ऐतिहासिक सिन्धुलीगढी युद्धका नायक वंशु गुरुङ सम्मानार्थ हुलाक टिकट जारी

सिन्धुली । सिन्धुलीगढीमा अंग्रेजलाई विश्वमा पहिलोपटक पराजित गर्ने सिकारी सरदार वंशु (वंश) गुरुङको तस्वीर अंकित हुलाक टिकट प्रकाशन भएको छ ।
हुलाक सेवा विभागले काठमाडौंमा आयोजित एक समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले टिकटमा टाँचा लगाए ।
बि.सं. १८२४ असोज १५ गते सिन्धुलीगढीमा अंग्रेजसँग भएको युद्धमा गोर्खाली फौजको तर्फबाट नेतृत्वदायी भूमिका निर्वाह गर्दै सिकारी सरदार वंशु (वंश) गुरुङ अंग्रेज फौज परास्त गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । विश्वमा पहिलोपटक पराजय भोगेको सिन्धुलीगढी युद्धका नायक सिकारी सरदार वंशु (वंश) गुरुङको योगदानको सम्मान गर्दै उनको तस्वीर अंकित १० रुपैयाँ दरको हुलाक टिकट प्रकाशन गरेको हो ।
लमजुङको कपुर गाउँ (को ने नासा) मा जन्मिएका सिकारी सरदार वंशु (वंश) गुरुङ बसाई सरेर तनहुँको शुक्लागण्डकी नगरपालिका १२ ढोर जस्पुर पुगेका थिए । उनी लेम (लाम्छाने) खलकका हुन् ।
हुलाक टिकटकमा टाँचा लगाउँदै मन्त्री गुरुङले सिकारी सरदार वंशु (वंश) गुरुङले नेपालको भूगोल बचाउन अतुलनीय योगदान गरेको चर्चा गर्दै राष्ट्रिय विभूति घोषणाका लागि योग्य व्यक्तित्व भएको बताए ।
सो अवसरमा मन्त्रालयका सचिव राधिका अर्याल, हुलाक सेवा विभागका महानिर्देशक मनमाया भट्टराई पंगेनी, सिकारी सरदार वंशु (वंश) गुरुङ स्मृति प्रतिष्ठानका अध्यक्ष लालजंग गुरुङ लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा प्रतिष्ठानका अध्यक्षलाई सरकारको तर्फबाट सम्मान समेत गरिएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।