भूमि समस्या समाधान आयोग सिन्धुलीको अध्यक्षमा कौशल कोइराला
सिन्धुली । सरकारले ७१ जिल्लामा भूमि आयोगका अध्यक्ष नियुक्त गरेको छ । भूमि समस्या समाधान आयोग सिन्धुलीको अध्यक्षमा कौशल कोइराला नियुक्त भएका छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मन्त्रिस्तरीय निर्णयले सिन्धुलीको अध्यक्षमा नेकपा एमालेका नेता कोइरालालाई नियुक्त गरेको हो ।
गठबन्धनमा रहेका कांग्रेस र एमालेले भागबन्डा गरेर आयोगमा जिल्ला अध्यक्ष र सदस्य नियुक्त गरेका हुन् । एमालेको भागमा परेको सिन्धुलीबाट एमाले बागमती प्रदेश कमिटी सदस्य समेत रहेका कौशल कोइराला अध्यक्षमा नियुक्त भएका हुन् । भूमि व्यवस्था तथा सहकारी मन्त्री बलराम अधिकारीले नवनियुक्त अध्यक्षहरूलाई सोमबार शपथ गराएका छन् । यस्तै सदस्यमा एमालेबाट देवराज वाईवा नियुक्त भएका छन् ।
नेपाली कांग्रेसको कोटामा अब थप दुई जना सदस्य नियुक्त हुनुहुने छन् । स्रोतका अनुसार कांग्रेसले सदस्यको नाम अहिलेसम्म मन्त्रालयमा बुझाउन सकेको छैन ।
सरकारले यसअघि एमाले नेता हरि रिजालको अध्यक्षतामा आयोग गठन गरेको थियो । हरेक जसो सरकारले आयोग मार्फत कामै सम्पन्न नगरे पनि कार्यकर्ता व्यवस्थापनको शैलीमा यसको उपयोग गर्दै आएको छ । जिल्ला अध्यक्षको तलब सुविधा सहसचिव सरह रहेको छ भने सदस्यले उपसचिव सरहको सेवा सुविधा प्राप्त गर्नेछ । आयोगको सदस्य सचिवको रूपमा जिल्ला समन्वय समितिका प्रमुख प्रशासकीय अधिकृतले काम गर्नेछ ।
सत्तारुढ नेकपा एमाले र नेपाली कांग्रेसले ३५-३५ जिल्ला र ७ जिल्लामा मधेश केन्द्रित दललाई भाग लगाइएको थियो । सहमतिमा जिल्लाको नेतृत्व मिलाउने भनिए पनि एमाले र कांग्रेसले पाएकै केही जिल्लामा आन्तरिक विवादका कारण टुंगो लाग्न सकेको छैन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।