गाउँपालिकाले गाउँमै दिन थाल्यो, हाते ट्याक्टर मर्मत तालिम
२० माघ २०८१, सिन्धुली । गोलन्जोर गाउँपालिकाले गाउँका किसानहरूलाई हाते ट्याक्टर मर्मतसम्बन्धी ज्ञान र सिप दिने उद्देश्यले ‘हाते ट्याक्टर मर्मत तालिम’ सुरु गरेको छ। यस तालिमको माध्यमले ग्रामीण क्षेत्रका किसानहरूलाई आफ्नै स्थानमै ट्याक्टरको मर्मत संभार गर्न सिकाइने छ।
तालिमको उद्घाटन समारोहमा गाउँपालिका अध्यक्ष शंकर राज बरालले यस्ता तालिमहरूले किसानहरूलाई आत्मनिर्भर बनाउन र खेतीकाजमा आउने लागत घटाउन मद्दत गर्ने बताए। उनले भने, “यो तालिमले किसानहरूलाई ट्याक्टरको सामान्य मर्मत गर्न सिकाएर उनीहरूको समय र पैसा बचत गर्न मद्दत गर्नेछ।”
तालिममा सामान्य मर्मत, इन्जिन मर्मत, हाइड्रोलिक प्रणाली, र अन्य प्राविधिक ज्ञान समावेश गरिएको छ। तालिममा प्रशिक्षकहरूले किसानहरूलाई प्रायोगिक र सैद्धान्तिक दुवै ज्ञान प्रदान गर्नेछन्। तालिम पाँच दिनसम्म चल्ने लगुउद्यम सहजकर्ता निर्मला कालिकोटेले जानकारी दिइन् ।
तालिम सहभागी किसान हर्कबहादुर आलेले यस्ता तालिमहरू ग्रामीण क्षेत्रका लागि ठूलो उपलब्धि हो भन्दै आफूले सिकेको ज्ञानले आफ्नो आर्थिक र समयको बचत हुने भएकाले खेतिसानीमा ठूलो फाइदा गराउने बताए।
गाउँपालिकाले यस्ता तालिमहरू निरन्तरता दिने र गाउँका अन्य युवाहरूलाई पनि यस्ता सिपमा प्रशिक्षित गर्ने योजना बनाएको छ। यसले ग्रामीण अर्थतन्त्रलाई मजबूत बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा छ। साथै तालिम सहभागीहरूलाई समापनको दिन प्रमाणपत्र वितरण गरिने छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।