चकमकेको ‘चन्द्रज्योतिमा कला,विज्ञान प्रदर्शनी’ विद्यार्थीको आकर्षण

सिन्धुली सदरमुकामको माझीटारबाट पूर्वतिर ३७ किलोमिटर यात्रा पूरा गरेपछि पुगिन्छ । तीनपाटन गाउँपालिकाको चकमके बजार । वरिपरि डाँडाकाँडा, सीमित स्रोतसाधन, गाउँघरमा हुने सामान्य आयआर्जन र त्यही आयआर्जनबाट आर्जित रकम खर्चेर दैनिक गर्जो धान्न अवस्थित एउटा बजार । सीमित स्रोतसाधनको धरातलमा बिचको बजार अनि वरिपरिका डाँडाकाँडामा भौँतारिएर जीवनको अस्तित्वको खोजीमा शिक्षा आर्जन गर्न हिँडेकाहरुको तिर्खा मेट्न विष्णु प्रसाद काफ्लेको नेतृत्वमा केही जागरुक युवा मिलेर भोलिको पुस्ताको उज्ज्वल भविष्य बनाउन ‘श्री चन्द्रज्योति इङ्लिस बोर्डिङ स्कुल’ खोलेका छन् ।
विद्यालयले अध्ययनरत विद्यार्थीलाई आजको युग सुहाउँदो शिक्षा प्रदान गर्ने प्रयत्न गरेको छ । देशव्यापी रूपमा देखा परेको शैक्षिक गुणस्तरको खडेरी थोरै भए पनि कम गर्ने प्रयत्न साथ यस विद्यालयले शिक्षाको व्यवहारिक पक्षलाई प्राथमिकतामा राखेको छ । दैनिक शिक्षण सिकाइमा एउटा समय खण्ड नै छुट्टाएर २ कक्षादेखि नै विद्यार्थीहरूलाई अनिवार्य कम्प्युटर तालिम, सबै कक्षाका लागि हरेक दिन नृत्य एवम् अङ्ग्रेजी तथा नेपाली भाषाको उच्च स्तरको अध्ययन तथा तालिम प्रदान गर्दै आएको छ ।
चन्द्रज्योति इङ्लिस बोर्डिङ स्कुलले मासिक, त्रैमासिक र वार्षिक रूपमा विभिन्न रोमाञ्चक प्रस्तुति तथा प्रदर्शनीहरूको आयोजन गर्दै आएको छ । यस्तै यही मिति २०८१ फागुन २८ गते आयोजना गरिएको एउटा भव्य प्रदर्शनी ‘विज्ञान तथा प्रविधि एवं कला प्रदर्शनी’ निकै रोमाञ्चक रहेको थियो । उक्त विद्यालयको कक्षा ६ सम्म मात्र अध्ययन गर्दै गरेका विद्यार्थीहरूले आफूले सिकेका ज्ञान र कला प्रयोग गरी बनाएका विभिन्न इलेक्ट्रोनिक सामाग्री तथा सुन्दर चित्रकला प्रदर्शनी गरिएको थियो ।
प्रदर्शनीमा विद्यार्थीहरूद्वारा प्रस्तुत अनेकन् प्रस्तुतिहरू मध्य ‘अर्थ क्विक डिटेक्टर’, ‘लाइफाई प्रविधि’, ‘वायरलेस इलेक्ट्रिसिटी टेस्टर’, ‘डिजिटल यान्सर बोर्ड’, ‘वायरलेस चार्जर’, ‘ग्याँस लाइटर’, ‘पटेटो ब्याट्री’, ‘भोल्क्यानो इरप्सन’, ‘एल. पी. जी. ग्याँस डिटेक्टर’, ‘क्ल्याप स्विच लाइट’, ‘अटोम्याटिक डस्टबिन’, ‘डोर बेल’, ‘हाइड्रोजन ग्याँस’, ‘सेन्सर ट्याप’, ‘ फाइभ सेन्स अर्गन डिस्प्ले’, ‘वर्किङ मोड्युल अफ किड्नी’, ‘वर्किङ मोड्युल अफ लङ्स’ लगायत अनौठा लाग्ने र अति उपयोगी साबित देखिन्थे । कक्षा ४ मा अध्ययनरत विद्यार्थीहरूले ‘अटोमेटिक डस्टिबिन’ बनाएका थिए । ड्स्विन फोहोर लिएर मान्छे अगाडि उभिएपछि आफैँ खुल्ने र फोहोर भित्र हालेपछि आफै बन्द हुने बनाइएको थियो । भने,५ कक्षामा विद्यार्थीहरूले ‘सेन्सर ट्याप’ थियो । यसमा ठिक धारा मुनि हात लगेर राखेपछि आफैँ पानी झर्ने र हात हटाएपछि आफैँ बन्द हुने गरी बनाइएको थियो । त्यसै गरी कक्षा ६ मा अध्ययनरत विद्यार्थीहरूले हतको एक पटक ताली बजाउँदा बत्ती बल्ने र फेरी अर्को पटक ताली बजाउँदा बत्ती निभ्ने ‘क्ल्याप स्विच लाइट’ बनाएर प्रदर्शनीमा राखिएको थियो ।
प्रदर्शनीमा राखिएका सबै प्रस्तुतिहरू असाध्यै रोमाञ्चक एवम् ज्ञान वर्द्धक थिए । प्रदर्शनी अवलोकनमा आएका अधिकांश अभिभावकहरूले “हाम्रा बच्चा रुदिलो टिपेर चुङ्गी खेल्ने बानीबाट हटेर अब नयाँ नयाँ सामाग्रीको माग गर्ने र बनाउन सिक्ने अनि बनाउने भएका छन् । यो धेरै ठुलो उपलब्धि हो ।” ।
त्यस्तै प्रदर्शनीको अवलोकनको लागि विद्यालयमा आइपुगेका तीनपाटन गाउँपालिका अध्यक्ष कर्णबहादुर थापा मगरले चन्द्रज्योति इङ्लिस बोर्डिङ स्कुलले शैक्षिक यात्रामा थप उत्साह थपेको बताए । उनले भने, “हामी हाम्रो स्थानीय तहसँगै देशव्यापी रूपमा रहेका सबै विद्यालयहरूको शिक्षा एवम् शैक्षणिक विधिमा र प्रक्रियामा क्रान्ति र परिवर्तन आवश्यक छ भनेर लागि रहेका थियौँ । यस विद्यालयले उत्साह र उदाहरण प्रस्तुत गरेको छ । आगामी दिनहरूमा गाउँपालिकाको पूर्ण साथ सहयोग रहने छ ।” समाज, राजनीतिक नेतृत्व र विभिन्न स्तरमा रहेका सबै बुद्धिजीवीहरूले पनि होस्टेमा हैँसे गरेर अगाडि बढे मात्र व्यापक रूपमा आजसँगै भोलिको पुस्ताको पनि भविष्य उज्ज्वल हुने गरी शैक्षिक सफलता पाउन सम्भव हुने उनले विचार व्यक्त गरेका थिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।