कमिटी प्रणालीले गरेको निर्णय नमान्ने छुट पार्टी नेतृत्वलाई छैन – गौतम
सिन्धुली । नेकपा एमाले स्थायी कमिटी सदस्य राजेन्द्र गौतमले पार्टी भित्र संगठनात्मक अराजकता मुख्य चुनौती बनेको बताएका छन् ।
नेकपा एमाले सिन्धुलीको चौथो पूर्ण बैठकमा प्रमुख अतिथिका रूपमा निर्देशनात्मक मन्तव्य राख्दै उनले संगठनात्मक अराजकता नियन्त्रण नगरेसम्म मिसन ८४ सफल हुन नसक्ने बताए हुन् ।
उनले देशमा नयाँ खालको आर्थिक सङ्कट आएपछि नेपाली काङ्ग्रेससँग सत्ता सहकार्य गर्नु परेको सिन्धुलीका नेताहरूलाई प्रस्ट पारे । नेकपा एमाले प्रचार तथा प्रकाशन विभागका प्रमुख समेत रहेका गौतमले मुलुकलाई अस्थिरता र अराजकता फैलाएर स्वार्थ सिद्ध गर्न खोज्नेहरूलाई परास्त गर्न पनि नेपाली काङ्ग्रेससँग सत्ता सहकार्य जरुरी भएको औँल्याए ।
मुलुकको अर्थतन्त्र अझै पनि ट्र्याकमा आई नसकेको र अपेक्षित राजश्व नउठे पनि अर्थतन्त्र सुधारका सङ्केतहरू देखिन थालेको र निजी क्षेत्र उत्साहित बनेको बताए । नेता गौतमले नेकपा एमालेले राष्ट्रियता, अखण्डता र सार्वभौमिकताको मुद्दा उठाएको र नक्सा जारी गरेको स्मरण गर्दै उनले छिमेकी मुलुक चीनसँग विआरआई सम्झौता गरेर विकास र साझेदारी अगाडि बढाएको उल्लेख गरे । हाम्रो पार्टीले पटक पटक राष्ट्रिय शक्ति मात्र भएर होइन, राष्ट्रिय निर्णायक शक्ति बनाउनु पर्ने कुरा उठिरहेको बताए । पार्टी अनुशासन र पद्धतिका विषयमा कमिटीमा बलियो ढङ्गले उठाउन र अवसरहरूको न्यायोचित वितरण नहुँदा पार्टी भित्र समस्या सिर्जना भएको प्रस्ट पारे ।
उनले पार्टी बलियो भए मात्र त्यसको बलमा सफलता प्राप्त गर्न सकिन्छ भन्ने कुरा जिल्लाका कमरेडहरूले बुझ्न जरुरी रहेको औँल्याए । नेता गौतमले भने, ‘कमिटी गत प्रणालीले गरेको निर्णय नमान्ने अधिकार पार्टी नेतृत्व लाई नभएको र त्यसलाई नमान्ने जुन सुकै कमिटीमा बसेका नेताहरूलाई कारबाही हुन्छ, प्रेस चौतारीका साथीहरूलाई नआत्तिन आग्रह गर्छु ।’ विचारमा सतिसाल झैँ दृढ भएर उभिन आग्रह गर्दै आपसी अन्तर्विरोध कमिटीगत प्रणाली मार्फत हल गर्न सुझाव दिए ।
नेता गौतमले पार्टीलाई जरा देखिनै सुदृढ गर्न आवश्यक भएकाले तल्लो तहका आधारभूत वर्गसम्म पार्टी पुग्नु पर्ने प्रस्ट पारे ।
सो बैठकमा एमाले केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज मनोज जंग थापा, गणेश पहाडी, कमलजंग राई, सुवास देवकोटा, विषम लाल अधिकारी दनुवार, निरू दर्लामी र उमा कोराला सहभागी रहेका छन् ।
दुई दिनसम्म चल्ने जिल्ला कमिटी बैठकमा उपाध्यक्ष एवम् प्रचार विभाग प्रमुख कर्ण घिसिङले स्वागत गरेका थिए भने, अध्यक्ष महेन्द्र देव श्रेष्ठको अध्यक्षतामा बैठक जारी रहेको जिल्ला सचिव नवराज थिङले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए maishirnepal@gmail.com मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।