त्रयमबकेश्वर ज्योतिर्लिङ्ग उत्पत्तिको – कथा

हिमवत खण्डले भने अनुसार गौतम ऋषि को तप स्थल मिथिलामा थियो। एक समय मिथिला राज्यमा वर्षौँ देखि पानी नपरेर हाहाकार मच्चिएको थियो। वर्षा गराउनको लागि गौतम ऋषि र उनकी पत्नी अहिल्या ,वरुण देवको तपस्या गर्दछन् । तपस्या गरेको केही समय पछि प्रसन्न भएर वरुण देव प्रकट हुन्छन्। म तिमी हरूको तपस्या बाट प्रसन्न भए के वर माग्छौ माग भन्नू हुन्छ । ऋषि गौतम र उनकी पत्नी अहिल्याले वर्षौँ देखि पानी नपरेर सारा जीव जन्तु मनुष्य लगायत वनस्पतिहरू लाई ठुलो समस्या परेको छ, त्यस कारण हजुरले ,यस ठाउँमा गंगाको उत्पत्ति गराइदिनु भन्दछन् । वरुण देवले भन्नू हुन्छ,’मैले गंगा को उत्पत्ति गराउन त सक्दिन,तर एउटा कुवामा अक्क्षय जल स्थापना गर्न चाहिँ सक्छु।’ भन्छन् र  अकक्ष्य जल कुण्ड स्थापना गराई  उनी अन्तर ध्यान हुन्छन्। उता अन्य ऋषि पत्नीहरू गौतम ऋषि र उनको पत्नी लाई पहिले देखिनै खुब रिस गर्थे ,झन् यो खबर सुनेपछि त ईर्ष्याले जल्न लागे ,भुतुक्कै भए र ,सोही कुण्डमा जल लिने बहानामा गए ,गौतम ऋषि र उनकी पत्नी गाउँका केटाकेटी हरूलाई भटाभट जल घैलामा भरिरहेको थिए । उनीहरू त्यहाँ पुग्न साथ ती केटा केटीहरूको घैला खोस्न लागे ,पहिले जल हामी लैजाने भनेर गौतम ऋषि र उनकी पत्नी सँग झगडा गर्न लागे। पहिले यिनीहरू आएको ले पहिलो पालो यिनीहरूको त्यसपछि तिमी हरूको पालो भन्दा नमानेर ,उनीहरू जल नलिई फर्क र सबै ऋषि पत्नी हरूले आ आफ्नो बुढा हरूलाई अहिल्याबाट हामी अपमानित भयौ र हामीलाई जल पनि दिएनन्,भनेर उल्टो कुरा लगाएर । उनीहरूको विरुद्धमा आफ्नो ऋषि हरूलाई उठ्न बाध्य बनाए। त्यस पश्चात् सबै ऋषि र उनका पत्नीहरू मिलेर भगवान् गणेश को तप र यज्ञ गरे भगवान् गणेश प्रकट भएर भने- तिमी हरूको तप बाट म प्रसन्न भए के माग्छौ ? माग भन्दा गौतम ऋषि र उनकी पत्नी अहिल्यासंग प्रतिसोध साध्नु छ, उनीहरू दुई लाई केही सजाय दिनु परो ,जसरी हुन्छ यिनीहरूलाई लज्जित पार्नु परो भनेर वरदान मागे। गणेश भगवान् भन्छन् – तिमीहरू आफ्नो लागि वर माग अरूको कुभलो को लागि कुनै वर नमाग भनेर भन्नू हुन्छ। तर पनि उनीहरू मन्जुर हुदैनन,गणेश भगवान् विवश भएर उनीहरूले भने जस्तै वर दिन्छन। अनि ऋषिहरूको भनाई अनुसार भगवान् गणेश वृद्ध रोगी गाई बनेर ,गौतम ऋषिको आश्रम तिर, जान्छन् रोगी गाई आफ्नो आश्रममा आई पुगेपछि   ऋषिले केही खाने कुरा दिन्छन् । त्यो खाने कुरा खाएपछि त्यो गाई मर्छिन्,अनि लुकेर हेरिबसेका सम्पूर्ण ऋषि र उनका पत्नीहरू त्यस स्थानमा आउँछन् र गौतम ऋषि र उनको पत्नी लाई गौहत्याको अभियोग लगाउँछन्,बेइज्जत गर्छन् । गौ हत्याराको मुख समेत हेर्न नहुने, यिनीले ऋषि कर्म गर्न वेद पढ्न अग्नि होम गर्न नमिल्ने भन्दै यस ईलाकाबाट अन्तै लखेट्नु पर्नै बताउँछन् ।

त्यसपश्चात् गाउँ निकाला गर्छन्।उनीहरू एक सय कोष पर गएर बस्छन् । केही दिन पछि थाहा पाएर त्यहाँबाट पनि लखेट्छन् । वेद पढ्न,अग्नि होम तथा सबै ऋषि कर्म गर्न वञ्चित भएपछि,गौहत्याको पाप बाट कसरी मुक्ति पाइन्छ?  भनेर,त्यस ठाउँ छाड्ने बेला अरू  ऋषि हरूलाई गौतम ऋषि सोध्दछन्,ऋषिहरू यस पाप मोचन हुने उपाय बताउँछन्। तीन पटक पुरै पृथ्वी परिक्रमा गरी ,सवा करोड पार्थिव शिव लिङ्ग बनाएर आराधना गरे पश्चात् मात्र यश पाप बाट मुक्त हुन सकिन्छ भनेर भन्छन्। गौतम ऋषि र उनकी पत्नी अहिल्या आफूलाई लगाइएको गौहत्याको पाप बाट मुक्ति पाउन पुरै पृथ्वी परिक्रमा मा हिड्छन।

सिन्धुली जिल्ला कमलामाई नगरपालिका-२ चियाबारी देखी अन्दाजी २ किमी उत्तर गौतमी तट भन्ने स्थानमा गौतमी गंगा (हालको ग्वाङ खोला) को उत्पत्ति स्थल अर्थात् मुहान छ। जगत् गुरु बालसन्त मोहन शरण महाराज ज्युले जानकी मन्दिरको उत्तरी देशान्तर गौतमी गंगा को शिर मा त्रयम्बकेश्वर ज्योतिर्लिङ्ग उत्पत्ति भएको भन्ने शास्त्रीय आधारका रूपमा यश स्थानमा आई हेरी अनुमानित ठाउँमा मिति २०७६ मंसिर २४ गते पार्थिव शिव लिङ्ग त्रयमबकेश्वर ज्योतिर्लिङ्ग नाममा प्राण प्रतिष्ठान गर्नु भएको छ। हो यसै ठाउँमा गौतम ऋषि र उनको पत्नी पृथ्वी तीन पटक परिक्रमा पश्चात् आईपुगेर शिवजी को तप गरेको भन्ने शास्त्रीय आधार भेट्न सकिन्छ।त्यो बेला भगवान् शिवले शिव लिङ्ग अथवा ज्योतिर्लिङ्ग को रूपमा आफूलाई स्थापित गराउनु भएको शिला चाँहि त्यही अनुमानित स्थानको वर पर जमिन मुनि हुनसक्ने विश्वास गर्न सकिन्छ। तर हामीले सक्कली शिलाको दर्शन गर्न भने पुरातत्त्व विभागलाई यस ठाउँमा ल्याई उत्खनन कार्य  गर्न सके पक्कै भेट्न सक्ने सम्भावना हुन्छ।

हुन त! त्रयमबकेश्वर ज्योतिर्लिङ्ग मन्दिर भारतको महाराष्ट्र अन्तर्गत नासिक सहर गोदावरी नदीको तटमा सन १७५५ बाट नाना सायक पेस्वाले निर्माण सुरु गरेर सन१७८६मा कुल१६लाख खर्चमा जीर्णोद्धार सम्पन्न गरेका थिए । काला पत्थरले निर्माण गरेको यस मन्दिर झट्ट हेर्दा उत्पत्ति स्थल भारत नै हो  कि जस्तो पनि लाग्छ। यस मन्दिरको विषयले तपाईँ हाम्रो मनमा विरोधाभास सुरु भने पक्कै हुन्छ। किनकि १२ज्योतिर्लिङ्गको नामले फरक फरक ठाउँमा उत्पत्ति भएको भनिएको स्थान भारत हो भनेर धेरै वर्ष पहिले नै भारतले धाम बनाई सकेको छ।एकै नाम को ज्योतिलिङ पृथ्वी को एक स्थानमा मात्र उत्पत्ति पश्चात् स्थापित भएको शास्त्रीय आधार छ। यहाँ त दुई स्थानको कुरा आयो भारतको एक स्थान र नेपालको एक स्थान गरी २ ठाउँमा एकै नामको ज्योतिर्लिङ्ग उत्पत्ति पक्कै भएको भने थिएन भन्ने लाग्छ ।

पछिल्लो समय गौतम बुद्ध जन्म स्थल नक्कली स्तुपा भारतमा बनाएको घटनाहरू हेर्दा पहिले देखिनै यस्तो विषयमा भारत अगाडि थियो, भन्ने विश्वास हामी सामान्य मानिस लाई पनि लाग्छ। नेपालका शासकहरू निरीह आफ्नो महत्त्वपूर्ण स्थलको संरक्षण र खोज गर्न सधैँ उदासीन हुनुले पनि भारतलाई सहयोग पुग्दछ। अर्को कुरा ज्योतिर्लिङ्ग हाम्रो यही स्थानमा नै उत्पत्ति भएको हो । भन्ने विश्वास किन लाग्छ भने, भारतले त्यस स्थललाई ब्रम्हगिरी पर्वतको फेदी तथा गोदावरी नदीको तट भनेको छ।हुनु पर्ने त! गौतमी नदी को तट नै हो। गौतम ऋषि सँग सम्बन्धित भएपछि,उनै जगद्गुरुको भनाई अनुसार ब्रह्मगिरी पर्वत यसै गौतमी गंगा को शिर लाई भनिन्छ।

प्रशस्त मात्रामा प्रमाण खोज्ने क्रममा मिथिलामा गौतमी नदी छ की छैन भनेर जगत् गुरु शास्त्र पल्टाउनु हुन्छ,बृहत् विष्णु पुराणमा भेट्नु हुन्छ-

।कमला गौतमी संगे ।

तीर्थ कोटि फलं लभे ॥

अर्थात् जहाँ कमला र गौतमी को सङ्गम स्थल छ, त्यहाँ गएर माघमा स्नान गरेमा करोडौ तीर्थमा नुहाएको फल मिल्छ ।यस स्थान हालको कमलामाई मन्दिर भएको ठाउँमा पर्छ यहाँ प्रत्येक सालको पौष मसान्तको राती मेला लाग्दछ। भने माघ १ गते बिहान द्वय गंगाको सङ्गम स्थलमा स्नान गर्नै चलन चलिआएको छ।

अब माथिको कथालाई जोडौँ तीन पटक पृथ्वी परिक्रमा पश्चात् गौतम ऋषि र उनकी पत्नी हालको (ग्वाङ खोला) गौतमी गंगा जगतगुरुले प्राण प्रतिष्ठान गरेको स्थानमा आईपुग्छन। सवा करोड माटोको शिव लिङ्ग निर्माण गरी शिवको आराधना उपासना गर्छन्।  ऋषि पति पत्नीले गरेको जप तप पूर्ण भएपछि भगवान् शिव प्रकट हुन्छन्। र भन्नू हुन्छ ‘म तिमीहरुको त्याग र तपले प्रसन्न छु के माग्छौ माग’, ऋषि पति पत्नी भन्नू हुन्छ हे! शिव हामी लाई गौ हत्याको अभियोग लागेको छ। यस पाप बाट मुक्त गराई दिनुस्! भगवान् शिव भन्नू हुन्छ – तिमीहरुले गौ हत्या गरेका छैनौ, उनीहरुले तिमीहरू लाई झुटो आरोपमा फसाएका हुन, उनीहरु अपराधी हुन म उनीहरूलाई सजाय दिन्छु। त्यस पश्चात् गौतम ऋषि भन्नू हुन्छ,भगवान् उनीहरुलाई सजाय नदिनुस् । आज उनीहरुकै कारण हामीले हजुरको दर्शन पायौँ। नत्र कहाँबाट पाउनु हजुरको दर्शन। त्यसकारण उनीहरु महान् हुन। भगवान् शिव झन् प्रसन्न भएर वर माग भन्नू हुन्छ। गौतम ऋषि भन्छन्। भोलेनाथ जल बिना सारा संसार जलेको छ । कृपा गरेर पृथ्वीमा यसै स्थानबाट गंगालाई उत्पत्ति गराई दिनुस्। अनि जगदको कल्याण हुनेछ । अनि मेरो मनमा शान्ति मिल्ने छ।

भगवान् शिवले आफ्नो जटाबाट गंगालाई अवतरित गर्नु हुन्छ। गंगा माता आफ्नो स्वरूपमा आएर भन्नुहुन्छ।महादेव म त यस स्थानबाट उत्पत्ति हुन्छु। तपाईँ पनि यसै स्थानमा शिलाको रूपमा स्थापित हुनु पर्दछ भनेर।

सर्त राख्छिन् र महादेवले तथास्तु भनेर त्रयमबकेश्वर ज्योत्रिलिङ्गको नामले यश स्थानमा आफूलाई शिलाको रूपमा विराजमान गराउनु हुन्छ। त्रमबकेश्वर अर्थात् ब्रह्मा ,विष्णु र महेश त्रिदेव स्वरुप मा चिरकाल सम्म पुज्जनीय हुनेछ। भने शिव को त्रिनेत्रलाई नै त्रयमबकेश्वर भनिन्छ भन्ने मान्यता पनि छ ।अनि यस गंगाको नाम गौतम ऋषि अथवा उनकी पत्नीसँग सम्बन्धित भएर गौतमी गंगाको नाम बाट संसार ले चिन्ने छ। हाल यस गौतमी गंगा लाई ‘ग्वाङ खोला’ भन्ने गरिन्छ।

चियाबारीबाट २ किलोमिटर उत्तर  गौतमी तट भन्ने स्थानमा अवस्थित पछि निर्मित त्रयमबकेश्वर ज्योतिर्लिङ्ग मन्दिर

सिन्धुलीमाढीबाट करिब ७ किमी उत्तर यस गौतमी तट, स्थान पर्दछ। नेपाल देव भूमि तपोभूमी भएको कुरा सबैलाई जानकारी हुँदा हुँदै ,प्रमाणित गर्न नसकेर तीर्थ स्थल बनाउनु नसक्नु हाम्रो राज्यको कमजोरी पहिले देखि नै हुँदै आएको छ। नेपाल शिर हो, भारत पुच्छर हो। भन्ने कुरा यताबाट उता बगेर गएको नदीको आधारमा पनि,हामी बुझ्दछौ। हामी सभ्यताको जननी हुँदा हुँदै पनि हरेक तीर्थ गर्न भारतै जाने बाध्यतामा राज्यको उदासीनताले गर्दा विवश छौ। केन्द्रीय सरकार तथा स्थानीय सरकारको सक्रियतामा हामीले यस त्रयमबकेश्वर ज्योतिर्लिङ्ग मन्दिर लाई ठुलो धाम बनाएर प्रचार प्रसार गर्न सके ,देव भूमिको सम्मान भगवान् को उपासनाका साथ-साथै आर्थिक उपार्जन समेत हुन सकिन्थ्यो।

पछिल्लो समय जगत् गुरु बालसन्त मोहन शरण महाराजले १२ वटै ज्योतिर्लिङ्ग नेपालकै १२ जिल्लामा छ भनेर शास्त्रीय प्रमाण जुटाई सक्नुभएको छ।हुन त, राज्यको सहयोगविना यो काम सजिलो भने पक्कै होइन।यो कार्यमा भारतले उनी प्रति कुदृष्टि पनि राख्न सक्छ।आज सम्म यसलाई कुनै विद्वानहरूले

शास्त्रीय आधारमा खोज तथा अनुसन्धानको विषय बनाएनन्। किन बनाएनन् ? भारतको नक्कली नियतको अधीनमा परेर हो वा शास्त्र अध्ययन गर्न नसकेर हो? जे भएर भएपनि यो विषयमा जगतगुरु बाल सन्त मोहन शरण महाराज ज्यूलाई मेरो सलाम छ।उहाँ निर्बाध रूपमा यस विषयमा लागि रहनु भएको छ।उहाँले नेपालको १२ वटै स्थानमा रहेको १२वटै ज्योतिलिङलाई प्राण प्रतिष्ठान गर्न लाग्नु भएकोमा सतसत नमन ॐ।


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए maishirnepal@gmail.com मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर