सहकारी बचत अपचलनमा रवि लामिछाने दोषी ठहर, कारबाही सिफारिस गर्ने तयारी

प्रतिवेदन आज प्रतिनिधि सभामा पेस गर्ने कार्यसूची

सहकारी संस्थाको बचत अपचलनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसमेत रहेका गोर्खा मिडिया प्रालिका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेको संलग्नता पुष्टि भएको निष्कर्षमा संसदीय विशेष छानबिन समिति पुगेको छ।

सहकारी बचत अपचलनमा तत्कालीन उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका लामिछाने जोडिएको भन्दै नेपाली कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गरेपछि प्रतिनिधि सभाले जेठ १५ गते सहकारी संस्था बचत रकम दुरूपयोगसम्बन्धी संसदीय विशेष छानबिन समिति गठन गरेको थियो।

उक्त समितिलाई तीन महिना कार्यावधि दिइएकोमा प्रतिनिधि सभाले थप १५ दिनको समय पनि दिएको थियो। समितिले सोमबार प्रतिवेदन प्रतिनिधि सभामा पेस गर्ने भएको छ। प्रतिनिधि सभाको सम्भावित कार्यसूचीमा यो विषय उल्लेख छ।

सात सदस्यीय संसदीय छानबिन समितिको सभापति नेकपा ९एमाले० का सांसद सूर्य थापा छन्। समितिमा कांग्रेस, एमाले, माओवादी, रास्वपा र राप्रपाका सांसदहरू छन्।

समितिका एक जना सदस्यले दिएको जानकारीअनुसार सोमबार दिउँसो प्रतिनिधि सभामा संसदीय छानबिन समितिले तयार पारेको प्रतिवेदन पेस गर्ने तयारी छ।

प्रतिवेदनमा सहकारी बचत रकम अपचलनमा रास्वपा सभापतिसमेत रहेका लामिछाने दोषी देखिएको र कारबाही सिफारिस गर्ने कुरा लेखिएको ती सदस्यले जानकारी दिए।

‘रवि लामिछाने गोर्खा मिडिया नेटवर्क प्रालिको एमडी (प्रबन्ध निर्देशक) र पार्टनर (साझेदार) भएको कारणले कार्यालय सञ्चालन गर्ने हिसाबमा पनि मुख्य भूमिका र जिम्मेवारी उहाँको देखिएकोले नाम (रवि लामिछाने) प्रतिवेदनमा समावेश गरिएको छ,’ ती सदस्यले सोमबार बिहान सेतोपाटीसँग भने, ‘सहकारी बचत अपचलनमा उहाँ संलग्न देखिएकोले कारबाही सिफारिस गर्ने काम समितिले गर्छ, कुन ऐननियमअनुसार कारबाही गर्ने भन्ने कुरा समितिले भन्ने कुरा भएन।’

रास्वपा सभापतिसमेत रहेका ग्यालेक्सी टेलिभिजन सञ्चालक संस्थाका तत्कालीन प्रबन्ध निर्देशक लामिछानेसँग संसदीय समितिले करिब १० घन्टा सोधपुछसमेत गरेको थियो। लामिछानेले सहकारीहरूबाट बचत रकम गोर्खा मिडियामा आएको कुरा आफूलाई थाहा नभएको बताएका थिए।

‘रवि लामिछानेको पदीय दायित्वअनुसारको जिम्मेवारीले पनि सहकारीको पैसा आएको कुरा मलाई थाहा छैन भन्न मिल्ने अवस्था देखिँदैन भन्ने निष्कर्षमा समिति पुगेको छ, यही कुरा प्रतिवेदनमा समावेश गरिएको छ,’ ती सदस्यले भने।

संसदीय समितिमा रास्वपाबाट सदस्य रहेका सांसद शिशिर खनालले प्रतिवेदन हस्ताक्षर गर्न भने बाँकी रहेको बताएका छन्।

‘प्रतिवेदन सदस्यहरूले पूरा हेरेर हस्ताक्षर गर्नै बाँकी छ,’ सामाजिक सञ्जाल एक्समा उनले लेखेका छन्।

 


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए maishirnepal@gmail.com मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर