पीडित मैत्री हुन नसकेको टीआरसी विधेयक

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग, २०७१ लाई संशोधन गर्न वनेको विधेयक संसदबाट पारित भयो । संसदमा राजनीतिक दलका नेताहरूले भावुक भाषण दिए सामाजिक सञ्जालमा लामा लामा स्ट्याटस पोष्टट्याउँदै शान्ति प्रक्रियाको अन्तिम कार्य सम्पन्न भयो । शान्ति प्रक्रियाको नेपाली मोडल भन्दै व्यापक प्रचार प्रसारमा उत्रिए । सामान्य नागरिकलाई ठुलै काम भयो भन्ने पनि लाग्यो । माओवादी द्वन्द्वमा भएका सम्पूर्ण समस्याको समाधान हुन्छ भन्ने मान्यतामा सरकारमा बसेका काँग्रेस, एमाले र तत्कालीन द्वन्द्वरत पक्षले खुवै प्रचार गरी रहेका छन् ।

मार्छौ र मर्छौ भनेर हिँड्नेहरू मारिए । सामान्य नै मान्नु पर्छ । तर यो युद्धमा नि हत्या मारिए, बेपत्ता भए, घाइते भए । माओवादीमा संलग्न पक्ष र राज्यका तर्फबाट संलग्नहरुले त शान्ति सम्झौता पछि केही न केही भरण पोषण पाए । तिनीहरू संलग्न राजनीतिक दल नै संरक्षक छन् । तर निहत्था नागरिक जो विभिन्न बाहानामा मारिए, बेपत्ता भए घाइते भए तिनले के पाए भनेर निगरानी गरी दिने खोजी गरी दिने अथवा संरक्षक पाए राज्यले  दिएको भरण पोषणको काम पनि उनीहरूका बिचमा पुग्यो पुगेन नजिकबाट निगरानी गरी दिने पनि केही भएन / छैन ।

मरिण कपिलाकोटका १३ वर्षका वालक फत्त वहादुर श्रेष्ठलाई सुराकीको आरोपमा माओवादीले अपहरण ग¥यो । केही दिन पछि धमिले चौतारोमा ल्याएर पहिले गोली हानियो ।  पछि घाँटी रेटेर हत्या गरियो । लास गाउँकै बिच रहेको धमिले चौतारामै छाडियो । १३ वर्षको वालकलाई आततायी तवरमा हत्या गर्ने / गराउने कमरेडहरु अहिले पनि बजारमा सगर्व हिँड्छन् । म कहिलेकाहीँ तीनलाई देख्छु र नियाल्छु । तीनमा कत्ती पनि आत्मग्लानि भाव देखिँदैन ।

तीनकन्याका केदार विक लाई माओवादीले कहिलेकाहीँ जिल्ला सदरमुकामबाट सामान ढुवानी गराउने काममा प्रयोग गर्थ्यो । एक दिन सिन्धुली सदरमुकामबाट गएको सेनाले खाना खाँदै गरेका विकलाई घर माथि बाटै गोली हान्यो उनी आँगनमै ढले । केही मिटर तलको खोल्सामा उनलाई गाढेको जस्तो गरेर सरकारी सुरक्षा फौज हिँड्यो । उनका हड्डीखुड्डी स्याल कुकुरले घरको बलेसी सम्मै ल्याएर छाड्यो । केही दिन पछि गएका मानव अधिकारकर्मीले विकको हड्डीखुड्डी बटुलेर गाड्ने काम गरे । विककी श्रीमती त्यस बखत गर्भवती थिन भने पाँच वटा सन्तति सँगै थिए । सबै भन्दा ठुलो सन्तान १२ वर्षका थिए । त्यो समय परिवारको लालन पालकोको जिम्मा विक कै थियो । उनको परिवारले पाएको त्यो प्रकारको असह्य पीडा न सुनिदिने कोही भयो न बुझी दिने कोही भयो । न उनको संरक्षक राज्य भयो या माओवादी नै । ती लालावाला टुहुरा वने । माओवादी युद्धको गहिरो घाउ बोकेर त्यो परिवार अहिले पनि बाँचेको छ । ती लालावाल अहिले युवा भए । तिनीहरूले यो तितो नियति बोकेरै बाँचेका छन् ।

 

सोही दिन त्यही सरकारी सुरक्षा फौजको टोली तीनकन्या कै माथ्लो कुभिण्डे पुग्यो । कोदो कुट्ने खलामा सुँगुर काटेर संक्राती मनाउन मासु भाग लगाउँदै गरेका गाउँले मध्यबाट बलबहादुर र ज्ञानबहादुर रम्तेल दाजुभाइलाई गिरफ्तार ग¥यो । आँखामा पट्टी बाँध्यो । लिएर उकाले चढ्यो । गाउँका मानिस संन्त्रास भएर बाँचे । बेलुका रेडियो नेपालमा सिन्धुलीको तीनकन्यामा दुई जना आतङ्ककारी मारिए भन्दै समाचार प्रसारण भयो । एक हप्ता पछि सिन्धुलीबाट गएका मानव अधिकार कर्मीको टोली पुग्दा सम्म सिङ्गो गाउँमा अन्यौलता र त्रास थियो । गाउँले पूर्ण आतङ्कित थिए, परिवारमा रुवावासी थियो । जिल्लाबाट गएको टोली उनीहरूलाई लगेको बाटो पछ्याउँदै उकालो लाग्यो । गाउँबाट ४५ मिनेट टाढाको महाभारतको सरस्वती दोबाटोकै छेउमा टाउकोमा गोली हानी हत्या गरेर सुरक्षा फौजले लास त्यसै फालेर हिँडेको पाइयो । सिन्धुलीबाट भएको अधिकारकर्मीले त्यो लास गाडेर आयो ।

उक्त घटनाको सम्बन्धमा अधिकारकर्मीको टोलीले गैर न्यायिक हत्या भयो भन्दै प्रशासनमा प्रतिवेदन बुझाउन चाहे तर तत्कालीन प्रमुख जिल्ला अधिकारीले प्रतिवेदन बुझ्नै मानेनन् । उनीहरू पेसाले सदरमुकामबाट भारी बोकेर जीविकोपार्जन गर्दै  आएका थिए । उनीहरू आतङ्ककारी भएरै मारिए । ती निहत्थाको हत्यामा संलग्न सेना प्रहरीका अधिकृत अहिले सायद सेवा निवृत्त भइसके ।

 

सिन्धुली ढुँग्रेबास निवासी चित्रनारायण श्रेष्ठ उ समयका माओवादीका चर्चित नेता हुन् । उनलाई सर्लाहीबाट गिरफ्तार गरेर लगियो निहत्था उनी जनकपुर अञ्चल प्रहरी कार्यालयमा हतकडी लगाएर राखिएको फोटो सार्वजनिक भयो । परिवार अधिकारकर्मीको भगीरथ प्रयत्नका बाबजुद पनि उनको सास न लासको अवस्था रह्यो । उनको गिरफ्तारीमा संलग्न प्रहरी अधिकृत अहिले सेवा निवृत्त भइसके । श्रेष्ठको भने राज्यको नजरमा बेपत्ताकै रूपमा छन् । उनको परिवारमा परेको त्यो प्रकारको मानसिक यातना भोगेर बाँच्न विवश बनाकाएको छ ।

रानिचुरी ५ हाल कमलामाई नगर पालिका १२ का ७६ वर्षका वृद्ध चुनबहादुर बस्नेत गाउँका हुनेखानेमै गनिन्थे । एक दिन चन्दा माग्न माओवादीको एउटा टोली आयो । चन्दा माग्यो । चन्दा दिन्न भन्दा गोली हानेर सुराकीको नाममा हत्या गरियो । ७६ वर्षका वृद्ध वा गतिलो सुराकी बनेर मारिए । मार्ने नेता हामी बिचमै हुन सक्छन् । तिनमा कहिल्यै पश्चात्ताप देखिँदैन ।

माथिका यी केही घटना प्रतिनिधिमूलक हुन । थोरै प्रतिशत घटना मर्छौ र मारिन्छौँ भन्दा भयो होला अधिकांश घटना माओवादी आतङ्ककारी या सिआईडी, सामन्त भन्दै दुवै पक्षले कुनै कुनै रूपमा गम्भीर प्रकारका मानव अधिकार उलङ्घनका घटनामा संलग्न भए ।

आतङ्ककारीको नाममा निहत्था नागरिकको हत्यामा संलग्नहरू राज्यका निकायमा बढुवा भए । कोही सेवा निवृत्त भए । उनीहरूको जीवन गज्जबले चलेको होला । सुराकी, सामन्त या यस्तै नाममा हत्या गर्ने माओवादी कोही युद्धमा मारिई सके भने कोही नेता बनेर अहिले यही समाजमा छन् ।

माओवादी युद्धका क्रममा युद्धरत पक्षका बिच मार्छौ र मर्छौ भन्दा मारिए । तिनी प्रति सहानुभूति सिवाय केही छैन । तर राज्य र तत्कालीन गैर राज्य पक्ष माओवादीले मनोमानी रूपमा गरेका गैर न्यायिक हत्याका घटना प्रति भने गहिरो चासो नागरिकमा छ  । युद्धरत पक्षका गैर न्यायिक कर्महरूका कारण कति मारिए कति बेपत्ता भए कति अंगभंग भएर आज पनि नारकीय जीवन बिताउन बाध्य छन् । ती मारिँदा कत्तिका श्रीमान् एकल वनेका छन् । श्रीमती बिधुवा वनेकी छिन् । साना बालबालिका टुहुरा बनेका छन् । बाबु आमाको बुढेसकालको साहारा खोसियो । कति परिवार अहिले पनि बेपत्ता परिवारको सदस्य लास न सासको अवस्थामा कहाली लाग्दो वर्तमानमा जीवन बाँच्न विवश वनेका छन् ।

अझ एउटा समुदाय यस्तो अवस्थामा हुर्कियो आफ्नो अभिभावक किन मारियो भन्ने मनमा गहिरो प्रश्न लिएर हुर्की रहेको छ । त्यो पुस्ताले मेरो परिवारको एउटा सदस्य किन मारियो या बेपत्ता पारियो भन्ने उत्तर नै नपाई हुर्कियो । ऊभित्रको आक्रोश अहिले पनि समाजमा प्रतिबिम्ब भई रहेको छ ।

हिजोको दिनमा गरिएको मानव अधिकार ज्यादतीका घटना न्यायिक निरूपण निकाय सम्म पुगेकै छैन । पुगेका पनि अभिलेखीकरण फितला छन् । अहिले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग, २०७१ लाई संशोधन गर्न वनेको विधेयक सांसदबाट पारित भयो यो विधेयकले हिजो भएका अमानवीय तथा गैर न्यायिक प्रकृतिका घट्नामा गहिरो गरी छानबिन गर्ने र पीडितले न्याय पाउने कुराको ग्यारेन्टी गर्न सक्ने देखिँदैन । सत्य निरूपणको नाममा मागी खाने भाँडोको अन्त्य गर्नका लागि यो विधेयक सफलता भए पनि युद्धमा वास्तविक रूपमा पीडित भएकाहरूले न्याय पाउने कुराको ग्यारेन्टी गर्न भने विधेयक चुकेको छ । क्रान्तिकारी रोमान्सवादमा आधारित एउटा पङ्क्तिले न्यायिक निरूपण पीडित मैत्री नभए उनीहरू फेरी पनि तयारी अवस्थामा रहेका बन्दुक जस्तै हुन् । राज्य जुनसुकै वेलामा पनि गहिरो हिंसामा जान सक्छ । चेतना भया ।


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए maishirnepal@gmail.com मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर