सरकार ढल्छ भनी गरिएका प्रचार हल्ला मात्रै हो: भट्टराई

दोलखा । नेकपा एमालेका सचिव योगेश भट्टराईले सरकार ढल्छ भनी गरिएका प्रचार हल्ला मात्रै  रहेको बताएका छन् ।
बुधवार दोलखाको चरिकोटमा प्रेस चौतारी नेपाल दोलखाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सचिव भट्टराईले  सरकार ढल्छ भनी गरिएका प्रचार हल्ला मात्रै भएको बताएका हुन् । देशमा भएको राजनैतिक अस्थिरताको अन्त्य गरी सुशासन र पारदर्शितासँगै दिगो विकासका उद्देश्यले दुई ठुला दल मिलेर यो सरकार  बनेको बताउँदै भट्टराईले २०८४ को चुनावसम्म कांग्रेस र एमालेको सरकार चल्ने पनि बताए ।
अहिले सरकारले ल्याएको अध्यादेश संसद् छलेर ल्याइयो भन्ने कुरामा पनि कुनै सत्यता नरहेको भट्टराईले बताए । एउटा अधिवेशन समाप्त भएको ६ महिना भित्र अर्को अधिवेशन बोलाउनु पर्ने कानुनी प्रावधान भएको बताउँदै भट्टराईले त्यसको लागि अझै एक डेढ महिना समय बाँकी रहेको उहाँले स्पष्ट पारे । संसद् बस्ने बित्तिकै अध्यादेश संसद्मा जाने भएकाले सरकारले संसद् छल्न नसक्ने भट्टराईको भनाइ छ ।
नेपालका कतिपय कानुनहरू निक्कै पुराना भएका र कतिपय कानुन एक अर्कासँग बाझिने खालका भएका कारण त्यसलाई सहज बनाउन सरकारले अध्यादेश ल्याएको भट्टराईले स्पष्ट पारे । देशमा लगानीमैत्री वातावरण बनाउन तथा नागरिकलाई सहज सेवा प्रवाह गर्न ती अध्यादेशहरू ल्याइएको भट्टराईले बताए ।
सरकारले ६ महिनामा कति काम गर्‍यो गरेन भन्ने कुरा आम नागरिकले समीक्षा गरिरहेका बताउँदै भट्टराईले एमालेले सरकारको नेतृत्व लिँदा देश निक्कै सङ्कटको अवस्थामा रहेको कुरा बिर्सन नहुने जिकिर गरे । अर्थतन्त्रलाई लयमा ल्याउन, विश्व समुदाय समक्ष आत्मसम्मानको साथ नेपालको पहिचान स्थापित गर्न, देश भित्रको एकता सुदृढ गर्न, नागरिकमा आत्मविश्वास बढाउन र लोकतन्त्रलाई सुदृढ बनाउन सात बुँदे सहमतिका आधारमा नेपाली कांग्रेस र एमालेको संयुक्त सरकार बनेको उनले बताए । ‘अहिलेको सरकार त्यो सात बुँद सहमति प्रति प्रतिबद्ध छ, त्यसलाई नै अहिलेको कमको मार्गदर्शन मान्दै अघि बढेको छ’, उनले भने ।
विगतका सरकारले कायम गरेको दायित्व भुक्तानी गर्ने काम अहिलेको सरकारले गर्नुपरेको कारण सरकारले विकास निर्माणका काम जुन रूपमा अघि बढाउनु पर्ने हो त्यस हिसाबले गर्न नसकेको भट्टराईको भनाइ छ । अहिले वैदेशिक मुद्राको सञ्चिति पनि पर्याप्त भएकोले आत्तिनु पर्ने अवस्था नरहेको उहाँले बताए । आर्थिक वृद्धिदर पनि चार प्रतिशत माथि नै हुने स्थिति बन्दै गएकोले देशको समृद्धिको अवस्था आसलाग्दो भएको उनले प्रष्ट पारे ।
भट्टराईले नेपाल र चीन बिच भएको बिआरआई सम्झौताले नेपालको समृद्धिमा टेवा पुग्ने बताए । बिआरआई परियोजना कार्यान्वयनको लागि सरकार एकताबद्ध भएर लागेको  स्पष्ट पारे ।
सरकारको स्थायित्व नहुँदा विकास र समृद्धिमा असर परेको बताउँदै सरकारको स्थायित्वको लागि उपयुक्त विकल्प सहित सबै दल मिलेर संविधान संशोधन गर्ने उनले बताए । स्थानीय तहको सङ्ख्या बढी भएको कारण प्रशासनिक खर्च बढेको र योग्य नेतृत्व नहुँदा समस्या देखिएकोले स्थानीय तह घटाई वडालाई अधिकार सहित व्यवस्थित गर्नु पर्ने बनाउनु उनको धारणा छ ।
प्रेस चौतारी नेपाल दोलखाका अध्यक्ष प्रभु जिरेलको अध्यक्षतामा भएको सम्मेलनमा जिल्लास्थित सञ्चारकर्मी तथा एमाले नेताहरूको सहभागिता थियो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर