साधकलाई बाधक बनेको सिन्धुलीगढी युद्ध संग्राहलयको गेट!

सिन्धुलीमाढी बाट ४ हजार ६ सय ४८ फिट उचाइ रहेको महाभारत शृङ्खला अन्तर्गत पूर्व पश्चिम लमतन्न भएर फैलिएको स्थान हो सिन्धुलीगढी ।यसै गढीको उत्तरतर्फबाट बगेकी अधेरी खोला खुर्कोट पुगेर सुनकोसी नदिमा समाहित हुन्छिन् ।दक्षिण पश्चिम बाट धनमना खोला बगेर मरिण खोलामा आफ्नो एकल यात्रालाई मिसाउँछिन् भने,दक्षिण पूर्वबाट गौमती गङ्गा हाल अपभ्रस (ग्वाङखोला) बग्दिछिन।

एक पटक भगवान् शिव पृथ्वीको १२ ठाउँमा भौतिक रूपमा उपस्थित हुनुभएको कथा अनुसार यस गौमति गङ्गा (ग्वाङ्ग खोला) को शिरमा त्रम्बकेश्वर ज्योतिर्लिङ्ग नामले उत्पत्ति भएको नेपालका जगत् गुरु बाल सन्त मोहन शरणज्यूले शास्त्रीय आधारको रूपमा प्रमाणित गरी सोही स्थानमा केही वर्ष अगाडि हामी स्थानीय लगायत जगत् गुरुको उपस्थितमा त्रम्ब्केस्वर जोर्तिलिङ्गको स्थापना गरी प्राण प्रतिष्ठान गरिएको थियो, र यस गौमती गङ्गाले पनि कमलामाई खोलामा पुगेर आफूलाई समाहित गर्छिन् ।

यसै गढीको पूर्वतर्फ अन्दाजी ५ किमी अग्लो डाँडामा सुर्जापति भूमेको थान छ । धेरै समय पहिले जमिन फोरेर आफै उत्पत्ति भएको सुर्जापति भूमेको शिला पहिलेको भन्दा अलि बढ्दै बढ्दै गएको छ भनेर, स्थानीय जानकार तथा धामी झाक्रीहरु बताउँछन् ।यस स्थानमा वर्षमा दुई पटक वैशाखी पूर्णिमा र मङ्सिर पूर्णिमाको दिन मेला लाग्ने गर्दछ । यस सुर्जापती भूमेलाई बोका तथा कुखुराको भाले बलि दिने चलन छ । यस भुमेथान आसपासका मानिसहरूले भूमे सङ शान्ति,शक्ति,रोगब्याध नलागोस् भनेर पुकार्दछन् , र खडेरीको मौसममा पानी परोस् भनेर मागेको केही दिनमा वर्षा भएको स्थानीयहरू बताउँछन् । वर्षमा दुई मुख्य तिथि बाहेक अन्य समयमा पनि स्थानीयहरू यस भुमेथानमा पूजाआजाको लागि जाने गर्दछन् । यसै स्थान बाट १०/१५ मिटर पूर्व बाघ भैरवको एक औला जति आँ गरेको मुख बाको जस्तो देखिने ढुङ्गाको शिला छ। यस बाघ भैरवलाई धूप अक्षता चढाउनुको साथै आ गरेको मुखमा धागोको काटेको बत्ती घ्यु अथवा तेलमा भिजाई बालेर राख्दिने चलन छ।

सिन्धुलीगढी स्थित काभ्रोको जरै जरा भएको ध्वान्द्री परेको रुखमा रहेको शिद्धबाबा मन्दिर  जहाँ  साधकहरु साधनाको लागि जाने गर्दछन्।

, जगदीश घिमिरेको उपन्यास (सकस) लाई आधार मान्ने हो भने सिन्धुली गढीमा नेपाल र नेपालीले युद्ध जितेको मिति विक्रम संम्बत १८२४ असोज पन्ध्र गते लाई मान्नुपर्छ । सिन्धुली गढी हाल बनाएको मुख्य गेटबाट १०/ १५ मिटर अगाडि एउटा कङक्रिटले नव निर्माण गरेको मन्दिर आउँछ। त्यस मन्दिर नजिकै एउटा काभ्रोको जरै जरा भएको ध्वान्द्री परेको रुख छ ।त्यही रुखको जरामा पुरानो मन्दिर छ । त्यही मन्दिरमा शिद्धबाबा विराजमान हुनुहुन्छ। पछि माथि बनाएको मन्दिरमा प्राण प्रतिष्ठान गरिएको छैन,दैबी ऊर्जा यश नयाँ मन्दिरमा नभएको, मुख्य ऊर्जा त्यही उत्पत्ति स्थल रुखको जरामा पाइन्छ ।जुन ऊर्जाको आवास साधकले ध्यान गर्दा अनुभूत गर्छन्।

यस स्थानमा शिद्धबाबाको उत्पत्ति कहिले कसरी भयो भन्ने बारे ठ्याक्कै भन्न नसके पनि बुढापाका तथा लेखकले आफ्नै अग्रजहरू बाट सुने अनुसार सत्य युगमा सुनकोसी नदी खुर्कोट बाट हालको बारा र अधेरी खोला हुँदै निगाले फेदी सम्म आई पुगे पछि सिद्धबाट प्रकट हुनुभएर एउटा खुट्टा भुमेथान डाँडा र अर्को खुट्टा गढी बाट पश्चिमतर्फको डाँडामा टाङ फारेर हे गङ्गा! तिमी चेली हौ,यदि तिमी यहाँबाट जाने हो भने मेरो टाङ मुनि बाट जाऊ हैन भने उतै फर्क,म लगायत धेरै देवी देवताहरूको यस भेगमा उत्पत्ति स्थल पर्दछ ।त्यस कारण तिमिलाई म यता बाट बग्न दिन्न भनेपछि सुनकोसी गंगा उतै फर्केर हाल बगिरहेको ठाउँ बाट बगिन ।भन्ने किम्बदन्ती रहेको छ।

जय प्रकाश मल्लको आग्रहमा उनलाई सहयोग गर्न २६ अगस्ट १६६७ मा पटनाबाट २४०० फौज लिएर नेपाल हिँडेको किन्लक २३ दिनमा सिन्धुलिमाढी आइपुग्यो । आढ र सेल्टरहरू बनाई स्थानीय हातहतियारका साथ युद्ध लड्न तयार भएको हाम्रो सेनाहरूसँग, स्वचालित हतियार नभए पनि जमिन,सिस्नु,अल्लो र अरिङ्गालहरूले साथ दिएका थिए, युद्ध कौशलमा पूर्ण हाम्रो सेना छदै थियो ।त्यसको अलवा त्यही विराजमान सिद्धबाबाको शक्ति र असीम कृपाको कारण पनि त्यो लडाई जितेको कुरा केही बुढापाकाहरूको मुख बाट सुनिएको थियो ।यस स्थल बाट दक्षिण पट्टी ढुङ्रेभन्ज्याङ्गको डाँडामा भद्रकाली शक्ति पीठ पर्दछ ।भनिन्छ किन्लक त्यो शक्ति पीठबाट आफू अगाडि बढ्न नसकेर सिपाहीहरूलाई मात्र अगाडि बढाएका थिए।

दोस्रो घटना २०५२ साल फागुन १ गते मध्य राती तत्कालीन विद्रोही माओवादीले जनयुद्धको नाममा देशको तिन वटा प्रहरी चौकी एकैसाथ आक्रमण गरे। त्यसमा यसै स्थानमा रहेको सिन्धुलीगढी प्रहरी चौकीमा पनि हमला भयो । सिद्धबाबा मन्दिरबाट कम्तीमा५० मिटरको दुरीमा रहेको त्यस सिन्धुलीगढी प्रहरी चौकीमा माओवादीले आक्रमण गर्दा प्रहार गरेको सकेट बम यसै सिद्धबाबाको शक्ति र असीम कृपाले नपड्किए र प्रहरी कर्मचारीहरू आफ्नो ज्यान बचाउन सफल भएका थिए। ।

सिन्धुलीगढी दरबार पुनः निर्माण गर्नुअघि यस शिद्धबाबा शक्ति पीठमा साधु ,सन्त ,साधक तथा सर्वसाधरण भक्तजनहरू जुनसुकै समयमा पनि दर्शन गर्न जान सक्थे । केही वर्ष अघि यस सिन्धुली गढी पुनः निर्माण कार्य सम्पन्न भएर युद्ध सङ्ग्रहालय आम सर्वसाधरणलाई पनि हेर्न खुल्ला गरेपछि यस गढीलाई चारै तर्फबाट काँडे तारले घेरिएको । त्यस पछि मुख्य द्वारबाट मात्र टिकट लिएर निश्चित समयमा भित्र जाने र बाहिर आउने बनाइएको हुनाले मन्दिर दर्शन गर्नेको लागि जाने भक्तजनहरूलाई पनि टिकट काटेर मात्र मन्दिर दर्शन गर्न जानुपर्ने नियम बनाइयो । भक्तजनहरू दर्शनको लागि,साधकहरू साधनाको लागि शक्ति पीठमा जुनसुकै समय विशेष गरी बिहानको समय जाने गरिन्छ तर यहाँ बिहान १० बजे देखि बेलुकी ५ बजेसम्मको समयमा मात्र भित्र छिर्न पाइने र महिनाको अन्तिम बुधवार त पुरै कार्यालय बन्द हुने भएकोले टाढा टाढा बाट मन्दिर आएका भक्तजनहरू दर्शन नै नगरी फर्किनु पर्ने अवस्थाले भक्तजन र साधकहरूका लागि यो नियम बाधक बनेको छ ।

सिन्धुलीगढी ऐतिहासिक स्थलको साथसाथै धार्मिक स्थल पनि हो । ऐतिहासिक तथा धार्मिक पर्यटनलाई फलाउन फुलाउन तथा मौलिक संस्कृतिको जगेर्ना गर्न स्थानीय सरकारले सर्वप्रथम सिद्धबाबा शक्ति पीठमा भक्तजन आम सर्वसाधरण तथा साधकहरू सो इच्छाले जुनसुकै बेला बिना शुल्क निर्बाध जान सक्ने व्यवस्था गरियोस् । मन्दिरमा मात्र आउनेहरूलाई मन्दिर जाने अलग बाटो बनाउन सके र सङ्ग्रहालय दृश्य अवलोकन गर्ने र मन्दिर पनि दर्शन गर्ने चाहानेहरुलाई दुवै विकल्प व्यवस्था मिलाउन सके र मन्दिरको भेटी सङ्कलन गरेर सदुपयोग गर्न सके हाम्रो सिन्धुलीगढी धार्मिक तथा ऐतिहासिक स्थलको संरक्षण र संवर्द्धन हुने थियो कि?

 

 

 


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए maishirnepal@gmail.com मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर