स्पष्ट योजना सहित आउनुस बजेट छुट्ट्याउन गोलन्जोर गाउँपालिका प्रतिबद्ध छ: अध्यक्ष बराल

ग्वाल्टार।सिन्धुलीको गोलन्जोर गाउँपालिकाका अध्यक्ष शंकर राज बरालले रोजगारी सिर्जना गर्ने स्पष्ट योजना सहित आए बजेट छुट्याउने प्रतिबद्धता जनाएका छन्।

गाउँपालिकाले आयोजना गरेको रोजगार संवाद तथा स्थानीय रणनीति सम्बन्धी अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष बरालले सो कुरा बताएका हुन।

उद्घाटन कार्यक्रमलाई  सम्बोधन गर्दै अध्यक्ष बरालले भने, ‘गाउँपालिकाको विकास र संवृद्धि कृषि पर्यटन बाट मात्रै सम्भव हुने भएकाले  आगामी दिनमा स्पष्ट योजना सहित आउन आग्रह गर्दछु । अनि सोही योजना अनुरूप बजेट विनियोजन गर्ने छु।’  स्थानीय स्तरमा रोजगारी सिर्जनाको लागि आफू सधैं प्रतिबद्ध रहेको छु उनले भने।

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत स्थानीय तहले कसरी रोजगारीका अवसरहरू सिर्जना गर्न सकिन्छ भन्ने उद्देश्यले आगामी रणनीति बनाउन सिडस नेपाल र वर्ल्ड भिजनको साझेदारीमा गाउँपालिकाले रोजगार संवाद तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो।

शुक्रवार ग्वाल्टारमा भएको अन्तरक्रिया कार्यक्रममा गैरसरकारी संस्था, सहकारी क्षेत्र, गाउँपालिका भित्र कार्यरत निर्माण व्यवसायी, राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज, सञ्चारकर्मी र विषय विज्ञको सहभागिता रहेको रोजगार संयोजक शरद प्याकुरेलले जानकारी दिए।

संवाद कार्यक्रममा सुरक्षित आप्रवासन परियोजना (सामी) परियोजनाका कार्यक्रम संयोजक के आर विजय ले वैदेशिक रोजगारीका समस्या चुनौती र त्यसले समाजमा पारेको असरको बारेमा आफ्ना धारणहरू राखेका थिए।

त्यसै गरी गोरखापत्र दैनिकका वरिष्ठ पत्रकार दीपक श्रेष्ठले  गाउँपालिकाले नागरिकले प्रत्यक्ष रोजगारी पाउने क्षेत्रहरूको पहिचान गरेर लगानी गर्नुपर्नेमा जोड दिए। स्थानीय सरकारले रोजगारीका  क्षेत्रहरू पहिचान गर्न नसकेको हुँदा राज्यको करोडौँ लगानी अनुत्पादक क्षेत्रमा प्रयोग भएको उनले बताए। गोलन्जोर गाउँपालिका यातायातको हिसाबले होटल, रेस्टुरेन्ट, रिसोर्ट, सुनकोसीमा जलयात्रा र धार्मिक पर्यटन लगायत विभिन्न क्षेत्रहरूको पहिचान गरेर लगानी भित्र्याउन सकिने श्रेष्ठको भनाइ छ।

यता समाजसेवी तथा वरिष्ठ पत्रकार डण्ड गुरुङले गोलनन्जोरको समृद्धिको लागि कृषि र पर्यटन विकास नै रोजगारी सिर्जनाको मुख्य आधार रहेको धारण व्यक्त गरे। तरकारी, माथिल्लो क्षेत्रमा जुनार सुन्तला, कफी,अलैँची लगायत मसला बाली र तल्लो भागमा फलफूलको विस्तारमा स्थानीय सरकारको ध्यान केन्द्रित गर्नुपर्ने औँल्याए।

त्यस्तै गाउँपालिकाका उपाध्यक्ष ज्वाला प्रसाद न्यौपानेले अब, बाटोको नाममा माटो खन्ने काम बन्द गर्ने बताए। समापन सत्रमा बोल्दै उपाध्यक्ष न्यौपानेले आगामी नीति तथा कार्यक्रमबाट रोजगारीको क्षेत्रको पहिचान गरेर बजेट लगानी गर्ने  प्रतिबद्धता जनाएका छन्।

 

 

 

 

 


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए maishirnepal@gmail.com मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर