कर्मचारी संगठन आफ्नै भवनमा
सिन्धुली । लामो समयदेखि गैरीबजार स्थित भाडाको घरमा रहेको नेपाल निजामती कर्मचारी संगठनले आफ्नै भवन निर्माण सम्पन्न गरेर बुधवारबाट सञ्चालनमा ल्याएको छ ।
सिन्धुलीको कमलामाई नगरपालिका-५ मधुटारमा निर्माण गरिएको सहिद मनोज – झपेन्द्र – सुरेन्द्र स्मृति भवनको एक कार्यक्रमबिच उद्घाटन गरिएको छ । नव निर्मित भवनको नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय अध्यक्ष लेखनाथ कोइरालाले एक समारोहका बिच बुधवार उद्घाटन गरेका हुन् ।
सभा हल र एक कोठा समेत रहेको एक तले भवन २ सय ५० दाताहरूको सहयोगमा निर्माण भएको नेपाल निजामती कर्मचारी संगठन सिन्धुलीका अध्यक्ष पदम बहादुर मगरले बताए ।
भवन उद्घाटनका अवसरमा बोल्दै कर्मचारी संगठनका केन्द्रीय अध्यक्ष कोइरालाले सिन्धुलीमा कर्मचारी सङ्गठनको प्रगति प्रशंसायोग्य रहेको जनाए । उनले भने, सङ्घीय निजामती सेवा विधेयक अगाडि बढाई पास गर्नुको विकल्प नरहेको बताए। संसद्मा विचाराधीन रहेको विधेयकमा संगठनले दिएका सुझावलाई समेट्दै छिट्टै पास हुनेमा आफू विश्वस्त रहेको समेत कोइरालाको भनाई छ।
सबै ट्रेड युनियनसँगको समझदारीमा संगठनले सुझाव दिइएको र सबै तहका सबै कर्मचारीको हितमा विधेयक बनेकाले कर्मचारीको हितमा रहेको पनि उनले बताए । त्यस्तै, अन्तर प्रदेश सरुवा र अन्तर स्थानीय तह सरुवाको कुरा ऐनमा छुटेको बताउँदै उक्त कुरा उल्लेख गर्न सुझाव पेस भई सकेकाले त्यसलाई समेट्न पनि राज्य व्यवस्था समितिलाई अनुरोध गरे ।
कार्यक्रममा निजामती कर्मचारी संगठनका केन्द्रीय उपाध्यक्ष भवानी दाहाल र रेवन्त गौतम, सहायक प्रमुख जिल्ला अधिकारी कृष्णमणि फुयाँल, कर्मचारी संगठनका बागमती प्रदेश उपाध्यक्ष युवराज थापा, संगठनका केन्द्रीय सचिवालय सदस्य एवम् जिल्ला इन्चार्ज पुरुषोत्तम दाहाल, पेसागत महासङ्घ सिन्धुलीका अध्यक्ष बविन्द्रलाल माझी, कर्मचारी मिलन केन्द्रका अजय मानन्धर, भवन निर्माण समितिका संयोजक तिलक कार्की लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कर्मचारी सङ्गठनकै संरक्षणमा सञ्चालन रहेको राष्ट्रसेवक सहकारी संस्थाले पनि अब सहिद मनोज – झपेन्द्र – सुरेन्द्र स्मृति भवनबाट नै सेवा प्रवाह गर्ने नेपाल निजामती कर्मचारी संगठन सिन्धुलीका सचिव डिल्ली सौगात घिमिरेले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।