विपद प्रभावितका लागि तीन करोड प्रदान गर्ने बागमती प्रदेश सरकारको निर्णय
हेटौडा । बाढी पहिरोबाट प्रभावितहरुका लागि राहत वितरण गर्न बागमती प्रदेश सरकारले करीव तीन करोड रुपैया प्रदान गर्ने निर्णय गरेको छ । आन्तरिक मामिला तथा कानून मन्त्री सुरज चन्द्र लामिछानेको अध्यक्षतामा सोमबार प्रदेश राजधानी हेटौडामा बसेको विपद व्यवस्थापन कार्यकारी समितिको बैठकले सम्बन्धित जिल्ला प्रशासन कार्यालय मार्फत राहत वितरण गर्ने गरी उक्त रकम प्रदान गर्ने निर्णय गरेको हो ।
राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रको सोमबारको तथ्याङ्क अनुसार विपदबाट बढी क्षति भएको देखिएका काभ्रेपालञ्चोक जिल्लालाई ६० (साठी) लाख, धादिङ जिल्लालाई ५० (पचास) लाख, ललितपूर जिल्लालाई ३० (तीस) लाख, काठमाण्डौ जिल्लालाई २० (बीस) लाख, सिन्धुपाल्चोक जिल्लालाई २० (बीस लाख) र दोलखा, रामेछाप, सिन्धुली, मकवानपुर, भक्तपुर जिल्लाहरुलाई दश दश लाखका दरले राहत वितरण गर्ने प्रयोजनका लागि प्रदेश विपद् व्यवस्थापन कोषबाट जिल्ला विपद् व्यवस्थापन कोषमा दुई करोड तीस लाख रकम प्रदान गर्ने निर्णय गरिएको समितिका अध्यक्ष समेत रहनु भएका आन्तरिक मामिला तथा कानून मन्त्री लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्ला प्रशासन कार्यालयहरुबाट थप रकम माग भई आएमा आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट उपलब्ध गराई कार्यकारी समितिबाट अनुमोदन गर्ने निर्णय गरिएको छ । बैठकमा बिभिन्न मन्त्रालयका सचिव, मकवानपुरका प्रमुख जिल्ला अधिकारी, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका प्रतिनिधिको उपस्थिति रहेको थियो ।
प्रदेश विपद् व्यवस्थापन कोष परिचालन कार्यविधि, २०८० को दफा ३ को (ख) बमोजिम खोज, उद्धार तथा प्रतिकार्य सम्बन्धी कार्य गर्नका लागि कार्यविधिको दफा ५ को उपदफा १ बमोजिम बागमती प्रदेशका १३ वटा जिल्ला विपद् व्यवस्थापन कोषमा पाँच पाँच लाखका दरले प्रदेश विपद् व्यवस्थापन कोषबाट कुल पैसठ्ठी लाख रकम उपलब्ध गराउने निर्णय पनि गरिएको छ ।
बैठकले बागमती प्रदेश अन्तरगतका जिल्ला प्रशासन कार्यालयहरुले सम्बन्धित जिल्लाका स्थानीय तहहरु तथा जिल्लास्थित कार्यालयहरुसँगको समन्वयमा विपतबाट भएको मानवीय, पशुचौपया तथा कृषिबाली, घरगोठको क्षति, उद्योग व्यवसायहरु, सार्वजनिक सम्पत्ति (सडक, पुल, विद्युतगृह, स्वास्थ्य चौकी, विद्यालय, सरकारी कार्यालय) तथा प्रभावित परिवार लगायतको संरचनाहरुको क्षतिको अद्यावधिक विवरण संकलन गरि प्रदेश आपतकालीन कार्यसञ्चालन केन्द्रमा पठाउन अनुरोध गर्ने निर्णय पनि गरेको छ ।
बैठकले विषयगत क्षेत्र परिचालनका सम्बन्धमा सम्बन्धित विषयगत मन्त्रालयहरुले तत्काल गर्ने कार्य पनि तोकेको छ । प्रदेश राजमार्ग अन्तरगत रहेका अवरुद्ध सडक तत्काल सूचारु गर्न भौतिक पूर्वाधार विकास मन्त्रालयले खानेपानी, ऊर्जा तथा सिंचाइ मन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, स्थानीय तह, विभिन्न राजनीतिक दलहरु, निर्माण व्यवसायी लगायत निजी क्षेत्र एवम् स्थानीय स्वयंसेवकहरुको साथ सहयोग लिई आवश्यक प्रक्रिया अगाडी बढाउने र सडक सूचारु गर्न आवश्यक पर्ने बजेटका सम्बन्धमा लागत इस्टिमेट लगायतका आवश्यक विवरण सहित आर्थिक मामिला तथा योजना मन्त्रालयमा पेश गर्ने निर्णय बैठकले गरेको छ ।
बागमती प्रदेश भित्रका अवरुद्ध संघीय राजमार्ग (सडक)हरु यथाशीघ्र सुचारु गर्ने व्यवस्था मिलाईदिन भौतिक पूर्वाधार विकास मन्त्रालय मार्फत नेपाल सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई अनुरोध गर्ने निर्णय पनि बैठकले गरेको छ । बैठकले विपद्का कारण विस्थापित घरपरिवारलाई सुरक्षित स्थानमा अस्थायी आवासको व्यवस्था मिलाउन स्थानीय तहलाई अनुरोध गर्ने निर्णय पनि गरेको छ ।
विपतबाट क्षति भएका कृषिबाली तथा पशुचौपायाको तथ्याङ्क संकलन गरि आवश्यक राहतको व्यवस्था कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मिलाउने, बागमती प्रदेश भित्र रहेका विद्यालयहरुको क्षतिको अवस्था संकलन गरि सामाजिक विकास मन्त्रालयले तत्काल मर्मत सम्भार गर्नुपर्ने भए सोको कार्य प्रारम्भ गर्ने, खानेपानी, ऊर्जा तथा सिंचाइ मन्त्रालयले खानेपानीको पहुँचबाट प्रभावित परिवारको तथ्याङ्क संकलन गरि आवश्यकताअनुसार खानेपानी उपलब्ध गराउने, स्वास्थ्य मन्त्रालयले विपद्का कारण घाईते व्यक्तिहरुको शीघ्र निशुल्क उपचारका चिकित्सकिय टोली तथा आवश्यक औषधी तथा उपकरणको व्यवस्थापन गर्ने निर्णय पनि बैठकले गरेको छ ।
विपदबाट प्रभावित परिवारका लागि खाद्यान्न लगायत अत्यावश्यक वस्तुको सहज आपूर्तिको व्यवस्थाका लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालय र स्थानीय तहको समन्वयमा उद्योग, वाणिज्य भूमि तथा प्रशासन मन्त्रालयले आवश्यक व्यवस्था मिलाउने, वन तथा वातावरण मन्त्रालयले जोखिमयुक्त जलाधार र बस्तीको क्षति संकलन गरि सोको संरक्षणका लागि आवश्यक कार्य गर्ने निर्णय गरेको छ ।
बैठकले असोज १० गते देखि असोज १३ गते सम्मको अविरल वर्षाका कारण सिर्जित बाढी पहिरो लगायतका घटनामा परि दिवङ्गत हुनुभएका प्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दै मृतकको परिवार प्रति गहिरो समवेदना र घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए maishirnepal@gmail.com मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।