समाजवादी प्रेस संगठनका अध्यक्ष, उपाध्यक्ष र महासचिव प्रेस चौतारी फर्किए
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टी निकट पत्रकारको सङ्गठन समाजवादी प्रेस सङ्गठन नेपालका केन्द्रीय अध्यक्ष विश्वमणि सुवेदीसहित सङ्गठनका पदाधिकारी तथा सदस्यहरु नेकपा एमाले निकट प्रेस चौतारी नेपालमा फर्किएका छन् ।
उनीहरुलाई नेकपा एमाले महासचिव शङ्कर पोखरेल, स्थायी कमिटी सदस्य तथा प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले शुक्रबार एमालेमा स्वागत गरेका थिए ।
नेता माधवकुमार नेपालसहितका नेताहरु एमालेबाट अलग भएर जाँदा प्रेस चौतारी नेपालबाट विभाजन भएर समाजवादी प्रेस सङ्गठन जन्मेको थियो । सो सङ्गठनको अध्यक्ष सुवेदी संस्थापक हुन । नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी र समाजवादी प्रेस सङ्गठनको अस्तित्व समाप्त भएको भन्दै सो सङ्गठनका पत्रकार चौतारीमा फिर्ता हुनुभएको बताए ।
सुवेदी विभाजित भएर जानुअघि प्रेस चौतारी नेपालको उपाध्यक्ष थिए । बागबजारको होटल हार्दिकमा आयोजित स्वागत कार्यक्रममा अध्यक्ष सुवेदीसहित सङ्गठनका उपाध्यक्ष सविन शर्मा, नरेन्द्र साउँद, महासचिव रामकुमार एलन, सचिव नेपोलियन चेपाङ, कोषाध्यक्ष कृपा भण्डारी, केन्द्रीय सदस्यहरू आशिष गुरागाईँ, सौगात मिश्र, माधव पौडेल, यज्ञराज थापा, शिवलाल सुवेदी, रमेश सुवेदी, लिजा क्षेत्री, प्रदीप पौडेल, एकिन्द्र आचार्य, स्मिता अधिकारी, सुशील भट्टराई, राजेन्द्र पोखरेललगायत प्रेस चौतारीमा फर्किएका छन् ।
कार्यक्रममा अध्यक्ष सुवेदीले आफूले प्रेस चौतारी छाडेर हिँडेकोमा पश्चात्ताप लागेको धारणा राखे । प्रेस चौतारीमा बस्दा लेख्न पाइँदैन, बोल्न पाइँदैन भनी आफूहरूलाई भन्ने गरिएको भए पनि एकीकृत समाजवादीमा लेखेकै कारण आफूलाई स्पष्टीकरण खानुपरेको उनले चर्चा गरे ।
‘प्रेस स्वतन्त्रताको पक्षमा हामी लडेर हिँड्ने, तर आफैँ आबद्ध पार्टीले त्यसमा बन्देज लगाउने, त्यो पनि विधि र पद्धतिको कुरा गर्नेले, त्यसैले त्यो निकृष्ट ठाउँलाई छाडेर म आफ्नै ठाउँमा फर्किएको छु’ उनले खुलासा गरे ।
एकीकृत समाजवादीमा पत्रकार मात्र होइन पार्टीका अन्य नेताहरूले पनि बोल्न नपाएको उनले बताए । नेकपा ९एस० मा निरङ्कुशता र आर्थिक अनियमितताले सीमा नाघेको सुवेदीले सुनाए । अघिल्लो दिन मन्त्री बनाएर पठाएको मानिसलाई भोलिपल्टबाट ४ करोड र ५ करोड माग्ने गरिएको डर लाग्दो तथ्य समेत सुवेदीले खोलेका छन्।
प्रेस सङ्गठनका ९० प्रतिशत पत्रकार प्रेस चौतारी नेपालको महाधिवेशन अगाडि नै आउने उनले जानकारी दिए । चौतारीले आगामी फागुन २५ देखि २७ गतेसम्म विराटनगरमा सङ्गठनको महाधिवेशन तय गरिसकेको छ ।
अध्यक्ष सुवेदीले आफू कुनै आश गरेर प्रेस चौतारी नेपालमा नआएको बताए । आफूले प्रेस चौतारी नेपाल छाड्दा भएको घाटालाई पूर्ति गर्नेगरी काम गर्ने सुवेदीले प्रतिबद्धता जनाए । सङ्गठन र पार्टीले जहाँ ठाउँ दिन्छ आफू त्यहीँ बसेर काम गर्ने उनले स्पष्ट पारे । बाहिर रहेका र आज भौतिक रुपले उपस्थित हुन नसकेकाहरुलाई देशव्यापी रुपमा चौतारीमा समाहित गराउने काम भालिदेखि सुरु हुने उनले बताए ।
प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले प्रेस चौतारीमा समाहित भएका समाजवादी प्रेस सङ्गठनका सबैलाई उचित जिम्मेवारी दिइने प्रतिबद्धता जनाए । सो अवसरमा एमाले केन्द्रीय सदस्य राजबहादुर बुढा, प्रेस चौतारी नेपालका पूर्व अध्यक्ष डा। बालकृष्ण चापागाइँ, प्रचार विभागका सदस्यहरु उजीर मगर, चेतन अधिकारी, चौतारीका पूर्व वरिष्ठ उपाध्यक्षद्वय दुर्गाप्रसाद शर्मा, माधव नेपाललगायतको सहभागिता थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।