कर्मचारी भागवण्डाले बिच्किए हाकिम
११ माघ, सिन्धुली । दुधौली नगरपालिकामा अझै पनि बेथितिका चाङ हटेका छैनन् । सञ्चार माध्यम र नागरिकको पटक–पटकको खबरदारीका बाबजुद पनि यहाँका विकृति कम हुन सकेको छैन । धेरै विकृति मध्येको एक हो बिना प्रतिस्पर्धा कर्मचारी नियुक्ति । कागजी प्रक्रियाका लागि सूचना जारी गरी आवेदन माग्ने तर आवेदन आएकालाई विभिन्न बहानामा परीक्षामा सामेल नै नगराई दुधौली नगरपालिकाका नगर प्रमुख तथा उपप्रमुखले विभिन्न बहानामा आफ्ना आफन्तलाई जागिर खुवाउने गरेका छन् ।
यस अघि नगरपालिकाले २०८० मंसिर २० मा नगर प्रहरी जवान भर्नाको लागि सूचना प्रकाशित भएको थियो । तर, शारीरिक परीक्षण सकिए पनि लिखित परीक्षामा मेयर, उपमेयर आफूले भर्ना गर्न चाहेको व्यक्ति अनुत्तीर्ण हुने देखिएपछि परीक्षा नै स्थगित गराएका थिए । २०८० पुस १७ मा स्थगित गरिएको उक्त परीक्षा हालसम्म हुन सकेको छैन । त्यस्तै २०७९ भदौ ३१ गते सहायक कम्प्युटर अपरेटरको विज्ञापन खुलाएको थियो । विज्ञापन मार्फत आएका आवेदन अनुसार छनौट प्रक्रिया अघि बढाएको नगरपालिकाले यसमा पनि आफ्ना आफन्त कमजोर देखिएपछि विभिन्न बहानामा परीक्षा नै रद्द गराएका थिए । कम्प्युटर अपरेटरको निष्पक्ष परीक्षा गर्दा प्रमुख प्रशासकीय अधिकृत नै दुधौली नगरपालिका छाडेर जानुपर्यो। उनी हाल मन्त्रालयमा नै हाजिर गरेर बसेका छन्।
मेयर दिनेश अधिकारीले कर्मचारी भर्नामा कम नम्बर आएका आफ्ना र आफन्तलाई जवरजस्ति भर्ना गर्न बारम्बार दबाब/ धम्की दिएपछि, प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद सुवेदी कार्यालय छाडेर हिँडेका छन् । सिफारिस गरेका कर्मचारी भर्ना नगरेको भन्दै मेयर अधिकारीले “मेरो अगाडी यो अनुहार नदेखाउनु ” भनेर प्रशासकीय अधिकृत सुवेदीलाई धम्की दिएको नाम नखुलाउने सर्तमा एक कर्मचारीले बताए । उक्त मेयरको धम्की पछि सुवेदी कार्यालय नै छाडेर मन्त्रालयमा पुगेर हाजिरी गरेर बसेका छन् ।उनी विगत २ महिना देखि मन्त्रालयमा नै रहेका छन् । यता दुधौली नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृत नहुँदा सामाजिक सुरक्षा भत्ता, कर्मचारीहरुको तलब नै रोकिएको छ।
यो सँगै सिन्धुलीको दुधौली नगरपालिकाले पटक–पटक बिना प्रतिस्पर्धा कर्मचारी नियुक्ति गर्दै आएको प्रष्ट देखिन्छ । दुधौली नगरपालिकामा आफ्ना आफन्तलाई जागिर खुवाउने होड नै चल्दछ । त्यो होडको कारण दुधौली नगरपालिका आफन्त भर्ती केन्द्रको रूपमा विकास हुँदै गइरहेको छ ।
पछिल्लो समय पनि त्यही नियति दोहोरिएको छ । दुधौली नगरपालिकाका मेयर दिनेश अधिकारी (दनुवार) र उपमेयर चन्द्र किशोर थारुले केही समय अघि पटक–पटक गरी प्रक्रिया नपुर्याई विभिन्न कर्मचारी राख्दै आएको छन् । आवश्यक नभएका पद सृजना गरी आफ्ना आफन्तलाई जागिर खुवाइँदै आएको छ । जसका कारण नगरपालिकामा काम गर्नेको भन्दा जागिर खानेको सङ्ख्या बढ्दै गएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।