कहाँ गयो सेनका सन्तानको इतिहास ?

जित्नेले हार्नेहरूको इतिहास समाप्त पारिदिने कुरा समाजशास्त्रको नियमै हो । यो प्रयत्न अहिले पनि हुँदै आएको छ । तर कुनै यस्तो युग पनि थियो जुन बेला जित्ने पक्षद्वारा हार्ने पक्षको वंश मात्रै होइन जाती तथा नश्ल नै समाप्त गरिन्थ्यो । नेपालका सन्दर्भमा यसको मारमा परेको पछिल्लो जात तथा वंश हो –‘सेन अर्थात् भुजेल ।’

 

सेनहरू को हुन् ? वर्तमान नेपाल, भारत तथा तिब्बतमा पर्ने क्षेत्रमा सेनहरूले कति शताब्दी शासन गरे ? सेन राज्यको आकार कत्रो थियो ? के कस्तो वैभव थियो रु भन्ने कुरामा नेपालको इतिहासमा धेर–थोर उल्लेख नै छ । हालै प्रकाशित मेरो पुस्तक ‘लक डाउन डायरीमा’ पनि त्यो आर्टिकल समेटिएको छ । यो आलेखमा भने सेन तथा उनका सन्ततिहरू अहिले खोइ त रु भन्ने सन्दर्भमा छोटो चर्चा गरेको छु ।

 

इतिहासकार डा.राजाराम सुवेद्धीले बहादुर शाहको पालामा पाल्पाली सेन राज्यलाई गोर्खाली फौजले जितेपछि राजखलकका सबै पुरुष सदस्यलाई खोजी खोजी मारेको उल्लेख गरेका छन् । जसमध्ये एक सानो बालकलाई बालिका भन्ने ठानेर छोडिएको र ती बालक सहित उनकी आमा गुल्मीको डाँडाकटेरी क्षेत्रको जंगलमा अलप भएको उल्लेख गर्दै इतिहासकार डा. सुवेद्धीले भनेका छन् –‘ तिनै बालकका सन्ततिहरू आफूलाई सेन वलीका रूपमा चिनाउन थाले ।’ सूर्यबहादुर सेनले पनि आफ्नो पुस्तकका यसबारे लामो चर्चा गरेका छन् । तर राजखलकको त्यो एउटा बिउ बाहेक अन्य सेनहरू खोइ त रु कहाँ गए त रु सयौँ वर्ष वैभवका साथ शासन गर्ने सेनहरूको जनसङ्ख्या यति बेला नेपालमै कम्तीमा १० लाख भन्दा माथि हुनु पर्ने होइन र ? तर सेनहरूको जनसङ्ख्या १० हजार पनि छैन ।

 

थप अध्ययन तथा अनुसन्धान गर्दै जाँदा, किंवदन्तीहरू सुन्दै जाँदा धेरै कुरा खुल्न थालेको छ । पाल्पालाई गोर्खालीहरूले जितेपछि आफ्नो जातीय पहिचान दिँदा जिउ ज्यान, तथा सम्पत्ति माथि नै खतरा हुने अवस्था आएकोले धेरै जसो सेनहरू जहाँ जुन जातिको बाहुल्यता छ , त्यहीँ समाहित भए । यस क्रममा केही सेनहरू मगरमा र केही सेनहरू क्षेत्रीमा रूपान्तरण भए । केही सेनहरूलाई दास बनाइयो । केही सेनहरू राज्यको पहुँच भन्दा टाढा जंगलमा लुक्न थाले । साह्रा सम्पत्ति लुटिएकोले केही सेनहरू अरूको सेवक बनेर बसे । जसमध्ये एक थरी बाग्लुङ क्षेत्रको भुजेला जंगलमा लुकेर केही वर्ष जीविकोपार्जन गर्दै छुट्टै सभ्यता कायम गरे । जो भुजेल जातका नामले चिनिए । उनीहरू जनजाति हुन् या खस हुन् ? भन्ने पहिचान हरायो । खस र जनजातिको मिश्रित जातका रूपमा उनीहरूलाई ‘खवास’ बनाइयो । त्यति बेला बाहुनले पानी चल्ने जात विवाह गरेपछि उसका सन्ततिलाई खत्रीको जातीय पहिचान दिन थालियो । भुजेलले खस स्त्री विवाह गरेपछि पैदा हुने सन्तानलाई ‘खवास’ जातीय पहिचान दिन थालियो । पछि भुजेल मात्रै होइन जुनसुकै जनजातिले खस स्त्री विवाह गरेपछि उसलाई खवास जातीय पहिचान दिन थालिएको प्रा.डा. जगमान गुरुङको भनाई छ ।

 

खत्रीलाई क्षेत्रीमा मिसाइए जस्तै खवासलाई भुजेलमा मिसाइयो । यसरी सेन वंशी भुजेल भित्र खवास, घर्ती र निशेल गरी तीन वटा उपजात भए । सेन वंशी भुजेल भित्रका यी तीन उपजातहरूमध्ये खवासहरूको राज्य सत्तामा पहुँच हुनु स्वभावीकै थियो । किनकि उनीहरूको सत्तामा नरनाता जोडिएको थियो । तर निशेल र घर्तीहरूको अवस्था भने झन् झन् खराब हुँदै गयो । चन्द्रशमशेरले दास प्रथा उन्मुलन नगरेसम्म घर्तीहरूले मानवीय जीवन यापन गर्न पाएनन् । दास प्रथा उन्मुलन पछि धेरै जसो घर्तीहरूले आफूलाई क्षेत्रीमा रूपान्तरण गरे । धेरै जसोले घर्ती–क्षेत्री लेख्न थाले , केहीले थापा लेख्न थाले । पाँच वर्ष अघि खिलराज रेग्मीको सरकारमा कृषि मन्त्री बनेका टेकबहादुर घर्तीले मन्त्री हुनु अघिसम्म थापा नै लेख्थे । उनका नातागोता सबै क्षेत्री नै छन् । तर मन्त्री हुनका लागि मात्रै उनले आफ्नो वास्तविक जातीय पहिचान खुलाए । जातीय पहिचान खुलाउन नै अप्ठेरो मान्नु पर्ने अवस्था आएका कारण घर्तीको सङ्ख्या पनि धेरै कम छ ।

तर खवासहरू भने त्यति बेला पाँडे र थापा सरह नै राजदरबारमा हर्ता कर्ता थिए । गर्भयो खवास र त्रिभुवन खवास आधुनिक शाह राजदरबारका विश्वास पात्र थिए र यिनीहरू सैनिक कमान्डको उच्च पदाधिकारी थिए । गगनसिंह खवास शक्तिको हिसाबले राजा राजेन्द्र र चौतरिया प्रधानमन्त्री फत्तेजङ शाहको भन्दा कम थिएनन् । यिनको मातहतमा रानी राज्यलक्ष्मी शाहबाट सात रेजिमेन्टको सेना बक्स भएको थियो । किनकि आफ्ना माइती सेनहरू खवासका रूपमा दरबारमा आएको रानीलाई थाह थियो । गगनसिंह र रानी राज्यलक्ष्मी बिच चेली माइतीको सम्बन्ध थियो । उनीहरू देशलाई कसरी सम्पन्न बनाउने रु बलियो बनाउने रु भन्ने सन्दर्भमा गोप्य छलफल गर्थे । पाँडे र थापाहरूको कलहले मुलुक तहसनहस भएको कुरामा गगनसिंह जानकार थिए । उनीहरूले आफूलाई बलियो बनाउन अङ्ग्रेजहरूको चाकरी गर्न थालेको सूचना पनि गगन सिंहले आफ्नो संयन्त्र मार्फत पाइसकेका थिए । गगनसिंह रहेसम्म नेपालमा आफ्नो मिसन सफल नहुने ठहरमा पुगेका अङ्ग्रेजहरूले भित्रभित्रै षड्यन्त्र गरेर थापा खलकका भान्जा जङ्गबहादुर लाई शक्ति सम्पन्न बनाए । तर निरङ्कुश शासन गर्ने महत्त्वाकाङ्क्षा बोकेका जङ्गबहादुरले आफ्नो बाटोको मुख्य तगारो गगनसिंहलाई देखे । गगनसिंह रहे सम्म आफू निरङ्कुश शासक बन्न नसक्ने ठहरमा जङ्गबहादुर पुगे । तर रानीका धेरै नै विश्वासपात्र भएकोले गगनसिंहलाई सिध्याउन सजिलो थिएन । चतुर जङ्गबहादुरले गगनसिंह र रानीबिच यौन सम्बन्ध हुने गरेको प्रचार गरे । जबकि यिनीहरूको सम्बन्ध भनेको चेली माइतीको थियो । त्यति बेलाका भारदारहरू जङ्गबहादुरको लहैलहैमा लागे । गगन सिंह काटिए । रानीलाई देश निकाला गरियो । भन्डारखाल पर्वमा राजा रानीलाई पण्डित विश्वराज पाण्डेले ठुलो धोका दिएकोले गगनसिंह खवासको पुत्र बजिरसिंह खवासलाई भागेर पश्चिम सिलगुडि जानु परेको थियो । गगनसिंहको हत्या पछि रानी राज्यलक्ष्मी शाहले तुरुन्तै राज्यको ढुकुटीको साँचो गगन सिंहका छोरा बजिरसिंह खवासलाई दिएकी थिइन ।

 

भण्डार खाल पर्व लगत्तै जङ्गबहादुरले विक्रम संवत् १८६० चैत ३ गते पुर्वमन्त्री भीम खवास (टलक्सारी) र यिनका एक छोरालाई विष्णुमती नदिमा काटी मारिदिए । अर्को एक छोरालाई चोभार टौदहमा लगि डुबाइए । अर्को एक छोरालाई खुट्टामा पासो लगाई उधोमुन्टो पारि रुखमा झुन्ड्याएर छाउनीमा तीन दिनसम्म राख्दा पनि मरेनन् र पछि त्यहीँ नै काटिए । सुब्बा शंखधर खवासलाई खाडलमा माटोले कुमसम्म आउने गरी पुरी कपाललाई सल्लाको खोटोमा लपेटेर आगो लगाई मारिदिए ।

 

जङ्गबहादुरको क्रूरता यतिमा मात्रै सीमित भएन । उनले मुलुकी ऐन जारी गरेर क्षेत्री सरहको भुजेल जातिलाई नै मतवालीको सूचिमा राखिदिए । मतवालीको सूचिमा पनि अझ कथित तल्लो दर्जा अर्थात् मासिन्या मतवालीको सूचिमा राखिदिए । मासिन्याको अर्थ हो–‘ राज्य संयन्त्रका कुनै पनि पदमा योग्य नहुने ।’ आफूले गरेको नरसंहारको बदला भुजेलहरूले कुनै बेला लिन सक्ने डरका कारण जङ्गबहादुरले मुलुकी ऐनमै निषेधको व्यवस्था गरिदिए । भुजेलको एउटा उपजात निशेल यही निषेध शब्दको अपभ्रंश हो ।

 

भुजेल जातिको कत्लेआम बहादुर शाहको पालामा भएको पहिलो र जङ्गबहादुरको पालामा भएको दोस्रो हो भन्ने गरिन्छ , तर बहादुर शाहको पाला भन्दा पनि करिब ५ सय वर्ष अघि भुजेल जातिले पहिलो कत्लेआम बेहोरेको इतिहास छ ।

भुजेल जातिको मौखिक इतिहास मिथक, श्रुतिकथाहरुको आधारमा अध्ययन गर्दा ढोरपाटन क्षेत्रमा रहेर २२ पुस्ताले राज्य गरेको पाइन्छ । १३ औँ शताब्दीको मध्यतिर बाईसे राज्यको उदयसँगै भुजेल राज्यको अस्तित्व समाप्त भएको देखिन्छ । वि।स। १३७२ सम्म भुजेलहरूले आफ्नो छुट्टै राज्यको सञ्चालन गरेको विभिन्न अध्ययन अनुसन्धानले देखाएको छ । गलकोट र रुकुम राज्यका संस्थापक राजा डुगरसिंह मल्ल समालाका सन्तति द्वारा भुजेल राज्यको समाप्त पारिएको थियो । राजकुट नजिकै १८२५ मिटरको उचाईमा रहेको अर्नाकोटमा भुजेलहरूको राज्यको कोत रहेको इतिहास विद्धहरू बताउँछन् । समय र परिस्थिति अनुसार युद्धमा पराजय पश्चात् यो जातिले दुई विकल्प मध्ये एकलाई रोज्नु त्यस बेलाको बाध्यता थियो । एउटा विजयी राज्यसत्ताले आफूमाथि लादेका विभेदलाई स्विकार्नु थियो भने अर्को आफ्नो सुरक्षाका निम्ति थातथलो त्यागी अन्यत्र पलायन हुनु ।

 

अन्यत्र पलायन भएका एक थरी भुजेलले पाल्पामा अर्को राज्य खडा गरे । जो सेन राज्यका रूपमा पूर्वमा बंगालको खाडीसम्म, दक्षिणमा गंगानदीसम्म उत्तरमा २२ से २४ से राज्यसम्म र उत्तर पूर्वमा नेपाल राज्यसम्म विस्तार भयो । यस भूखण्डमा यति ठुलो साम्राज्य न त्यस अघि थियो , न त्यस पछि छ ।

 

(भुजेल गोर्खा ब्रिटिस सेनाका अवकाश प्राप्त इन्जिनियर हुन्)


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए maishirnepal@gmail.com मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर