सरकारलाई सांसद श्रेष्ठको प्रश्नः जिबि राईलाई प्रचण्ड र रविले गिरफ्तार गर्न नदिएको हो?  

सिन्धुलीमाढी । बागमती प्रदेशका सांसद गंगानारायण श्रेष्ठले संकटग्रस्त सहकारीका सञ्चालकहरुको सम्पत्ति खोजबिन गरेर सहकारी पीडितहरुलाई न्याय दिनुपर्ने बताएका छन् ।

सांसद श्रेष्ठले संकटग्रस्त बनेका सहकारीका सञ्चालकहरूको सम्पत्ति खोजबिन गरेर जफत गरी सहकारी पीडितहरुलाई न्याय दिनुपर्ने बताएका हुन् । उनले सम्बन्धित सहकारीहरुको भौतिक सम्पत्तिहरुको समेत छानबिन गरी बचतकर्ताहरुको रकम फिर्ता गर्न सरकार सँग माग गरे । सिन्धुलीको कमलामाई नगरापलिका वडा नम्बर ५ स्थित संगम बचत तथा ऋण सहकारी संस्थाको १५ औं साधारण सभालाई सम्बोधन गर्दै उनले सहकारी देशको अर्थतन्त्रको एक खम्बा भए पनि सो खम्बा ठुला ब्यापारी र नेताहरूको कारण धराशायी बनेको बताए ।

 

उनले सहकारी संस्थाले कम्पनीमा लगानी गर्न नमिल्ने भएपनि सञ्चालकहरू स्वयंले नै विभिन्न नामका कम्पनी खोलेर संस्थाको बचत निजी व्यवसायमा लगानी गरेका कारण सहकारीहरू संकटग्रस्त बन्दै गइरहेको बताए । उनले सहकारीहरू संकटग्रस्त हुनुमा सञ्चालकहरूको मात्रै नभएर सदस्यहरूको पनि कमजोरी रहेको बताए । उनले संकटग्रस्त सहकारी संस्थाका अध्यक्ष, कार्यकारी प्रमुख तथा संचालकहरूले आफ्नो आफन्तका नाममा समेत ठूलो रकम  गैरकानुनी तरिकाले राखेको भन्दै सबैको छानविन गर्नुपर्ने बताए । सांसद श्रेष्ठले सञ्चालकहरुले सहकारीको रकमले घर–जग्गा कारोबार, शेयर कारोबार तथा हाइड्रोदेखि हवाईजहाजसम्ममा लगानी गरेको आरोप लगाए । कतिपय संस्थामा सञ्चालकले सस्तो ब्याजमा ऋण लिएर मिटर ब्याजमा समेत लगानी गरेका उनको भनाई छ ।

सांसद श्रेष्ठले सरकारले संकटग्रस्त सहकारी क्षेत्रलाई पुर्नजीवन दिएर आम नागरिकमा सहकारीप्रति आशा र भरोसा जगाउनुपर्नेमा जोड दिए । सहकारी क्षेत्रलाई समाजवादी अर्थतन्त्र निर्माणको मेरुदण्ड बनाउनुपर्ने उनको भनाई छ । उनले प्रचण्ड नेतृत्वको सरकार हुँदा कांग्रेसले जिबी राईलाई गिरफ्तार नगरेर सरकारले संरक्षण गरेको आरोल लगाएको भन्दै अहिले एमाले–कांग्रेस नै सरकारमा हुँदा किन गिरफ्तार नगरेको भनेर प्रश्न गरे । उनले ‘आज पनि जिबी राईलाई प्रचण्ड, रविले गिरफ्तार गर्न नदिएको हो ?’ भन्दै सरकारलाई प्रश्न गरे ।

उनले सरकारले सहकारी क्षेत्रलाई संविधानको मर्म अनुरूप प्राथमिकतामा राख्न नसकेको आरोप पनि लगाए । सांसद श्रेष्ठले सार्वजनिक, निजी र सहकारी क्षेत्रको समन्वय, अधिकार क्षेत्र र भूमिकाको बारेमा संसदबाटै मार्गदर्शन गर्नुपर्नेमा त्यस्तो गर्न नसकेको बताए ।


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए maishirnepal@gmail.com मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर