सिन्धुलीमा माझी समुदायले मनाए लदी पर्व

सिन्धुलीमाढी। सिन्धुलीमा माझी समुदायले लदी पर्व मनाएका छन् । मङ्गलवार सिन्धुलीको मरिणखोला, कमला र सुनकोशीमा माझी समुदायले महान् पर्व लदी (कोशी पूजा) हर्षोल्लासका साथ मनाएका छन् ।

माझी समुदायले हरेक वर्ष फाल्गुन महिनाको तेस्रो मङ्गलवार लदि पर्व मनाउने गरेको छ । यस समुदायले खोला तथा नदीलाई भगवानको स्वरूप मान्ने गरेका छन् । यस समुदायको भाषामा नदीलाई (लदी) भन्ने प्रचलन रहेको छ । समुदायले चलिआएको परम्पराअनुसार बिहान सबेरै उठेर नित्यकर्म सकेपश्चात् मरिणखोला,  कमला, र सुनकोशी नदिको विभिन्न स्थानमा सामूहिक पूजा गरी लदी पर्व मनाएका हुन् ।

समुदायले परम्परा अनुसार विधिवत् पूजा गरेर, जनावरको बली चढाएर, माझी समुदायको मौलिक नृत्य देखाएर, खोलामा बल्छी थापी माछा मारेर आजको विशेष दिन मनाएको छन् ।

लदी पर्वको अवसर पारेर मरिण गाउँपालिकाले दुई दिन र सुनकोशी गाउँपालिकाले मङ्गलवार सार्वजनिक बिदासमेत दिएको छ । नेपाल सरकारले सूचीकृत गरेको ५९ आदिवासी जनजातिमध्ये माझी जाति पनि एक हो ।

नेपाल माझी उत्थान संघको केन्द्रीय महासचिव बविन्द्रलाल माझीले नेपालको प्रत्येक जिल्लामा मात्र नभई देश विदेशमा आजको विशेष दिनमा माझी समुदायले यस पर्व मनाएको जानकारी दिए ।

लदी पूजाको अघिल्लो दिन माझी समुदायबाट नै पुजारीको व्यवस्था गरिन्छ । उनीहरूले घाम अस्ताएपछि केही पनि खान पाउँदैनन् जसलाई उपासे बस्नु भनिन्छ ।

लदी पूजा गर्न गाईको गोबर, ठुलो धँगेरीको सात वटा रुख, टोटलाको फुल (अण्डा), डुंगा, जाल, एक लोटा जाँड, अक्षता, आठ रेखी, अबिर, सात कोठा, भेटी लगायतका सामग्री चाहिन्छ । पूजामा विभिन्न जीवजन्तुहरूको बलि पनि दिइन्छ । समुदायले आफ्नो–आफ्नो परिवार वा अन्य कुनै प्रायोजनका लागि केही कुरामा भाकल गर्ने र भाकल फुकाउन जिउँदो जनावरको बली दिनुपर्ने उनीहरूको चलन रहेको छ । भाकलमा बलि दिइएका जीवजन्तुको मासु पकाएर एक ठाउँमा भेला भई प्रसाद स्वरूप ग्रहण गर्ने यस जातिको चलन रहेको छ ।

खोला किनारका सबै काम सकिसकेपश्चात् घाटबाट गीत गाउँदै पुजारीको घरसम्म लावालस्कर लागेर जान्छन् । खोला किनाराबाट आएकाहरूलाई सुनपानीले छर्केपछि मात्र शुद्ध हुने माझी समुदायको विश्वास छ ।

पछिल्लो जनगणना अनुसार नेपालमा माझी समुदायको जनसङ्ख्या १ लाख ११ हजार ३ सय ५२ रहेको छ । देशका ७७ जिल्लामध्ये ६३ जिल्लामा यस समुदायको बसोबास रहेको छ । सिन्धुलीमा मात्रै १० हजार ८ सय ७३ सङ्ख्यामा माझी समुदायको बसोबास रहेको छ ।

खोलामा माछा मारेर र डुङ्गा चलाएर जीविकोपार्जन गर्ने परम्परागत पेसा भएको यस समुदाय आजभोलि कृषिमा आत्मनिर्भर बन्दै गएको छ ।

 


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर