आज देखि देशभर भीषण वर्षा हुने, सिन्धुली सहित ५६ जिल्ला ‘रेडअलर्ट’मा

मंगलबारदेखि सक्रिय बनेको मनसुनी प्रणालीका कारण बिहीबार दिउँसोबाट देशभर भीषण वर्षा हुने भएको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले बुधबार विशेष बुलेटिन जारी गर्दै आइतबार बिहानसम्म सातवटै प्रदेशमा भीषण वर्षा हुने र केही ठाउँमा अत्यधिक वर्षाको चेतावनी दिएको छ।

यो अवधिमा बाढीपहिरोका घटनासमेत बढ्नसक्ने भएकाले महाशाखाले सिन्धुली सहित सात प्रदेशका ५६ जिल्लालाई रेडअलर्टमा राखेको छ।
महाशाखाले सोमबार राति विशेष बुलेटिन जारी गर्दा बिहीबारदेखि शनिबारसम्मका लागि २७ जिल्लामा रेडअलर्ट जारी गरेको थियो।
तर, वर्षा गराउने प्रणाली नेपाल नजिक झन शक्तिशाली बनेकाले वर्षा हुने क्षेत्र र असर बढी पर्ने देखिएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् प्रतिभा मानन्धरले बताइन्।
‘यो वर्षाले धानबालीलाई त असर गर्छ नै, यो साताभर किसानलाई धान नकाट्न अनुरोध छ, काटिसकिएको छ भने भित्र्याउनुहोला,’ मानन्धरले भनिन्, ‘यसबाहेक पर्वतारोहणमा नजान अनुरोध छ। बाढीपहिरोका घटना पनि बढ्न सक्ने भएकाले सचेत रहनुहोला।’

रेडअलर्ट जारी भएका जिल्लामा रात्रिकालीन बस चलाउन रोक लगाउने निर्णय सरकारले यसअघि नै गरेको थियो। महाशाखाका अनुसार बंगालको खाडीबाट प्रवाह हुने जलवाष्पयुक्त हावा र त्यस क्षेत्रमा बनेको न्यूनचापीय प्रणालीका कारण बिहीबारदेखि आइतबार बिहानसम्म अधिकांश स्थानमा मेघ गर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

कोशी, बागमती, गण्डकी र लुम्बिनीका धेरै स्थान तथा मधेश, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा भीषणदेखि अत्यधिक वर्षाको सम्भावना छ। तराईमा हावाहुरीको समेत चेतावनी दिइएको छ।

गण्डकी र लुम्बिनीका थोरै तथा कोशी, बागमती, मधेश, कर्णाली र सुदूरपश्चिमका एक–दुई स्थानमा भने आरिघोप्टे तहको वर्षाको सम्भावना छ।

कहिले के हुन्छ ?
बिहीबारः बिहीबार दिउँसोदेखि देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी तथा लुम्बिनीका थोरै स्थान तथा मधेशका एक–दुई स्थानमा भीषणदेखि अत्यधिक वर्षाको चेतावनी दिइएको छ। तराईमा हावाहुरी चल्नेछ।

शुक्रबारः शुक्रबार पनि देशभर वर्षा हुनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र कर्णालीका केही स्थान तथा मधेशका थोरै स्थानमा भीषणदेखि अत्यधिक वर्षाको सम्भावना छ। तराईमा हावाहुरीको समेत सम्भावना छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका एक–दुई स्थानमा अत्यधिक वर्षाको चेतावनी दिइएको छ।

शनिबारः अधिकांश स्थानमा वर्षा हुनेछ। बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको समेत सम्भावना छ। लुम्बिनी, गण्डकी तथा कर्णालीका केही स्थानमा हावाहुरीको समेत सम्भावना छ।

आइतबारः आइतबार बिहानसम्म वर्षा हुनेछ। देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना रहे पनि आइतबार दिउँसोदेखि मौसममा सुधार आउने मौसमविद् मानन्धरले बताइन्। गण्डकी, लुम्बिनी र कर्णालीका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

यी हुन् रेडअलर्ट जारी भएका ५६ जिल्ला

कोशीः झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम, खोटाङ, ओखलढुंगा, उदयपुर, भोजपुर, इलाम र पाँचथर

मधेशः सिराहा, सप्तरी र पर्सा

बागमतीः दोलखा बाहेका जिल्लाहरू मकवानपुर, चितवन, धादिङ, नुवाकोट, रसुवा, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, सिन्धुली र रामेछाप

गण्डकीः म्याग्दी, बागलुङ, तनहुँ, स्याङ्जा, नवलपरासी पूर्व, कास्की, पर्वत, लमजुङ, गोरखा र मनाङ

लुम्बिनीः रुकुम पूर्व, रोल्पा, गुल्मी, प्युठान, अर्घाखाँची, पाल्पा, दाङ, कपिलवस्तु, रुपन्देही, नवलपरासी पश्चिम, बाँके र बर्दिया

कर्णालीः जाजरकोट, रुकुम पश्चिम, दैलेख, सुर्खेत र सल्यान

सुदूरपश्चिमः कैलाली, डोटी र अछाम

 


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए maishirnepal@gmail.com मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर