म युवा किन ? राजनीतिमा… !!

देश र युवाबिचको सम्बन्ध परस्पर निर्भरशील हुन्छ। युवा बिना देशको प्रगति सम्भव छैन, र देश बिना युवाले आफ्नो पहिचान सुरक्षित राख्न सक्दैनन्। देशको भविष्य युवाहरूको काँधमा निर्भर हुन्छ। उनीहरू नै परिवर्तनका संवाहक र समाजका मूल आधार हुन्। नेपालजस्तो विकासशील राष्ट्रका लागि त झन् युवाको भूमिकाले विशेष महत्त्व राख्छ । नेपालमा राजनीति भन्ने बित्तिकै धेरै मानिसको मनमा निराशा जाग्छ। भ्रष्टाचार, अस्थिरता, आश्वासनका खोक्रा बकपत्रहरू—यी सबै देखेर युवाहरू राजनीतिबाट टाढा बस्न चाहन्छन्। तर म फरक सोच राख्छु। देश विकास कुनै जादुको छडी घुमाएझैँ तुरुन्त हुने कुरा होइन। यसको मूल आधार युवा पुस्ताले देखाएको दृष्टिकोण, लिएको कदम, र गरेको मेहनतमा निर्भर हुन्छ। युवाहरूले आफ्ना जिम्मेवारी बुझे, सही दिशामा मेहनत गरे, र आत्मनिर्भर बन्न सके भने नेपाललाई समृद्ध राष्ट्र बनाउन सकिन्छ। यसैले, हरेक युवाले ‘मेरो देश, मेरो जिम्मेवारी’ भन्ने भावना राखेर अगाडि बढ्नुपर्छ।
१. देश बनाउने जिम्मेवारी युवा कै हो ।
हाम्रो देशको नेतृत्वमा अझै पनि उही पुराना अनुहारहरू छन्, जसले राजनीति आफ्नो स्वार्थका लागि मात्र प्रयोग गरेका छन्। तर, हामी युवाहरूले देश बनाउने सपना देख्छौँ। यदि हामी पछाडि हट्यौँ भने, परिवर्तन कसरी सम्भव हुन्छ ? राजनीतिमा गएर नीति परिवर्तन गर्ने, विकासको बाटो देखाउने, र इमानदार नेतृत्व दिनु हाम्रो कर्तव्य हो।
२. पुरानो सोच बदल्न
हाम्रो देशको राजनीति अझै पनि जात, धर्म, क्षेत्र, र पार्टीको घेराभित्र सीमित छ। विकासभन्दा बढी विभाजनको राजनीति भइरहेको छ। म राजनीतिमा आएर यो सोच बदल्न चाहन्छु। समानता, विकास, र पारदर्शिता मेरो प्राथमिकता हुनेछ।
३. युवाहरूको आवाज बुलन्द गराउन
नेपालको कुल जनसङ्ख्याको ठुलो हिस्सा युवा हुन्, तर हाम्रो आवाज कहिल्यै निर्णायक स्थानमा पुग्दैन। हाम्रो भविष्यबारे निर्णय गर्नेहरू सधैँ उही पुराना नेताहरू हुन्, जो युवा पुस्ताको चाहना बुझ्न सक्दैनन्। म राजनीतिमा प्रवेश गरेर युवाहरूको सपना, सङ्घर्ष, र सम्भावनाहरूलाई नीतिमा रूपान्तरण गर्न चाहन्छु।
४. भ्रष्टाचार र अस्थिरता अन्त्य गर्न
देशको प्रमुख समस्या भनेकै भ्रष्टाचार र राजनीतिक अस्थिरता हो। जबसम्म इमानदार युवा राजनीतिमा आउँदैनन्, तबसम्म यो क्रम जारी रहन्छ। म यो चक्र तोड्न चाहन्छु। पारदर्शिता, जबाफदेहिता, र नीति सुधार गर्दै नेपाललाई आत्मनिर्भर राष्ट्र बनाउन चाहन्छु।
५. कर्मबाट राजनीति गर्ने सपना
राजनीति केवल भाषण, नाराबाजी, वा सत्तामा पुग्ने भर मात्र होइन। म काम गरेर, परिणाम देखाएर राजनीति गर्ने पक्षमा छु। शिक्षा, रोजगारी, प्रविधि, स्वास्थ्य, र विकासमा ठोस कदम चाल्ने मेरो लक्ष्य छ।
राजनीति सुधार्ने मेरो बाटो
१. इमानदारीलाई प्राथमिकता दिने
राजनीतिमा सबैभन्दा ठुलो समस्या भनेकै बेइमानी र भ्रष्टाचार हो। म यसलाई अन्त्य गर्ने पक्षमा छु। आफू ईमानदार रहनु, अरूलाई पनि इमानदार बनाउनु मेरो पहिलो लक्ष्य हो।
२. युवालाई सक्रिय बनाउने
हाम्रो देशको राजनीति वृद्ध नेतृत्वकै घेराभित्र सीमित छ। नयाँ सोच, नयाँ विचार भएका युवाहरूलाई अघि बढाउनु जरुरी छ। म युवाहरूलाई जागरूक बनाउने, उनीहरूलाई राजनीतिमा आकर्षित गर्ने प्रयास गर्नेछु।
३. विचारमा होइन, काममा राजनीति
राजनीति भनेको केवल भाषण दिने, आरोप लगाउने, वा पक्ष(विपक्षमा विभाजित हुने मात्र होइन। म ठुला कुरा गरेर होइन, काम गरेर देखाउन चाहन्छु। शिक्षा, रोजगारी, स्वास्थ्यजस्ता क्षेत्रमा सुधार ल्याएर देखाउने मेरो उद्देश्य हो।
४. नीति र प्रणाली सुधार्ने
राजनीति सफा गर्न कानुन र नीति नै प्रभावकारी बनाउनुपर्छ। पारदर्शिता, जबाफदेहिता, र निष्पक्ष प्रणाली स्थापित गर्न म लाग्नेछु। यसका लागि राजनीतिक चेतना भएका युवाहरूको समूह तयार पार्न आवश्यक छ।
म युवा हुँ, म सपना देख्छु, र ती सपना पूरा गर्ने जिम्मेवारी पनि लिन्छु। राजनीतिलाई सफा, प्रभावशाली, र भविष्यमुखी बनाउन युवाहरू अघि आउनुपर्छ। म राजनीति रोज्दै छु, किनभने म परिवर्तन चाहन्छु, र त्यो परिवर्तन म आफैँबाट सुरु गर्न चाहन्छु। हाम्रो देशलाई परिवर्तन गर्न सही सोच भएका युवाहरू राजनीतिमा आउनुपर्छ। म पनि यही सोचले अघि बढ्दै छु। तपाईँ राजनीतिमा फोहोर देख्नुहुन्छ भने म त्यो फोहोर सफा गर्ने उपाय खोज्दै छु। किनकि परिवर्तन बाहिरबाट हेरेर होइन, भित्रै छिरेर गर्न सकिन्छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।