नदी किनारमा तटबन्धले खेत र बस्ती सुरक्षित राख्न मद्दत गर्दछ
चुरे उत्थानशील आयोजनाले हालसम्म नदी किनार स्थिरिकरण गर्नका लागि ९६ वटा तटबन्ध बनाएको छ, जसले ४७ हजारभन्दा बढी मानिसलाई फाइदा पुर्याएको छ ।
सिन्धुलीको भताही खोलाको किनारमा फलामको ग्याबियन तारभित्र ढुङ्गा हाल्ने काम उत्साहपूर्वक गरिरहेकी छिन्, पदम कुमारी मगर। सुख्खा याममा यो ‘खोला’मा ढुंगा र बालुवा मात्र हुन्छन् । त्यसको छेउमा तटबन्ध लगाउन करिब दुई दर्जन मानिस सक्रिय छन् ।
“हरेक वर्ष, वर्षामा यो खोलामा बाढी आउँछ र नजिकैको क्षेत्रहरूमा पस्छ। मेरो खेत यो खोलाको एकापट्टि छ, मेरी दिदीको खेत अर्को पट्टि छ। हरेक वर्ष बाढीले ती खेत बगाउँछ । तपाईँले हामीलाई तार जाली पनि दिनुभयो, काम गर्ने मौका पनि दिनुभयो । हामीले तटबन्ध पनि पायौँ, काम पनि पायौँ, त्यसैले हामी खुशी छौँ । अब खेत जोगिएका छन् र खान पाइएला भनेर धेरै आस लागेको छ,” मगर भन्छिन्।
पदम कुमार मगर कृषक हुन्, र श्रीमान्, दुई छोरा र एक छोरी सहितको पाँच जनाको उनको परिवारको जीविकोपार्जनको मुख्य स्रोत खेती हो । हाल खोला किनारको एक छेउमा रहेको उनको खेतमा मकै छन्, र उनी अरू बेला धान र दाल पनि रोप्छिन् । हरेक वर्ष, उनी र उनको परिवार बाढीले खेतबारीको सबै उत्पादन लैजाला र खानको लागि केही बाँकी नछोड्ला भनेर डराउँछन् ।
“पोहोर साल मेरी दिदीको खेतमा बाढी पसेर खेतै लगेको थियो । मेरो भान्जाले बाँध बनाएर खेत जोगाउन निकै मिहिनेत गरेको थिए तर केही काम लागेन । त्यसैले अब चुरे उत्थानशील आयोजनाको सहयोगमा बनेको यो तटबन्धले काम गर्छ भन्ने आशा राखेका छौँ । यसले हामीलाई हाम्रो खेतीबाट जीविकोपार्जन गर्न मद्दत गर्नेछ,” उनी भन्छिन् ।
चुरे क्षेत्रमा बसोबास गर्ने मानिसहरूको जलवायु उत्थानशीलतामा सुधार गर्ने उद्देश्यले चुरे उत्थानशील आयोजनाले नदी किनारा स्थिरीकरण संरचनाहरू निर्माण गरिरहेको छ। हालसम्म आयोजनाले कोशी, मधेस र वाग्मती प्रदेशमा ९६ वटा तटबन्धहरू निर्माण गरिसकेको छ, जसबाट ४७ हजार भन्दा बढी मानिसलाई फाइदा पुगेको छ ।
यी तटबन्धहरू प्रायः खहरे खोलाको छेउमा बनाइन्छन्, जुन सुख्खा याममा ढुङ्गा, गिट्टी र बालुवाले भरिएका हुन्छन् । वर्षामा एक्कासि पानी परेसँगै यी खोलामा बाढी आउँछ । हिमालमा उत्पन्न भएर वर्षै भरी बग्ने नदी जस्तो नभएर यी खहरे खोला अप्रत्याशित हुन्छन्, यिनीहरूको मार्ग र मात्रा प्रत्येक वर्ष फरक हुन्छ । वर्षामा प्रायः यिनीहरूले बाटो बदलेर, कटान गरेर नजिकैका घर, बस्ती, संरचना र खेतहरू नष्ट गर्छन् ।
सिन्धुलीको सिस्ने खहरे खोला त्यसको एउटा उदाहरण हो । खरको छानो भएका माटोका घरको एउटा आदिवासी जनजाति बाहुल्य भएको बस्तीको बिचबाट सिस्ने खहरे बग्छ । विगतमा, यो खोलाले धेरै घरपरिवारलाई विस्थापित गरेको थियो, जसमध्ये केही बसाइँ सरेर गाउँको पुछारमा गए भने केहीले बस्ती पूरै छोडेर तराई गए । यस वर्ष, चुरे उत्थानशील आयोजनाले खोलाको छेउमा तटबन्ध निर्माण गर्न मद्दत गरेको छ, जसले ३० घरलाई सुरक्षित गरेको छ। यहाँका बासिन्दा प्रेमबहादुर ठोकरले भविष्यमा बसाइँ सर्नु नपर्ने आशा राखेका छन् ।
“विगतमा खोलामा बाढी आउँदा हामी राती सुत्दैन थियौँ । हामी रात भरी किनारमा गस्ती गर्थ्यौँ, टर्च लाइट बालेर,” ठोकर भन्छन् । “तर यो तटबन्धले हामीलाई राहत दिएको छ । यो वर्ष चाहिँ सुत्न पाइएला कि ।”
चुरे उत्थानशील आयोजनाले प्रायः अति जोखिममा परेका समुदायहरूलाई बाढीलगायत जलवायु परिवर्तनका प्रतिकूल प्रभावहरूबाट जोगाउन काम गर्छ । तीमध्ये एक हुन्, सिस्ने खहरेको किनारमा बस्ने दिलमाया वाइबा । उनी आफ्नो थोरै जमिनमा खेती गरेर, अरूको खेतमा ज्याला मजदुरी गरेर, र बाख्रा पालेर जीविकोपार्जन गर्छिन् । यिनै क्रियाकलापबाट उनले छोरा छोरी र आफूसँगै बस्ने अपाङ्गता भएकी दिदीको लालन पालन पनि गर्छिन् । हरेक वर्ष वर्षामा बाढीले खोलाको किनार भत्काएर घरमा छिर्ने डर उनलाई हुन्छ ।
“यस वर्ष, हामीले धेरै स्रोतहरूबाट रकम उठाएर यो तटबन्ध निर्माण गरेका छौँ । चुरे उत्थानशील आयोजनाले हामीलाई यस तटबन्धको एउटा खण्ड बनाउन मद्दत गर्यो, जसले पक्कै पनि हाम्रा घरहरू ध्वस्त हुनबाट जोगाउनेछ,” उनी भन्छिन् । “महिलाले यो पर्खाल बनाए। महिला र पुरुष मिलेर यसमा योगदान गरे । कत्ति राम्रो, हैन त?” उनी सोध्छिन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए maishirnepal@gmail.com मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।