सिन्धुलीको भगवतीमा सुरु भयो ‘संस्कृत’ शिक्षा
सिन्धुली । सिन्धुली जिल्लाको प्रतिष्ठित निजी शैक्षिक संस्था भगवती अङ्ग्रेजी आवासीय मा.वि. ले संस्कृत भाषाको समेत पठनपाठन सुरु गरेको छ । संस्कृत भाषालाई वेदको भाषा मानिन्छ । वाणीको स्वर्णिम लिखित रूप वेद हो ।अंग्रजी शिक्षाको दबदबासँगै कर्मकाण्डी भाषाको रूपमा सीमित भएको प्राचीन भाषा संस्कृतलाई विश्वका विभिन्न विद्यालय, विश्वविद्यालयहरूले आफ्नो पाठ्यक्रममा समावेश गर्न थालेका छन् । यसै सन्दर्भमा भगवतीले पनि कक्षा ५ र ६ बाट यसको पठनपाठन सुरु गरेको हो ।
संस्कृत भाषा पूर्वीय दर्शनको संवाहक हो । सम्पूर्ण प्राणी जगतको महत्त्व बुझेर समान व्यवहार गर्न सिकाउने शक्ति यो भाषामा निहित छ । यो कुनै वर्ग र समुदायको भाषा होइन । आज संस्कार सहितको शिक्षाको आवश्यकतालाई संस्कृत शिक्षाले पुलको काम गर्ने छ । नैतिक शिक्षाको पूर्ण आयाम संस्कृत शिक्षाबाट नै पाइन्छ । यो विश्वको प्राचीनतम् भाषा र सबै भाषाको जननी हो । नेपाली पढ्न, शुद्ध लेख्न तथा मानिसलाई नैतिकवान्, मर्यादित र आदर्शवान् बनाउन संस्कृत भाषाको महङ्खव मूल्यवान् छ ।
यस सन्दर्भमा विद्यालयका संस्थापक प्रिन्सिपल कृष्णकुमार उप्रेती भन्नुहुन्छ–“विद्यार्थीहरूलाई संस्कार सहितको सिपमूलक शिक्षासँग जोड्न र नेपाली भाषालाई शुद्धसँग पढ्न र लेख्न यसको आवश्यकता देखिएकाले संस्कृत शिक्षालाई विद्यालयले पठनपाठनमा समावेश गरेको हो ।” त्यसैगरी नैतिक शिक्षाबिना संस्कार सहितको सिपमूलक शिक्षाबारे पुस्तान्तरण गर्न पनि असम्भव देखिएको र संस्कृत शिक्षाले विद्यार्थीहरूलाई नैतिकवान् बनाउन समेत टेवा पुग्ने देखिएकाले संस्कृत शिक्षाको पठनपाठन सुरु गरिएको हो । ”
स्मरण रहोस् भगवती मा.वि.ले जिल्लामा संस्कार सहितको शिक्षामा जोड दिँदै आएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए maishirnepal@gmail.com मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।