माओवादीका कारण हाम्रो परिवार मात्रै टुटेन, सपना पनि टुट्यो !
मेरो बुबालाई माओवादीले हत्या गरेको ६ वर्षपछि थाहा भयो, लास देख्न पाइएन

हाम्रो मध्यम वर्गीय परिवार हो। मेरो बुबा रामेछाप गौरीशङ्कर उच्च माध्यमिक विद्यालयमा अध्ययन गर्नुभएको हो। त्यो विद्यालय त्यस क्षेत्रमा नाम चलेको विद्यालय हो। उहाँ २०३२ सालमा नेपाल विद्यार्थी संघको प्रमुख नेतामध्ये एक हुनुहुन्थ्यो। उहाँमा सानै बेलादेखि प्रजातन्त्र प्रति गहिरो निष्ठा थियो । त्यस समय बुबाले अध्ययन गर्ने विद्यालयको प्रधानाध्यापक चाहिँ कम्युनिस्ट नेता गोरे बहादुर खपांगी थिए।
हाम्रो बुबालाई त्यति बेला प्रधानाध्यापक गोरे बहादुर खपांगीले एस.एलसी.को नतिजा आइसकेपछि फेला भएको मार्क सिट थमाएर पठाए । किनकि उनले नेविसंघंका नेता कार्यकर्तालाई देखिसहँदैन थिए। पछि गौरीशङ्करले आफ्नो स्मारिका प्रकाशित गर्दा उहाँ पास भएको नतिजा आयो। तर त्यो रिजल्ट कहिले थाहा भयो भने २०५८ सालमा। ३२ सालको घटना ५८ सालमा थाहा भयो । यो घटनाले उहाँलाई अत्यन्त विक्षिप्त बनायो। उहाँ पढाइमा अब्बल हुनुहुन्थ्यो। क्लासको प्रथम व्यक्ति, जसलाई एस.एलसी.मा फेल भएको रिजल्ट थमाई दिए। त्यसपछि उहाँले आफ्नो पढाइलाई त्यही छोड्दिनु भयो।
त्यतिखेर २०३२ सालमा नेविसंघको अध्यक्ष हुँदै गर्दा उहाँहरूले खपाङ्गीको ज्यादतीका विरुद्ध आन्दोलन चाहिँ गर्नुभएको रहेछ। त्यस बेला प्रधानाध्यापक खपाङ्गीले केही समय स्कुलबाट ‘रेष्टिकेट’ पनि गरिएछ, तर दबाबका कारण उनले त्यसलाई फिर्ता लिन बाध्य भए। त्यस पछि खपाङ्गीले बुबालाई अर्को के दुःख दिऊ भन्दा एस.एलसी. को नतिजामा त्यसरी धाँधली गरेछन्। सबैको प्रिण्टेट सर्टिफिकेट छ, तर मेरो बुबालाई चाहिँ हातले लेखेको सर्टिफिकेट बनाएर दिए। यसले उहाँमा पढाई प्रति ‘फ्रस्टेसन’ आयो, र त्यस भन्दा माथि उहाँले पढ्नु भएन। त्यसपछि घर गृहस्थी र व्यवहारले पनि छोप्यो, घरको जेठो छोरा पनि।
२०३२ सालमा बिहे गर्नु भयो । मेरो आमा चाहिँ २०४९ सालको जलस्रोत राज्य मन्त्री लक्ष्मण घिमिरेको बहिनी हुनुहुन्छ, उर्मिला कोइराला । पञ्चायत कालमा पनि उहाँ भूमिगत भएर प्रजातन्त्रका लागि भूमिका खेल्नु भयो। प्रथम पटक गिरिजा प्रसाद कोइराला सिन्धुली भ्रमणमा जाँदा जिल्ला कार्य समिति बन्न नसक्दा, पहिलो पटक जिल्ला कार्यसमिति बनाउन आह्वान गर्दा सबैभन्दा पहिले म सदस्य बन्छु भनेर आट गर्ने मेरो बुवा हुनुहुन्थ्यो। उहाँमा उच्च प्रजातान्त्रिक चेत थियो, प्रजातन्त्रका लागि सङ्घर्ष गरेकै व्यक्ति हो । त्यति बेला गिरिजा प्रसाद कोइराला र सुशील कोइरालाले निक्कै प्रशंसा समेत गर्नुभयो।
२०६० सालको समय देशमा चरम द्वन्द्वको समय थियो। त्यस समय कांग्रेसका गाउँ स्तरका नेताहरू पनि गाउँमा बस्न डराउँथे। त्यसमाथि सिन्धुली अलि आक्रान्त भएको ठाउँ नै हो। साथै प्रशासनको ठाउँभन्दा अलि बाहिर हाम्रो घर भएको कारण त्यस क्षेत्रमा गाउँ स्तरका नेता, कार्यकर्ताहरू पनि बस्न डराउँथे । तर मेरो बुबा त्यस समय जिल्ला महासमिति सदस्य हुनुहुन्थ्यो । २०४८ सालको निर्वाचनमा पनि टिकटका लागि प्रबल दाबेदार नै हुनुहुन्थ्यो।
त्यस बेला माओवादी कै केही मान्छेहरू फरक विचार भए पनि केही सिक्न पाइन्छ, भनेर हाम्रो बुबाकहाँ कुरा गर्न आउने गर्दा थिए । एउटा बौद्धिक व्यक्तिका रूपमा उहाँलाई चित्रण गर्थे । त्यस बेला माओवादीको नीति चाहिँ कोही पनि काँग्रेस एमालेका नेताहरू गाउँमा नबसुन् भन्ने थियो । त्यसैले उहाँ एक जना व्यक्तिलाई सपाए गर्न पायौ भने एकछत्र राज हुन्छ भन्ने उद्देश्य पनि रहेछ ।
त्यस बेला एक जना माओवादीलाई सेनाद्वारा गोली हानी हत्या गरी रहेको थियो । जो व्यक्तिलाई प्रहरीले पहिले घरैबाट पक्राउ गरेर ४ महिना हिरासतमा राख्दा मेरै बुबाले आफै जमानी बसेर मुक्त गराउनु भएको थियो । पछि उनी पुनः माओवादीमा लागेर भूमिगत भएका रहेछन् । दसैँमा घर आएका बेला सेनाले अलि पर रामेछाप तिर लगेर मारेको थियो । माओवादीलाई के निहुँ पाउँ भइरहेको थियो, यही घटनाको सुराकी गरेको आरोप लगाई दिए । जबकि पहिले त्यही व्यक्तिलाई प्रहरीले पक्राउ गरेर हिरासतमा राख्दा मेरै बुबाले छुटाउनु भएको थियो, त्यो गुण पनि बिर्सिए । पारिवारिक रूपले पनि ती मरिएका व्यक्ती हाम्रो परिवारसँग अत्यन्त नजिक थिए । हाम्रो बुबाले सुराकी गर्ने भन्ने छदै थिएन ।

मेरो बुबालाई माओवादीहरूले घरबाट लैजाँदा ३ जना व्यक्ति आएका थिए । त्यस बेला म पनि घरमै थिएँ । जसले हाम्रो बुबालाई घरबाट लिएर गएका थिए, उनीहरू हाम्रो घरमा आउने, जाने, खाने र बस्ने गर्थे । हाम्रो घरमा चाहे माओवादी आओस्, चाहे काँग्रेस आओस् कसैलाई रोकावट थिएन । हाम्रो घरमा आऊ जाऊ हुन्थ्यो । ती तीन मध्ये अहिले एक जना गाउँपालिका वडाध्यक्ष भएका छन् । एक एमालेमा प्रवेश गरेका छन् । भने अर्को एक माओवादी युद्धमा नै शाही नेपाली सेनाको कारबाहीमा मारिए ।
त्यति बेला बुबालाई भेट्न आएका माओवादीहरूले दाइसँग केही गोप्य गफ गर्नु छ भनेर गोठ पछि लिएर गए । पहिले पनि आइरहने केटाहरू के त्यस्तो गोप्य होला ? भनेर जानुभयो । बुवा उनीहरूसँग गएको ५/ १० मिनेटसम्म नफर्किए पछि हामीले शंका गर्यौँ, यिनीहरूले कतै लिएर गएकी भनेर हेर्यौं । त्यति बेला हरेक दिन रेडियोमा समाचारहरू सुन्दा अपहरण गरेको, हत्या गरेको घटनाहरू घटिरहन्थे । वास्तवमा यिनीहरू राजनीतिक प्राणी त थिएनन् ।
हामी त्यहाँ १०/१२ जना थियौ । म त्यति बेला १७ बर्सको थिएँ । बुबाको उमेर ४६ वर्षको थियो । हाम्रो परिवारमा २ दाजुभाइ र १ जना दिदी हुनुहुन्छ । जेठो दाजु, दिदी र म । घटना हुँदा दाजु ब्याच लर लेबलमा पढ्नुहुन्थ्यो, म र दिदी इन्टर लेबलमा पढिरहेका थियौँ ।
उनीहरूले सिधा बाटोबाट नहिँडाएर कुलोको बाटो लगेनछ, पछि हामीले थाहा पायौँ यो कुरा । मान्छे हिँडिरहने बाटोबाट लागेको भए हामीले भेट्थ्यौ। सबैले खोजी गरेका थियौँ। नभेटेपछि सबै गाउँलेलाई खबर गर्यौँ । ५०/६० जना जम्मा भएर खोज्यौ । तर, उनीहरूले अन्त्यै टाढा पुर्याइसकेका थिए । उनीहरूले त्यस दिन राति एउटा घरमा लगेर राखेका रहेछन्।
उनीहरूले बुवालाई २६ गते हाम्रो घरबाट अपहरण गरी लगेर २७ गते हत्या गरेनछ । भोलिपल्ट दिउँसोको समयमा निर्घात कुटपिट गरी अन्त्यमा गोली हानी मारे छन् । त्यसपछि शव पनि कता फ्यालिदिए वा गाड्दिए हामीले थाहै पाएनौँ, पछि कुशको शव बनाएर हामीले पशुपतिमा बुवाको दाहसंस्कार गर्यौ, त्यो पनि ६ बर्स पछि …
घरबाट अपहरण गरेर लगेपछि हामीलाई गुहराममै राखे । कहिले कता राखेको छ भन्थे, कहिले कुन श्रम शिविरमा राखेको छ भन्थे, कहिले कता हिडाईराखेको छ भन्थे । यसरी हामीलाई अलमल्याई रहन्थे, तर उनीहरूले लागेकै भोलिपल्ट नै बुवाको हत्या गरिसकेका रहेछन् । हामीले धेरै खोजी गर्यौँ । उनीहरूले घटना घटेको १२/१३ दिनपछि केही व्यक्तिको हत्या गरेको भने तर, फेरी त्यही माओवादीका कार्यकर्ताहरूले, हत्या गरेको हैन, तपाईँहरूलाई आतङ्कित पार्न मात्र यसो भनेको हो, उहाँलाई हामीले श्रम शिविरमा राखेका छौ भनेर जानकारी दिए । यसले हामीलाई अलमल गरायो । अन्तर्राष्ट्रिय रेडक्रस संस्थाले धेरै खोजी गर्यो । इन्सेक, मानव अधिकार संघठन सबैले खोजविनै गर्दा पनि उनीहरूले जवाफ फर्काएनन् ।
माओवादी शान्ति प्रक्रियामा आयो, उनीहरूको पार्टी कार्यालय बुद्ध नगरमा थियो । माओवादीको त्यो कार्यालयमा ४ घण्टा कुरेर हामीले प्रचण्डको स्वकीय सचिवलाई निवेदन दिएका थियौँ । त्यस पत्रको बोधार्थ सिपी गजुरेललाई पनि दियौँ । २०६४ सालको निर्वाचन भन्दा एक/डेढ महिना अगाडी । त्यसको जवाफ उनीहरूले हामीलाई सिधै नदिएर २०६५ सालमा जिल्ला प्रशासन कार्यालय सिन्धुलीलाई जानकारी गराए । हाम्रा साथीहरूले २६ गते लगेर २७ गते हत्या गरिसकेको रहेछन् भनेर यता माओवादी हेड क्वाटरबाट सिन्धुली जिल्ला प्रशासन कार्यालयलाई जानकारी गरे छन् । अनि जिल्ला प्रशासन कार्यालयबाट हामीलाई खबर आयो । यसरी आधिकारिक जानकारी पाएपछि हामीले बुबाको काज किरिया गर्यौ ।
तिनै माओवादी भित्रबाट यसो नगरौँ भन्दा भन्दै उहाँलाई कुटेर हत्या गरियो भन्ने थाहा पायौँ । बुबाले मैले सुराकी गरेको होइन, म यो आरोप स्विकार्न तयार हैन बरु ज्यान दिन तयार छु भन्नु भयो रे! उनीहरूले कुट्दा कुट्दै उहाँ बेहोस हुनुभयो रे । त्यसपछि गोली ठोकेर मारिदिए, भन्ने कुरा आयो । त्यसरी हत्या गरिसकेपछि बुबाको लास महाभारतको जङ्गलमा फालिदिए रे । केही समय कसैलाई त्यस जङ्गलमा जान पनि दिइएन, त्यो लास कुहिएर गयो होला ?
हामी काजक्रियामा बसिसकेपछि माओवादी भित्रकै मान्छेहरूले बुबालाई अपहरण गरेपछि के कस्ता यातनाहरू दिइयो, कसरी मारियो भन्ने बारेमा बताए । शान्ति प्रक्रियामा आइसकेपछि पनि उहाँको बारेमा जानकारी पाउन नसक्दा उनीहरूले हत्या गरिसके छन् भन्ने शंका त लागिसकेको थियो । तर औपचारिक र आधिकारिक खबर पाएका थिएनौँ ।
तत्कालीन माओवादी नेता सिपी गजुरेलले हाम्रो ममीलाई पढाएका थिए । सिपी गजुरेल हेडमास्टर हुँदा मेरो ममी ९ कक्षामा पढ्नुहुन्थ्यो ।, सिन्धुलीको कमला हाई स्कुलमा । बिहेभन्दा पहिला सिपी गजुरेलले हाम्रो आमालाई पढाएको हुनाले उनलाई अलि बढी फलो गर्यो । त्यस कारण पनि पछि बाध्य भएर उनले २०६४ को निर्वाचन ताका हाम्रो साथीहरूले केही गल्ती गरिसकेका छन्, म माफी माग्छु भनेर सार्वजनिक मञ्चबाट भनेछन्, हाम्रो गाउँभन्दा पल्लो गाउँमा भाषण गर्दा । उनले हत्या भन्ने शब्द प्रयोग नगरी गल्ती भन्ने शब्द प्रयोग गरे । म त्यसमा क्षमाप्राथी छु, यो नहुनु पर्थ्यो भयो भनेर भनेका थिए । उनलाई भोट पनि माग्नु थियो । मान्छेहरू अत्यन्त रुष्ट थिए ।
हाम्रो बुबाले कसैलाई बिझाउनु भएको थिएन । सबैले मान सम्मान गरेको व्यक्ति भएकै कारणले पनि त्यहाँका मानिसले अलि बढी माया गर्थे । अर्को कुरा हाम्रो हजुरबुवा ज्योतिष भनेर कहलिनु भएको थियो।बुवालाई घरबाट लिएर गएपछि हामीले काँग्रेस पार्टीलाई जानकारी चाहिँ गरायौँ । काँग्रेसको सिन्धुली जिल्ला पार्टी कार्यालय र केन्द्रीय पार्टी कार्यालयलाई खबर गर्यौ । केन्द्रीय कार्यालयबाट त्यति बेला विज्ञप्ति जारी भयो, रेडियो टेलिभिजन सबैतिर समाचार आयो । ५/७ जना काँग्रेसका नेताहरूले हाम्रो साथीलाई माओवादीले अपहरण गरी लग्यो, सकुशल फिर्ता होस् भनेर अनुरोध गरे ।
बुवालाई अपहरण भएपछि हामी प्रहरी कार्यालय जान पनि सकेनौ । गाउँबाट विस्थापित भएर काठमाडौँ आएर बस्न बाध्य भयौ । छरछिमेक र नातागोताले हाम्रो जग्गाजमिनमा जे जस्तो खेती गरेर उब्जनी पटाउँथे, त्यो खाएर बस्यौँ । ऋण गरेर गुजारा गर्यौँ ।
पछि माधव नेपालको सरकार गठन भएपछि माओवादीद्वारा हत्या गरिएका केही व्यक्तिहरूलाई सहिद घोषणा गरियो । हाम्रो बुबाको नाम पनि पर्यो । त्यसपछि शान्ति तथा पुनः निर्माण मन्त्रालयबाट विभिन्न चरण गरेर १० लाख रुपैयाँ राज्यबाट सहयोग भयो ।
हामी तिन जना छोरा छोरीलाई राम्रैसँग पढाउने लक्ष्य बुबाले राख्नुभएको थियो। हामीले पढ्दै पनि गएका थियौ । दाजुले कमर्स पढ्नु भयो, दिदीले आर्ट्स पढ्नु भयो, मैले साइन्स पढेँ । बुवाको लक्ष्य चाहिँ कान्छो छोरालाई इन्जिनियर बनाउँछु, जेठो बैंकर बन्छ, उसको सुरु देखिकै रहर बैङ्कमा जाने थियो । छोरीको मास्टर बन्ने रहर छ म बनाउँछु भन्ने थियो । तर, त्यस घटनाले पढाइमा नराम्रोसँग अवरोध गर्यो। मलाई पढ्न गाह्रो भयो। किनकि हरेक दिन पीडाले भतभत पोलिरहन्थ्यो । हाम्रो घरको मौरीको रानो नै हराएको जस्तो भयो । बुबालाई अपहरण गरेपछि हामी २०६४ सालसम्म घर नै फर्कन सकेनौँ । माओवादीका कारण हाम्रो परिवार मात्रै टुटेन सपना पनि टुट्यो ।
(माओवादीद्वारा हत्या गरिएका सहिद वशिष्ठ कोइरालाका छोरा अन्जनी कोइरालासँग गरिएको कुराकानीको सम्पादित अंश)
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।