गोलन्जोरमा पालिका स्तरीय लैंगिक हिंसा सम्बन्धी अन्तरक्रिया सम्पन्न

ग्वाल्टार । सिन्धुलीको गोलन्जोर गाउँपालिकामा पालिका स्तरीय लैंगिक हिंसा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
लैंगिक हिंसा र यसका दुष्प्रभावविरुद्ध जागरूकता अभिवृद्धि गर्न तथा सामुदायिक सहभागितामा आधारित समाधानका उपायहरू छलफल गर्ने उद्देश्यले अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो ।
सोमबार पालिकाको सभा हलमा भएको कार्यक्रममा सिन्धुली अस्पतालमा रहेको ओसी एम सी (एक द्वार संकट व्यवस्थापन केन्द्र) की सुनिता शर्मा र सुनौलो परिवार नेपाल, मेरी स्टोप इन्टरनेशनल सिन्धुलीका प्रमुख धन मगरले कार्यक्रम बारे प्रकाश पारेका थिए ।
कार्यक्रममा लैंगिक हिंसाका प्रकार, कारण, कानुनी परिणाम, पीडितलाई सहयोग गर्ने उपाय, तथा रोकथामका उपायहरूबारे प्रस्तुतीकरण र छलफल गरिएको थियो । साथै, स्थानीय स्तरमा यस विषयमा निगरानी र सहयोग प्रणाली कसरी सुदृढ गर्न भन्ने विषयमा समेत छलफल भएको थियो ।
लैंगिक हिंसा समाजको कलङ्क भएको बताउँदै पालिकाका अध्यक्ष शंकरराज बरालले यसलाई समाप्त गर्न सबैको सहकार्य र जागरूकता आवश्यक रहेको बताए । लैंगिक हिंसा समाजमा प्रशस्त भए पनि बाहिर नआएको उनको भनाई छ । उनले हिंसा न्यूनीकरणका लागी सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे । गाउँपालिकाले यस्ता कार्यक्रमहरू निरन्तरता दिने र पीडितहरूलाई कानुनी, मनोसामाजिक तथा आर्थिक सहयोग पु¥याउने बताएको छ ।
कार्यक्रममा सहभागीहरूले लैंगिक हिंसा विरुद्ध सामूहिक प्रयास बढाउने प्रतिबद्धता जनाएका थिए । कार्यक्रममा पालिकाका उपाध्यक्ष ज्वाला प्रसाद न्यौपाने, प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त चौधरी, वडाध्यक्षहरू, प्रहरी, महिला तथा बालबालिका शाखा, शिक्षा शाखा, स्वास्थ्य शाखाका प्रमुख एवम् प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।