कर्णाली याक्सको पहिलो जित
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा कर्णाली याक्सले पहिलो जित निकालेको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा शुक्रबार दिनको पहिलो खेलमा कर्णालीले चितवन राइनोजलाई ६ विकेटले पराजित गर्यो। चितवनको भने यो पहिलो हार हो। यसअघि चितवनले लगातार दुई खेलमा जित निकाल्दा कर्णालीले सुरुवाती दुई खेल गुमाएको थियो।
चितवनले दिएको १३१ रनको सामान्य लक्ष्य कर्णालीले अन्तिम बल बाँकी छदा ४ विकेटको क्षतिमा पूरा गर्यो।
चितवनका बलर सोहेल तन्विरले १९औं ओभरमा २ रन मात्र खर्चिएपछि कर्णालीमाथि दबाब परेको थियो। १९औं ओभरमा तन्विरको बलमा कर्णालीका जीशन मक्सुदले सुरूवाती तीन बलमा रन लिन सकेनन्। चौथो बलमा एक रन लिए भने त्यसपछि अर्जुन घर्तीले अन्तिम बलमा एक रन लिन सके। जसका कारण कर्णालीलाई अन्तिम ओभरमा जितका लागि ९ रन चाहिएको थियो।
अन्तिम ओभरमा रिजन ढकाललाई कर्णालीका अर्जुन घर्तीले सुरुवाती तीन बलमा २-२ रन लिए। चौथो बलमा अर्जुन घर्ती एक रन लिने क्रममा रन आउट भए। पाँचौ बलमा जिनशले चौका प्रहार गरेपछि कर्णाली जित निकाल्न सफल भयो।
कर्णालीका लागि भारतीय ब्याटर शिखर धवनले ४५ रन जोडे। १६ औं ओभरमा लोफ्टी इटनको बलमा आउट हुनुअघि उनले ४१ बलमा ४ चौका र १ छक्का प्रहार गरे।
ओपनर देव खनालले २५ रन बनाए। नवौं ओभरमा चितवनका कप्तान कुशल मल्लको एलबिडब्लूको धरापमा पर्नुअघि देवले ३४ बल खेलेर एक चौका र एक छक्का प्रहार गरे। उनले धवनसँग पहिलो विकेटका लागि ९.५ ओभरसम्म खेलेर ५३ रनको साझेदारी गरे।
धनवसँग ५१ रनको साझेदारी गरेका चाडविक वाल्टनले ३० रन जोडे। रवी बोपराको एलबिडब्लूको धरापमा पर्नुअघि उनले १९ बलमा ३ छक्का प्रहार गरे।
बलिङमा चितवनका कुशल मल्ल, लोफ्टी इटन र रवी बोपराले एक एक विकेट लिए।
त्यसअघि टस जितेको कर्णालीले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको चितवनले ७ विकेटको क्षतिमा १३० रन जोड्यो।
चितवनका लागि रवी बोपाराले अर्धशतक प्रहार गरे। उनले नटआउट ५९ रन जोड्ने क्रममा ४० बल खेलेर ७ चौका र १ छक्का प्रहार गरे।
बोपारा र कप्तान कुशल मल्लले चौथो विकेटका लागि ६० रनको साझेदारी गरेका थिए। कुशलले २७ बलमा २ चौका र १ छक्का प्रहार गर्दै २३ रन जोड्न सके।
त्यसअघि चितवनले पावरप्लेमा आफ्नो तीन विकेट गुमाएको थियो। ओपनर लुक बेन्केस्टाइनलाई पहिलो ओभरको पाँचौ बलमा कर्णालीका कप्तान सोमपाल कामीले शून्यमा बोल्ड गरे।
अर्का ओपनर दीपक बोहरा चौथो ओभरमा नन्दन यादवको बलमा देव खनालबाट ८ रनमै क्याच भए। पावरप्लेको अन्तिम ओभरमा विपिन रावल ११ रनमा जिशन मक्सुदबाट बोल्ड भए।
१७औं ओभरमा विपिन शर्माको एलबिडब्लूको धरापमा पर्नुअघि लोफ्टी इटनले ९ रन जोडे। दुई बलपछि विपिनले सोहेल तन्विरलाई शून्यमा बोल्ड गरेका थिए। विपिनले अमरसिंह रटेउलालाई पनि १९औं ओभरमा ९ रनमा बोल्ड गरेका थिए। शरद भेषावकर ६ रनमा नटआउट रहे।
बलिङमा कर्णालीका विपिन शर्माले तीन विकेट लिए। उनले चार ओभरमा २१ रन खर्चिए। जिशन मक्सुदले दुई विकेट लिन सफल भए। उनले चार ओभरमा २२ रन दिए। कप्तान सोमपाल कामी र नन्दन यादवले १-१ विकेट लिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए maishirnepal@gmail.com मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।