कांग्रेस–एमालेको सरकार बनेपछि बहुवर्षीय योजना अधुरै रह्योः सांसद दाहाल

२ वैशाख, सिन्धुली । प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाल ‘राजन’ले सरकार परिवर्तनका कारण सिन्धुलीका विभिन्न सडकलाई बहुवर्षीय योजनामा लैजान नसकेको बताए ।
मङ्गलवार हरिहरपुरगढी गाउँपालिकाका ४ स्थित चाइचुट्टिमा मझिनी दमार–बखफर सडक शिलान्यास कार्यक्रममा दाहालले सो कुरा बताएका हुन् ।
नेकपा माओवादी केन्द्र नेतृत्वको सरकारले बजेट बनाए पनि कार्यान्वयन गर्ने बेला कांग्रेस–एमालेको सरकार बनेपछि स्रोत सहमति नदिँदा बहुवर्षीय ठेक्कामा लैजान नसकिएको उनले बताए।
‘विभिन्न खण्डमा बजेट विनियोजन गरेपछि यसैलाई बहुवर्षीय ठेक्कामा लैजाने उद्देश्य थियो । मझिनी दमार–बखफर सडक अन्तर्गतको २ नम्बर वडालाई एउटा, साहान भालुमारा खण्ड, साहानदेखि खयरसाल, मझिनीदमार–बढिमहन र बढीमहनबाट मझिनी दमार एउटा गरेर पाँच खण्डमा बजेट विनियोजन गरिएको थियो,’ उनले भने, ‘सुरुमा बजेट शीर्षक स्थापित गर्ने र असोजपछि ठेक्का लगाउँदा बहुवर्षीय बनाउनुपर्ने हुन्छ । बजेट हामीले निर्माण ग¥यौं, बजेट शीर्षक स्थापित ग¥यौं त्यसपछि हाम्रो सरकार ढल्यो । यो सरकार आइसकेपछि हामीले बहुवर्षीय ठेक्का लगाउन सकेनौँ ।’
माओवादीको सरकार ढलेकै कारण मझिनी दमार–बखफर सडक पनि एक करोडमा सीमित गरेर ठेक्का लगाउनुपरेको उनले बताए । ‘यसलाई पनि बहुवर्षीय ठेक्कामा लैजाने योजना थियो तर अर्थ मन्त्रालयले स्रोत सुनिश्चितता गरेन । स्रोत सहमति नदिएपछि एक करोडको ठेक्का लगाउनुपर्ने परिस्थिति बन्यो,’ सांसद दाहालको भनाइ छ ।
त्यस्तै दाहालले बागमती प्रदेश सांसद (छेत्र बहादुर बम्जन) कै कम्पनीले लिएको ठेक्का पाँच वर्षदेखि अलपत्र बनेको भन्दै आक्रोश व्यक्त गरेका थिए । ‘हाकपारामा पक्की पुल निर्माणको ठेक्का लगाएको पाँच वर्ष भयो । अहिलेसम्म बन्न सकेको छैन,’ उनले भने, ‘पटक–पटक काम सक्न दबाब दिइरहेको छु, काम नगरे ठेक्का तोड्न आयोजना प्रमुखलाई भनेको छु ।’
‘प्रदेशको मुख्यमन्त्री र प्रदेश सांसदको ठेक्का हो यो, पाँच वर्षदेखि अलपत्र छ । निर्माण कम्पनी खराब भएपछि कस्तो हुन्छ भन्ने परिणाम हामीले यहाँ देख्यौँ,’ उनले थपे, ‘जिम्मेवार नेतृत्वबाटै यस्तो काम भएपछि मुलुकमा कसरी सुशासन कायम हुन्छ ? ’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।
प्रतिक्रिया