चुरे दोहनमा लोभी आँखा

मैले चिनेको पहिलो पहाड चुरे हो । हाम्रो घर चितवन गीतानगरको दक्षिणमा चुरे पर्वत छ, जुन छिचोलेर माडी पुगिन्छ । माडीको दक्षिणमा सोम्मेश्वर पहाड छ । हामी सानोमा ‘को चढ्न सक्छ चुरे, सक्दैन भारेभुरे’ भन्दै भाइबहिनीलाई जिस्क्याउँदै दौडिन्थ्यौं । २०४० सालतिर एक दिन बारा जिल्लाको सदरमुकाम कलैयाबाट बोधवनमा धान बाली लगाउन जाँदैगर्दा बाटोमा सिमसिम पानी मात्रै पर्दै थियो । पसाहा खोलामा अचानक ठूलो बाढी आयो । बाढी घट्ने आशमा हामी अरू बटुवाहरूझैं किनारामा उभियौं । मैले खोलाको पानी उठाएर हातमा लिएँ । पानी होइन उर्लीउर्ली पहेंलो लेदो बगिरहेको थियो । लेदोमा ढुंगा थिए । बाबु, चुरे त बगेर सिद्धिन्छजस्तो छ । धनिराम काकाले गालामा हात राखेर चिन्ता प्रकट गरेको मलाई आजै जस्तो लाग्छ ।

२०७० सालतिर अफिसको कामले सर्लाही जिल्लाको मलंगवामा पुग्दा मैले दक्षिणतर्फ पहाड देखें । दक्षिणतर्फ पहाड देखेपछि छक्क परें । कार्यक्रमकी एक सहभागी स्थानीय सञ्चारकर्मी धनियाँसँग जिज्ञाशा राखें । ‘सर, हाम्रो चुरे भारतमा सार्दै छन्, रातोदिन ट्रिपरले ढुंगा, गिटी बालुवा बोकेर,’ धनियाले तीखो व्यंग्य गरिन् । मलाई नरमाइलो लाग्यो । एउटा अफिसियल औपचारिक भेटमा पूर्वराष्ट्रपति रामवरण यादवले चुरेको महत्व वर्णन गरेका थिए । ‘भैंसीमाथि चढेर चुरे पहाड पुग्दा चुरे घना जंगलले छोपिएको थियो र रतुवा खोला त जंगलको एउटा सानो खोल्सो मात्र थियो ।’ उनको स्मरण सुनिरहुँ जस्तो साह्रै रमाइलो लागेको थियो । तर, आज चुरे ‘मणि हराएको सर्प’ जस्तो बनेको छ ।

कार्बन व्यापारमा महत्वपूर्ण योगदान रहेको चुरे तराईको सुन्दर पर्वत शृंखला पनि हो

चुरे पहाडको सबैभन्दा उत्तरमा रहेको महाभारत पर्वत सीमादेखि दक्षिणमा नेपाल–भारतको सिमानासम्मको सम्पूर्ण (चुरे, भावर र तराई) भूमिलाई चुरेक्षेत्र भनिन्छ । चुरे पहाड (वा ) हिमालय पर्वत शृंखलाको सबभन्दा बाहिरी भू–भाग हो । चुरे पहाड कमलो एवं सबभन्दा कान्छो पर्वतीय प्रणालीको नामले पनि परिचित छ । तराईमा बग्ने अधिकांश नदीनालाको स्रोत चुरे हो । कार्बन व्यापारमा चुरेको महत्वपूर्ण योगदान रहेको छ । तराईको सुन्दरता पनि चुरे पर्वत शृंखला नै हो । चुरे पर्वतमालाले तराई र भित्री तराईका जिल्लाको वातावरणीय सन्तुलन कायम गर्न पनि ठूलो योगदान दिएको छ ।

चुरे समथर तराईको उत्तरी सिमाना भएर डाँडाहरू खडा भई बनेको छ । चुरे पहाड उत्तरतर्फ महाभारत शृंखला तथा दक्षिणतर्फ भावर प्रदेशसँग जोडिएको छ । विभिन्न स्थान मुख्यतः पश्चिमी भागमा दुन र भित्री मधेसको निर्माण चुरे पहाडमा भएको छ, जसले यस पहाडलाई महाभारत शृंखलाबाट स्पष्ट छुट्याउँछ । कोमल चट्टान सेल, सिल्टस्टोन, स्यान्डस्टोन तथा मडस्टोनजस्ता पदार्थबाट सिर्जित र छरिएका अन्य खुकुला पदार्थबाट निर्मित चुरे पहाड भौगर्भिक हिसाबमा विशिष्ठ पर्वत हो । देशभित्र धेरै वर्षा हुने भू–भाग यसै क्षेत्रमा रहेका कारणले यो भू–भाग भूक्षयको उच्च जोखिमयुक्त क्षेत्र पनि हो ।

चुरे पहाड मात्र नभएर हरियो वन नेपालको धन उखानको पर्याय पनि हो । चुरेको काखमा सदावहार जंगल हुर्किएर बसेको छ । चुरेकोे पहाडी भूमि पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म ३६ जिल्लामा फैलिएको, उच्च पहाडी भू–भाग तथा तल्लो समथर क्षेत्रलाई जोडेको, जलाधार संरक्षण र व्यवस्थापन गर्ने साझा भू–क्षेत्र रहेको, तराई क्षेत्रका लागि पानीको रिचार्ज गर्ने र तल्लो तटीय उर्वर भूमिका लागि जलीयचक्रको व्यवस्था भावर क्षेत्रले गर्ने गरेको, अन्य भौगोलिक क्षेत्रको भन्दा चुरेक्षेत्रमा वनले ढाकेको क्षेत्रफलको अंश अत्यधिक रहेको, जैविक विविधतामा प्रचुरता रहेको, वन्यजन्तुको आवागमनका लागि जैविक मार्गको भूमिका खेलेको तथा एसिया क्षेत्रको वनस्पति एवं वन्यजन्तुको उद्गमस्थलका रूपमा चुरे क्षेत्रलाई लिएका कारण चुरे क्षेत्रको सामाजिक तथा जैविक–पर्यावरणीय महत्व उच्च रहेको छ । चुरेको महत्व आँकलन गर्दै आव २०६७/०६८ देखि राष्ट्रपति चुरे संरक्षण कार्यक्रम सञ्चालन भइरहेको छ ।

चुरे दोहनमा लोभी आँखा लगाउने छिमेकी र ढुंगा, गिट्टी, बालुवाका तस्कर माफियासँग नेपाली जनता समय छँदै सतर्क हुनुपर्छ

कमजोर भूबनोट भएको चूरे पहाडमा प्राकृतिक कारणबाट नै ह्रास हुँदै गएको थियो । त्यसमाथि अदूरदर्शी स्वार्थपूर्ण मानवीय क्रियाकलापका कारण चुरेको ह्रास झन तीव्र गतिमा हुन थाल्यो । चुरे क्षेत्रमा वन अतिक्रमण तीव्र गतिमा बढेका कारण कृषि क्षेत्र बढ्न गएको र चुरे वन क्षेत्रको वरिपरी बसोबास गर्ने अधिकांश जनताको जीवन निर्वाह वन पैदावारमा निर्भर रहेका कारण वन विनाश भएको छ । वन विनाशले चुरे नांगो बन्दै गयो । हजारौं वर्षदेखि वन लिएर वर्षासँग आत्मीयता कायम गर्ने चुरेलाई बर्खायामको पानीले बगाउन थाल्यो ।

चुरे पर्वतबाट प्रवाहित हुने खोलाहरूको जलाधार क्षेत्र वन विनाश भएकाले खोलाहरू प्नि हिउँदमा सुक्न थाले । बर्खायाममा बाढीको प्रकोप बढ्न थाल्यो । जन, धन र जैविक विविधता तीव्र गतिमा क्षति हुँदै गएकाले उपल्लो तटीय र तल्लो तटीय जनतालाई यसबाट नकारात्मक प्रभाव परिरहेको देखिन्छ । वन पैदावार मात्र नभएर ढुंगा गिटी बालुवा भारतसम्म चोरी निकासी हुँदै आइरहेको तथ्य चुरे विनाशका चक्रीय प्रमाणहरू अध्ययनले देखाएका छन् ।

चुरेको विनाश प्रमुख कारण चुरेको सुन्दरता हो । ढुंगा, गिटी, बालुवाको गुणस्तर अत्यन्त राम्रो छ । सलक्क परेका सालका लुकुनाको सुन्दरता आँखाबाट हतपत्ती हट्दैन । तर गर्मी, पानी र हावाले चुरे दिनदिनै पग्लिदै गइरहेको छ ।

चुरे पहाडमा गरिने खनजोतबाट माटो बग्नेक्रम जारी छ । पहिरो गएका छन् । डुबान, नदी कटान र माटो थिग्रिने कार्यबाट धनजनको क्षति तथा विपद् बढ्दो छ । वन पैदावारको अनियन्त्रित उपयोग रोकिएको छैन । विकासका पूर्वाधार निर्माणबाट वनमा चाप बढ्दो छ भने वन डढेलो र चरीचरनबाट पनि वनको क्षति भइरहेको छ । वन्य जीवजन्तु नासिएका छन् । तराईको उर्वराभूमिको उत्पादकत्वमा अपूरणीय ह्रास आएको छ । चुरे भारेभुरेहरूले पनि सजिलै नाध्नसक्ने हुँदै गएको छ । जैविक विविधताको विनाश नियन्त्रण गर्न तथा उपल्लो तटीय चुरे भावर तथा तल्लो तटीय तराईबीच अन्तरसम्बन्ध कायम राख्न चुरे क्षेत्रको संरक्षण अनिवार्य बनेको छ ।

खानीजन्य ढुंगा, गिटी, बालुवा निकासीसम्बन्धी सरकारी नीतिको अस्पष्टताले चुरेबाट ढुंगा, गिटी, बालुवा निकाली बेच्न पल्केका व्यवसायी तस्करहरूले सुनौलो अवसर लिइरहेका छन् । गिटी, बालुवाका तस्करहरू मौलाएका छन् । चुरे नासिनु भनेको तराई मधेसको मानव जीवन संकटमा पर्नु हो । चुरे वा शिवालिक र महाभारत क्षेत्रमा पोखरी निर्माण गरी जलसञ्चय गर्ने, चुरे भावर र शिवालिक क्षेत्रमा वृक्षरोपण गर्ने र पानीका स्रोतहरू पुनर्सिर्जना गर्ने तथा नदी प्रणाली संरक्षण गर्ने चुरेमैत्री नीति कार्यक्रमलाई ढुंगा, गिटी, बालुवा अवैध निकासीले खल्लो बनाइदिएको छ ।

सरकारको उदासीनताको वातावरण संरक्षणका हिमायतीहरूको विरोध तथा तराई भावर क्षेत्रका बासिन्दाको असन्तुष्टिलाई मध्यनजर राख्दै समयसमयमा नेपाल सरकारले चुरे क्षेत्रको संरक्षण र सम्बद्र्धन गर्न प्रतिबद्ध रहेको जनाउँदै आएको देखिन्छ, जुन पर्याप्त होइन । चुरे क्षेत्रको दोहन हुन नदिन तथा वातावरण संरक्षणमा नकारात्मक प्रभाव पर्न नदिन सरकार सक्रिय जागरूक हुनुपर्छ । चुरेको दोहन रोकिएन भने भविष्यमा सम्पूर्ण तराई क्षेत्र मरूभूमिमा परिणत हुनबेर लाग्दैन । यसकारण तराई क्षेत्रका लागि पानीको रिचार्ज र तल्लो तटीय उर्वर भूमिका लागि जलीयचक्रको व्यवस्था गर्ने भावर क्षेत्र तथा वन पैदावर र जैविक विविधताको धनी क्षेत्र चुरे पहाडको संरक्षण अपरिहार्य बनेको छ ।

प्राकृतिक सम्पदा देश विकासको महत्वपूर्ण स्रोत हो । विकास गर्न खोज्दा प्राकृतिक सम्पदाको विनाश स्वाभाविक हुन्छ । प्राकृतिक स्रोतको शून्य विनाशद्वारा आर्थिक विकासको सपना देख्न सकिदैन । खानीजन्य ढुंगा, गिटी, बालुवा नेपालको विदेशी मुद्रा आर्जनको स्रोत बन्दै गइरहेको छ । महाभारत पर्वत शृंखलाबाट ढुंगा, गिटी, बालुवा उत्खनन गर्दा वा हिमाली क्षेत्रबाट उत्खनन गर्दा चुरेजस्तो जोखिमपूर्ण नरहेको विज्ञहरूको मत छ । वातावरण प्रभाव मूल्यांकन गरेर ढुंगा, गिटी, बालुवा कति छ ? कति उत्खनन गर्न सकिन्छ ? कति देशका लागि आवश्यक पर्छ ? कति बचत हुन्छ र कति निकासी गर्न सकिन्छ ? सोको अध्ययन हुन जरूरी छ । अध्ययनपश्चात् मात्र सुरक्षित क्षेत्रबाट ढुंगा, गिटी, बालुवा उत्खनन गरी निकासी गर्न उपयुक्त हुन्छ । तर, ढुंगा, गिटी बालुवा निकासी गर्न वा स्वदेशी निर्माण प्रयोजनका लागि चुरेलाई प्रयोग गर्न भने पूर्णतः बन्देज लगाउनुपर्छ ।

