क्वाँटी किन खाइन्छ ?

क्वाँटी भन्ने वित्तिकै टुसा उम्रेका गेडागुडी भन्ने बुझिन्छ । आज जनै पूर्णिमा अर्थात रक्षा बन्धनका दिन नेपाली समाजमा क्वाँटी खाने प्रचलन छ । क्वाँटी जनै पूर्णिमाको बिशेषता हो । क्वाँटी शब्द नेपाल भाषाको ‘क्वाती’ शव्दबाट बनेको हो ।

नेपाल भाषामा ‘क्वा’ को अर्थ तातो र ‘ती’ को अर्थ झोल वा सुप भन्ने हुन्छ । क्वाँटी गेडागुडीको मिश्रण हो । क्वाँटी बनाउनु अगाडि गेडागुडिलाई टुसा उम्रिने गरि भिजाउनु पर्छ । क्वाँटीमा मास, भटमास, चना, मुगी, मस्याङ, ठुलो केराउ, ठुलो सिमि, सानो केराउ समावेश गरिन्छ । क्वाँटीमा शक्ति र श्वाद दुबै हुन्छ । क्वाँटीमा प्रशस्त मात्रामा प्रोटिन पाईन्छ । प्रोटिन मानव शरिरको लागि अति आवश्यक तत्व हो । यसले शरिरका कोसिकाको निर्माण र मर्मतमा महत्वपुर्ण भुमिका खेल्छ ।

रोगसंग लड्ने प्रतिरोधात्मक क्षमता बढाउनेलगायतका धेरै काम गरिरहेको हुन्छ । टुसा उम्रिएको क्वाँटीमा फाइबर पाइन्छ । फाइबरले पाचन प्रणाली, मुटुरोग, मधुमेह, क्यान्सर र तौल घटाउन मद्दत पुराउँछ । क्वाँटीमा पाइने फाइबरले कब्जियत, पाइल्स आदि समस्याहरु हुनबाट बचाउँछ । क्वाँटीलाई हाम्रो शरीरले सजिलै पचाउन सक्छ, त्यसैले अपाच्य हुने समस्या हुँदैन् ।

क्वाँटीबाट भिटामिन बी, सी, इ, क्याल्सियम, फोस्फोरसलगायतका खनिज पदार्थहरु हाम्रो शरीरले यथेस्ट मात्रामा पाइन्छ । भर्खरै अपरेसन गरेका तथा अन्य ठोस खाना खान नहुने विरामीहरुलाई क्वाँटीको झोल खुवाउन सकिन्छ जसमा आवश्यक पोषक तत्वहरु ठिक मात्रामा पाइन्छ । झाडापखाला लागेको बेला हाम्रो शरीरबाट पानी खेर जाने हुनाले त्यसको पूर्ति गर्नको निम्ती बालबालिकालाई क्वाँटीको झोल खुवाउन सकिन्छ । प्रोटिनको कमीबाट बालबालिकामा हुने कुपोषणमा क्वाँटी खुवाएमा त्यसबाट चाँडो रोग निको हुन मद्दत गर्छ ।

क्वाँटी खाँदा रक्तसंचार र स्नायू प्रणालीलाई पनि धेरै फाइदा पुग्ने चिकित्सक बताउँछन् । क्वाँटीको नियमित सेवनले स्मरणशक्ति पनि बढ्छ । मानसिक स्वास्थ्यमा सुधार ल्याउँछ । रोगी, बालबालिका तथा वृद्धमा हुने कुपोषण हटाउन सकिन्छ । टुसाएका गेडागुडीमा क्षारीय गुण बढी हुन्छ । त्यसैले क्वाँटी खानाले ‘एसिडिटी’ तथा मूत्रनलीमा संक्रमणजस्ता समस्याबाट पनि छुटकारा मिल्छ ।

गेडागुडीमा हुने सबै पौष्टिक तत्व शरिरले लिन सक्ने भएकाले सौन्दर्यमा पनि निखार ल्याउँछ । सस्तो र घरमै तयार गर्न सकिने हुनाले यसलाई अन्य खानेकुराको तुलनामा सन्तुलित आहारको रुपमा लिन सकिन्छ । यस्तो बहूउपयोगी क्वाँटी जनैपूर्णिमामा मात्र नभई अन्य बेलामा पनि खाने गर्नाले हाम्रो यो शरीरलाई चाहिने सन्तुलित भोजनको महत्वपूर्ण अंश बन्न सक्छ । त्यसैले क्वाँटी खान रक्षा बन्धन नै कुर्नु भन्दा समय समयमा क्वाँटी खाने गरे हाम्रो शरीरलाई धेरै फाइदा हुन्छ ।

नेपालमा परापूर्वकालदेखि नै जनैपूर्णिमाका दिन क्वाँटी खाने प्रचलन छ । जनै पुर्णिमाको दिन अधिकांसको घरमा गेडागुडीको परिकार क्वाँटी खाने चलन छ । हिन्दू धर्मावलम्बीहरुले देशभर जनैपूर्णिमा अर्थात् ऋषितपर्णी पर्व मनाउने गर्दछन् । तागाधारीहरुले ऋषिको सम्झना गर्दै जलाशय तथा धारामा गई माटो, गोबर, कुश, खरानी अपमार्गले स्नान गरी विशेष मन्त्रबाट मन्त्रिएको डोरो बांधी रक्षाबन्धन पनि गरिन्छ । आज बाधिएको डोरो गाइ तिहारका दिन गाइको पुच्छरमा बांधेमा मृत्युपछि बैतरणी पार भइन्छ भन्ने जनविश्वास रहेको छ ।

जनैपूर्णिमाका अवसरमा पाटनको कुम्भेश्वर, रसुवाको गोसाइकुण्ड, नुवाकोटको देवीघाट, म्याग्दीको नागीबाराही लगायत देशका विभिन्न मन्दिरहरुमा पनि जनैपूर्णिमाको अवसरमा मेला लाग्ने गर्दछ । विहान बाह्रमणले जपेको डोरो हातमा बाँध्ने, दिदिबहिनीले आफ्ना दाजुभाईलाई हातमा राखी बाध्ने र बेलुका नौ प्रकारका गेडागुडी मिश्रित क्वाटी खाने हिन्दु मान्यता छ ।

खासगरी नेवार समुदायमा क्वाटी खाने प्रचलन बढी छ । नेपाल कृषिप्रधान मूलुक भएकाले वर्षायाममा खेतीपातीको कामले थकित शरीरमा ऊर्जा ल्याउन र चिसो भगाउन क्वाटी खाने गरिएको हो । क्वाटी खाएर पर्व मनाउनुका साथसाथै यसै दिन रक्षा बन्धन पनि पर्ने भएकोले दिदी बहिनीहरुले आफ्ना दाजुभाईहरुलाई हातमा राखी बानेर हर्षोउल्साथका साथ यस दिन मनाउने गर्दछन् ।


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए maishirnepal@gmail.com मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर