख तथा उद्यमीहरूदेखि बागमती प्रदेशका मन्त्रीहरू र बागमती प्रदेशका १३ वटै जिल्लाका महिला उद्यमीहरूको सहभागिता रहने आयोजकले जनाएको छ ।

मेला व्यवस्थापन समितिका संयोजक विमला थापाले महिला उद्यमीहरूलाई आफ्नो व्यवसाय विस्तार गर्न यस मेलाले थप प्रेरित गर्ने बताइन् । उद्यम मेलाले महिलाहरूलाई हरेक क्षेत्रमा सशक्त बनाउन टेवा पुग्ने उनको भनाई छ ।

मेलामा कम्तीमा ३६ वटा उद्यमसँग सम्बन्धित स्टलहरू रहनेछन्, जसमा ५० जनाभन्दा बढी महिला उद्यमीहरूले उत्पादन गरेका कृषिजन्य तथा हस्तकला सामग्रीको प्रदर्शनी तथा बिक्री गरिनेछ ।

साथै, योगाभ्यास, बालबालिकाहरूका लागि मनोरञ्जनात्मक गतिविधिहरू, विभिन्न प्रतियोगिता, विद्यार्थीहरूको कृषिसँग सम्बन्धित चित्रकला प्रतियोगिता, रैथाने खाना, प्रविधि र सीपको प्रस्तुति, नवप्रवर्तन प्रदर्शनी, सांस्कृतिक कार्यक्रम, महिलालाई उद्यममा अवसर र चुनौती विषयक छलफल, महिला नेतृत्व र उद्यमशीलता सम्बन्धी विभिन्न कार्यक्रमसमेत मेलाका मुख्य आकर्षण हुनेछन् ।

आयोजकले मेलामा  १० हजारभन्दा बढी अवलोकनकर्ताको सहभागी गराउने लक्ष्य राखेको छ । उद्यमी, किसान, व्यवसायी, विद्यार्थी, सरकारी तथा गैरसरकारी प्रतिनिधिहरूको उत्साहजनक उपस्थिति रहने बताइएको छ ।

 


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर