जेलले जन्माएको नेता ‘केपी शर्मा ओली’
काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) का अध्यक्ष केपी शर्मा ओलीको ७१ वर्षे जीवन सङ्घर्षमय छ । उनको वास्तविक नाम खड्गप्रसाद ओली भए पनि राजनीतिमा केपी ओलीको नामबाट परिचित छन् । उनलाई माया गर्नेले ‘केपी बा’ भनेर सम्बोधन गर्छन् ।
नेता ओलीले राजनीतिको शिखरसम्म आइपुग्न ५८ वर्ष लामो सङ्घर्षपूर्ण यात्रा तय गरेको छ । १४ वर्ष कठोर कारावास (जेल) जीवन भोगेका ओली मुलुकको शक्तिशाली पार्टी नेकपा (एमाले) को अध्यक्ष र देशको चार पटक कार्यकारी प्रमुख अर्थात् प्रधानमन्त्री बन्न सफल भएका छन् । निरङ्कुश पञ्चायती व्यवस्थामा ओलीले जीवन नै जोखिममा राखेर राजनीतिक संघर्ष गरे । त्यही संघर्षबाट प्रतिबन्धित पार्टीको एउटा साधारण तहको कार्यकर्ताबाट ओलीले पार्टी र देशको नेतृत्वको यात्रा सुरु गरेका हुन्।
ओलीको राजनीतिक जन्म झापा आन्दोलनको सिर्जना र कठोर भूमिगत सङ्घर्षको गर्भबाट भएको हो । देशभक्ति, लोकतन्त्र, सामाजिक जागरण र विकासको भावधाराबाट विकसित नेपालको कम्युनिस्ट आन्दोलनलाई व्यवहार र आचरणको सङ्गति कायम गर्न ओली सफल भएका छन् ।
मृत्युदण्डको तरबार
निरङ्कुश शासन सत्ताले टाउकोमाथि हरेक क्षण मृत्यु दण्डको तरबार झुण्ड्याएको एक बन्दी हुँदा होस् वा मुलुकको कार्यकारी प्रमुखका रुपमा सिंहदरबारमा आसीन हुँदा– ती दुबै ठाउँमा उहाँ एउटै उद्देश्यमा समर्पित भए।
तेह्रथुम जिल्लाको आठराई इवा गाउँको साधारण किसान परिवारमा बुवा मोहनप्रसाद ओली र आमा मधुमाया ओलीबाट वि.सं. २००८ साल फागुन ११ गते उनको जन्म भयो । चार वर्षको उमेरमै आमा मधुमाया ओलीको निधन भएपछि उनी मातृस्नेहबाट विमुख भए । आमाको स्नेही काख गुमाएका ओलीको पालनपोषण हजुरआमा राममाया ओलीबाट भयो । ग्रामीण किसान परिवारमा जन्मेर गाईवस्तु चराउने, घाँस काट्ने, खाना पकाउने, भाँडा माझ्ने सबैजसो काम गरे ।
१० पटक गिरफ्तार
तेह्रथुम छाडेर २०२० सालमा उनको परिवार झापा बसाइँ सर्यो । नयाँ ठाउँमा नयाँ साथी फेला परे । नयाँ ठाउँमा नयाँ साथी भेट्दा समाजका चालचलन र वरपरका घटनाबारे जिज्ञासा र प्रश्नहरु जन्मिन्छन् । हरेकजसो विषयमा जिज्ञासा राख्ने स्वभावले ओलीलाई समाजभित्र हुने हेलाहोचो, भेदभाव र पक्षपातका प्रश्नको उत्तर खोज्नतिर प्रेरित गर् यो ।
एकातिर मनमा उब्जिँदै गरेका जिज्ञासा र अर्कोतिर सङ्गतमा आएका नयाँ साथीसँगको सहकार्यले उहाँमा राजनीतिक चेतको विकास भयो । यसैक्रममा १५ वर्षीय किशोर उमेरमै २०२३ सालमा उनी मार्क्सवादी अध्ययन दलमा सामेल भए । यसमा मुख्य अगुवा थिए-रामनाथ दाहाल । दाहाललाई पञ्चायती सरकारले जेल सार्ने बहानामा सुखानीको जङ्गलमा लगेर गोली हानी हत्या गर् यो, जो झापा आन्दोलनका शहीद हुन् ।
मार्क्सवादी अध्ययन दलमा सामेल भएको दुई वर्षमै २०२५ सालमा ओली पूर्णकालीन राजनीतिमा सामेल भए । त्यतिबेला उनी १७ वर्षको थिए । त्यसको एक वर्षमै २०२६ साल माघमा उनले नेपाल कम्युनिस्ट पार्टीको सदस्यता पाए । पार्टी सदस्यता पाएको वर्ष नै पहिलो पटक उनी गिरफ्तारीमा परे । त्यसपछिका चार वर्षको अवधिमा ओलीलाई सरकारले १० पटक गिरफ्तार गरेको थियो ।
झापा बसाइँ सरेपछि ओलीका बुबा मोहनप्रसाद ओली एउटा विद्यालयको जग्गा ठेक्कामा लिएर खेती किसानीमा लागे । जग्गा भाडामा लिएर खेती गर्दा राम्रै कमाइ भइरहेको थियो, तर खोला पसेर जग्गा बगायो । त्यसपछि राम्रै आम्दानी भएको परिवार झण्डै सुकुम्बासीको स्थितिमा पुग्यो । त्यसबेला ओलीले खेती किसानीमा बुवालाई सघाए ।
परिवारको आर्थिक अवस्था सम्हाल्न आफैंले काम गर्नुपर्ने अवस्था भए पनि उनी भूमिगत राजनीतिमा सामेल भइसकेका थिए । जुन समयबाट केपी शर्मा ओलीको निजी पारिवारिक जीवन अनिश्चित बन्दै गयो र कम्युनिस्ट पार्टीको जीवनले नयाँ सिंढीमा पाइला टेक्यो ।
देशमा निरंकुश पञ्चायती व्यवस्था थियो, जनतामा राजनीतिक दल खोल्ने, बोल्ने, लेख्ने अधिकार थिएन । स्वतन्त्र राजनीतिक चेतनाका लागि समाज कठोर कारागारजस्तै थियो । न्याय र समानताको माग गर्दै ओलीको नेतृत्वमा झापा आन्दोलन सङ्गठन कमिटी गठन भएपछि पञ्चायती शासनले त्यसमाथि तीव्र र कठोर दमन गर्यो । ओलीलगायत झापा आन्दोलनका क्रान्तिकारी नेता २०३० साल असोज २३ गते पक्राउ परे ।
१४ वर्ष कारावास
ओलीले चार वर्ष गोलघरको यातनासहित १४ वर्ष लामो कठोर कारावास जीवन बिताए । उनका पाँचजना सहयोद्धालाई जेल सार्ने बहानामा सुखानीको जङ्गलमा लगेर गोली हानी हत्या गरियो । जेल सार्ने बहानामा ओलीको पनि हत्या गर्ने प्रयास प्रहरीका सवइन्स्पेक्टर मोहनप्रसाद अधिकारीका कारण सफल हुन सकेन ।
जेलभित्रको पनि जेल मानिने गोलघर जनी मानसिक स्थिति बिग्रेकालाई राखेर यातना दिइन्थ्यो, त्यहाँ राखेर उनलाई चरम यातना दिइयो । उनकी धर्मपत्नी राधिका शाक्यले जेल जीवनमा दिइएको यातनाबारे लेखेकी छिन्, ‘‘गोलघरभित्र उनलाई सिधा उभिन, खुट्टा तन्काएर सुत्न, दिसा पिसाबका लागि बाहिर जान छुट थिएन । त्यहीँ खाने, त्यहीँ शौच गर्ने, दुर्गन्धयुक्त गोलघरको छिँडीमा मुसाले फोहोर छिटेर लडाइँ गर्थे । शौचालयको सेफ्टी ट्याङ्कीबाट दिसा निकालेर मुसाले जीउभरि फोहर पारिदिन्थे । ओढ्ने–ओछ्याउने लुगा हरहमेसा ओसले भिजेको अवस्थामा हुन्थ्यो ।’’
संयोगवश मृत्युको मुखबाट फर्किका ओली जेलमै रहँदा २०३५ साल पुस ११ मा गठित नेपाल कम्युनिस्ट पार्टी (माले) को संस्थापकको हैसियतमा रहे । जेलभित्र निर्मम यातनाको सामना गरिरहेको एउटा नेताले जेल बाहिर ठूलो राजनीतिक उथलपुथल सिर्जना गर्न सफल रह्यो ।
२०४४ साल असार ११ गते जेलबाट रिहा भएपछि सोही वर्षको पुस २ मा बसेको नेकपा (माले) को केन्द्रीय कमिटी बैठकले उनलाई केन्द्रीय सदस्यमा मनोनयन गर्यो र पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलन परिचालन गर्न लुम्बिनी अञ्चल इन्चार्जको जिम्मेवारी तोक्यो ।
नेपाली कांग्रेस र नेकपा (माले) समेतको नेतृत्वमा सञ्चालित २०४६ सालको जनआन्दोलनले निरङ्कुश पञ्चायती व्यवस्था पराजित भएपछि २०४७ जेठ १ गते ओली पार्टीको युवा संस्था प्रजातान्त्रिक राष्ट्रिय युवा संघ, नेपालको संस्थापक अध्यक्ष बने ।
२०४७ पुस २२ गते नेकपा (माले) र नेकपा (मार्क्सवादी) बिच पार्टी एकीकरण भएर नेकपा (एमाले) बन्यो र एकीकृत पार्टीमा ओली केन्द्रीय सदस्य बने ।
सफल गृहमन्त्री
बहुदलीय व्यवस्थाको स्थापनापछि २०४८ सालमा भएको आम निर्वाचनमा संसद्को तल्लो सदन प्रतिनिधिसभाको सदस्यमा ओली झापा–६ बाट र त्यसको तीन वर्षपछि भएको मध्यावधि निर्वाचनमा झापा–२ बाट उनी प्रतिनिधिसभा सदस्य चुनिए । यसबिचका विभिन्न समयमा पार्टीको पोलिटब्यूरो सदस्यसहित विदेश विभाग, प्रचार विभाग र संसदीय विभाग प्रमुखको जिम्मेवारीमा रहे ।
ग्रामीण वर्ग सङ्घर्षको गर्भबाट राजनीतिक जन्म लिएका ओली निरङ्कुश व्यवस्थाविरुद्धको कठिन सङ्घर्षबाट खारिँदै बहुदलीय व्यवस्था प्राप्तिपछि २०५१ सालमा पहिलो पटक मुलुकको गृहमन्त्री भए । मनमोहन अधिकारीको नेतृत्वमा बनेको प्रथम जननिर्वाचित कम्युनिस्ट सरकारमा उनले सफल गृहमन्त्रीको मानक स्थापित गरे।
कामकै दौरानमा बाढी प्रभावित क्षेत्रको निरीक्षण गरेर नेपालगञ्जबाट फर्किंदा प्रधानमन्त्री मनमोहन अधिकारीसहित गृहमन्त्री केपी शर्मा ओली हेलिकोप्टर दुर्घटनामा परेका थिए । पाइलट किशेन्द्रबहादुर शाहीको कुशलताका कारण उनीहरू दुर्घटनाबाट बच्न सफल भएका थिए ।
२०५४ माघमा भएको नेकपा (एमाले) को छैठौं राष्ट्रिय महाधिवेशनमा ओलीले प्रस्तुत गर्नुभएको ‘शक्ति सञ्चय’ को कार्यनीति महाधिवेशनले अत्यधिक मतले पारित गरेको थियो । महाधिवेशनबाट ओली पार्टी स्थायी कमिटी सदस्य र विदेश विभाग प्रमुखमा चुनिए ।
जनकपुरमा २०५९ सालमा भएको पार्टीको सातौं राष्ट्रिय महाधिवेशनमा ओलीले पार्टीको आन्तरिक लोकतान्त्रिकरण गरी बहुपदीय प्रणालीमा जाने प्रस्ताव प्रस्तुत गरेका थिए । तर, महाधिवेशनले उक्त प्रस्ताव अर्को महाधिवेशनसम्मका लागि भन्दै स्थगित गर्यो । जुन प्रस्तावलाई २०६५ सालमा बुटवलमा भएको आठौं राष्ट्रिय महाधिवेशनले पारित गर्यो । उनको प्रस्तावलाई महाधिवेशनले पारित गरे पनि उनी पार्टी अध्यक्षमा तत्कालीन अध्यक्ष झलनाथ खनालसँग झिनो मतान्तरले पराजित भए ।
मुख्य नेता जो भए पनि ओलीको नीतिगत दिशानिर्देशमाथि पार्टी कार्यकर्ताको भरोसा रहेको कुरा आठौं राष्ट्रिय महाधिवेशनले स्थापित गर्यो । त्यस परिघटनाले उनलाई समाजको पदचाप बुझ्न सक्ने नेताका रुपमा नेकपा (एमाले) को कार्यकर्ता पङ्तिले अनुभूत गरेको पाइन्छ ।
उग्रवामपन्थी अतिवादले सिर्जना गरेको दबदबा र त्यसभित्र निहित दक्षिणपन्थी अवसरवादको आधारभूमिलाई ओलीले समयमै बुझेको कुरा नेपालको सिङ्गो राजनीतिक वृत्तमा महसुस हुन थाल्यो । त्यस बिन्दुबाट केपी शर्मा ओलीको परिचय पार्टीको मात्र नेता नभएर देशको समग्र राजनीतिक वृत्तको ध्यान खिच्ने र आफ्नो मार्गदर्शनमा हिँडाउन सक्ने नेताका रुपमा स्थापित भए ।
उपप्रधानमन्त्री र विदेशमन्त्री
२०५६ मा झापा ६ बाट प्रतिनिधिसभा सदस्यमा पुनः निर्वाचित भएका ओली संसद्मा संसदीय दलको उपनेतामा निर्वाचित भए। २०६३ सालको जनआन्दोलनले राजतन्त्रको अन्त्य गरी गणतन्त्र स्थापना गरेपछि ओली उपप्रधानमन्त्री र विदेशमन्त्री बने । ओली २०५७ देखि हालसम्म अफ्रो एसियन पिपुल्स सोलिडारिटी अर्गनाइजेशन नेपालको अध्यक्ष छन् ।
२०७० मंसिरमा झापा–७ बाट संविधानसभा सदस्यमा निर्वाचित भएका ओली त्यसलगत्तै माघमा भएको संसदीय दलका नेता चयनका लागि भएको निर्वाचनमा पार्टीका तत्कालीन अध्यक्ष झलनाथ खनाललाई पराजित गर्दै संसदीय दलको नेतामा निर्वाचित भए ।
अध्यक्ष र प्रधानमन्त्री निर्वाचित
२०७१ साउनमा सम्पन्न पार्टीको नवौं राष्ट्रिय महाधिवेशनमा तत्कालीन वरिष्ठ नेता तथा लगातार १५ वर्षसम्म पार्टीको एकल नेतृत्व गर्नुभएका माधवकुमार नेपाललाई पराजित गर्दै ओली पार्टी अध्यक्षमा निर्वाचित भए । पार्टी अध्यक्षमा उनी निर्वाचित भएपछि पार्टीको भूमिकाको प्रभावकारिता बढेको आम राजनीतिक वृत्तमा चर्चा हुने गरेको थियो ।
पार्टीको आन्तरिक राजनीतिमा ओलीको निर्णायक हैसियतमा वृद्धि भएसँगै २०७२ असोज २५ गते उनी पहिलो पटक मुलुकको प्रधानमन्त्रीमा निर्वाचित भएका थिए । राष्ट्रको स्वाधीनता र स्वाभिमानमाथि बाह्य पक्षको थिचोमिचो हुँदा दृढतापूर्वक उभिने ओलीको विदेश नीति सबैसँग मित्रताको पक्षमा मुखर हुने गरेको छ ।
नेपालको परराष्ट्र नीति ‘सबैसँग मित्रता, छैन कसैसँग पनि शत्रुता’ भने झैं अध्यक्ष ओलीले भनेका थिए, ‘‘हामी सबैसँग मित्रता चाहन्छौं । हामी समानताका आधारमा, न्यायका आधारमा, अन्तर्राष्ट्रिय उत्तरदायित्वका आधारमा मित्रता खोज्दछौं ।’’
सरकारमा साझेदारी गरेको नेकपा (माओवादी केन्द्र) ले आफू सम्मिलित ओली नेतृत्वको सरकारलाई ढाल्न अविश्वास प्रस्ताव राख्यो । २०७३ साउन १९ गते संसद्लाई सम्बोधन गर्दै ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिए ।
यही पृष्ठभूमिमा २०७४ सालको आम निर्वाचनपछि नेकपा (माओवादी केन्द्र) समेतको समर्थनमा ओली २०७४ फागुन ३ गते दोस्रो पटक प्रधानमन्त्री नियुक्त भए । यसै अवधिमा उनले २०७८ वैशाख ३० गते पुनः प्रधानमन्त्री पदको शपथ लिए। पार्टीमा आएको विग्रह र सर्वोच्च अदालतको फैसलापछि उनी २०७८ असार २९ गते पदमुक्त भए ।
सरकारमा हुँदा गरेको नाकाबन्दीको सामना, चीनसँगको पारवहन सन्धि, लिम्पियाधुरा–लिपुलेकसम्मको छुटेको भूभागलाई समेटेर जारी गरिएको देशको नयाँ नक्सा, विकास निर्माणका काममा तीव्रता, सामाजिक सुरक्षाका कार्यक्रम उनकै नेतृत्वमा सम्भव भएका हुन् ।
दोस्रो पटक प्रधानमन्त्री नियुक्त भएपछि ओलीको पहलमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बिच २०७५ जेठ ३ गते पार्टी एकीकरण भयो । पार्टी एकीकरणको नियत र गन्तव्यमा भने ओली र अन्य केही नेताका बिच भिन्नता रहेको तथ्य झण्डै तीन वर्षपछि भएको पार्टी विभाजनले पुष्टि गर्यो ।
‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानको नेतृत्वकर्ता
२०७८ मङ्सिर १० गते चितवनमा भएको दशौं महाधिवेशनबाट ओली दोस्रो कार्यकालका लागि पार्टी अध्यक्षमा निर्वाचित भए । राजनीतिक उतार चढावसँगै उनी २०८१ असार ३० मा चौथो पटक प्रधानमन्त्री पदमा नियुक्त भए।
अध्यक्ष ओली ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानको नेतृत्वकर्ता हुन् । चौथो पटक प्रधानमन्त्री बन्नु भएका ओलीले यसअघि नै घोषणा गरेका छन्, ‘‘हामी समृद्ध नेपाल, सुखी नेपालीको गन्तव्य तोकेर, त्यसलाई हाम्रो राष्ट्रिय आकाङ्क्षा निर्धारण गरेर प्राप्त गर्ने अभियानमा लागेका छौँ । देशका विभिन्न शक्ति जो सही ढङ्गले लोकतन्त्र, राष्ट्रियता, सुशासन, लोकतन्त्रको यथार्थ अभ्यासको पक्षमा काम गर्न चाहन्छन् । जो समृद्धि, सामाजिक न्याय र समानताका लागि काम गर्न चाहन्छन्, जो सामाजिक सद्भाव वृद्धि गर्ने कुरामा काम गर्न चाहन्छन् र राष्ट्रिय एकता कायम गर्न चाहन्छन् । ती सबै शक्ति र व्यक्तिसँग पनि हामी मिलेर काम गर्न चाहन्छौँ।’’ गोरखापत्र अनलाईन बाट साभार
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए maishirnepal@gmail.com मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।