गोलन्जोर गाउँपालिका – ४ तीनकन्याको वडा कार्यालय भवन शिलान्यास
१० माघ, सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका – ४ नम्बर वडा कार्यालयको प्रशासनिक भवनको शिलान्यास गरिएको छ । लागत अनुमान ४७ लाख रहेको भवनको केवलेश्वर कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालि रामेछापले भ्याट सहित ३३ लाख १ हजार २ सय ९७ रुपैयाँ ३७ पैसामा २०८१ जेठ मसान्त सम्ममा निर्माण कार्य सम्पन्न गर्ने गरी ठेक्का लिएको छ ।
मंगलबार गाउँपालिकाको वडा नम्बर ४ स्थित माझकुविण्डेमा निर्माण हुन लागेको कार्यालय भवनको गाउँपालिका अध्यक्ष शंकर राज बराल, उपाध्यक्ष ज्वाला प्रसाद न्यौपाने र वडाध्यक्ष भक्तबहादुर भुजेलले संयुक्त रूपमा भवनको शिलान्यास गरेका हुन् ।
प्रशासनिक भवनको शिलान्यास गर्दै गाउँपालिका अध्यक्ष शंकर राज बरालले भवन निर्माणका लागि विशेष प्राथमिकतामा राखी गाउँपालिकाले बजेट विनियोजन गरेको बताए । सङ्घीयताको अवधारणा आउनु अघि गाउँ विकास समिति हुँदा देखि अघिल्लो कार्यकालमा पनि हुन सकेको थिएन । विद्यालयको एउटा कोठाबाट कार्यालय सञ्चालन भइरहेको थियो । आफ्नै भवन नहुँदा वडा कार्यालयको सेवा प्रवाहमा अत्यन्त कठिनाइ भएको थियो । आफ्नो कार्यकालमा कार्यालय भवन सम्भव भएको उनले भने ।
बरालले अबको केही महिनाबाटै वडा कार्यालयको सेवा प्रवाह सहज हुने बताउँदै भवन निर्माणका लागि आफूले गरी खाने जग्गा दान गर्ने गोलन्जोर गाउँपालिका-४ माझकुविण्डेका खोर्सानी तामाङलाई धन्यवाद समेत दिए ।
यस्तै गाउँपालिका भवन निर्माण गर्न जिम्मेवारी पाएको केवलेश्वर कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालि लाई तोकिएको समय सीमा भित्रै कार्य सम्पन्न गर्न अनुरोध गरे । बरालले भवन निर्माणका क्रममा कुनै समस्या आएमा गाउँपालिकाका प्राविधिकसँग समन्वय गरेर काम गर्न निर्माण कम्पनीलाई आग्रह समेत गरे ।
भवन शिलान्यास कार्यक्रममा गाउँपालिकाका प्रवक्ता एवं वडा नं ७ का वडाध्यक्ष रेगनराज थापा, ३ का अध्यक्ष केपी पोख्रेल, वडामा क्रियाशील राजनैतिक दलका प्रतिनिधिहरू तथा वडावासीहरूको उल्लेखनीय सहभागिता रहेका थियो ।
गाउँपालिकाकाले वडा कार्यालयको प्रशासनिक भवन निर्माणका लागि आर्थिक वर्ष २०८१/०८२ मा ५० बजेट विनियोजन गरेपछि निर्माण प्रक्रिया अघि बढेको हो । वडा कार्यालयको भवन बन्ने भए पछि वडावासी खुसी भएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।