कुनै पनि देशले आफ्नो देशका लागि आवश्यक वस्तु तथा सेवा तुलनात्मक लाभ हेरी अर्को देशबाट आयात गर्छ । निर्यात गर्ने देशले पनि देशको आवश्यकता परिपूर्ति भएपछि बढी भएको निर्यात गर्ने हो । हाम्रो देशमा पूर्वाधार निर्माणको अत्यन्त खाँचो छ । पूर्व–पश्चिम राजमार्ग चारलेनको बनाउने योजना छ, हुलाकी मार्ग बनाउनेक्रम जारी छ र पूर्व–पश्चिम रेलमार्ग बनाउँदा थुप्रै ढुंगा, गिटी, बालुवाको आवश्यकता पर्छ । व्यापार घाटा पूरा गर्न ढुंगा, गिटी, बालुवा निर्यात गर्दा भोलि आफ्ना लागि आवश्यक पर्दा कहाँबाट ल्याउने नि ?
विज्ञहरूले ढुंगा, गिटी, बालुवा निर्यात गरेर प्राप्त हुने राजस्वभन्दा ढुंगा, गिटी, बालुवा निर्यात गर्दा बिग्रेको बाटो बनाउँदा धेरै खर्च हुने तथ्य दिएका छन् । व्यापार घाटा बढाउने मुख्य वस्तु पेट्रोलियम पदार्थ हो । विद्युतीय गाडीहरू चलाएर वा विद्युत्को प्रयोग बढाएर पेट्रोलियम पदार्थको आयात घटाउन जरूरी छ । ढुंगा, गिटी, बालुवा निर्यात गरेर भारतसँगको व्यापार घाटा घटाउनेभन्दा विद्युत् निर्यात गरेर व्यापार घाटा कम गर्नुपर्छ । तर, भारतका बाटाहरू विद्युत्ले त पिच हुँदैनन् ?

सरकारको ढुंगा, गिटी, बालुवा निकासी गर्ने नीति मूलतः आर्थिक खोलभित्रको राजनीतिक एजेन्डा हो । नीति निर्माणमा विकास साझेदार र छिमेकी राष्ट्रहरूको प्रभाव नियमित क्रिया हो । वातावरणीय मूल्यांकनको आधारमा खानीजन्य ढुंगा, गिटी, बालुवा निकासी गरी व्यापारघाटा कम गर्ने नीति निर्माणमा नेपालको स्वार्थभन्दा भारतको स्वार्थ हावी भएको प्रस्ट देखिन्छ । चुरेबाट ढुंगा, गिटी, बालुवा उत्खनन गर्न कठिन छैन । खोस्रिदियो भने मात्र पनि ढुंगा, गिटी, बालुवा बुरुरुर्र झर्न थाल्छ । भारतसम्म पु¥याउन लागत पनि कम लाग्ने भएकाले आयात गर्र्दा भारतलाई धेरै फाइदा पुग्छ ।

भारत सरकारले विहार, पश्चिम बंगाल, झारखण्ड र उत्तर प्रदेशको सडक तथा रेल्वे पूर्वाधार निर्माण गर्न हाम्रो प्राकृतिक सम्पदा प्रयोग गर्दा तुलनात्मक लाभ हुने देखेको छ । यसकारण, चुरेको ढुंगा, गिटी, बालुवा र काठमाथि भारतको चासो बढेको हो । आफ्नो स्वार्थ पूरा गर्न भारतले नेपाल सरकारमाथि वैधानिक रूपमा नीति निर्माण र कानुन बनाउन प्रभाव बढाउन थाल्यो र सफल पनि भयो । ढुंगा, गिटी, बालुवा तेस्रो देश निर्यात हुने त पक्कै होइन । सरकारको ढुंगा, गिटी, बालुवासम्बन्धी नीतिले कसलाई फाइदा पुग्छ, यहाँ बखान गरिरहनु पनि पर्दैन । निःसन्देह भारतका लागि फाइदा पुग्ने हो ।

चुरे पर्वत तराई भावर प्रदेशको सभ्यताको द्योतक हो र मानव जीवनको संरक्षक पनि । नासिदै गएको चुरे पर्वतको पूरै पुनर्सिर्जना हुन सम्भव नहोला तर संरक्षण र प्रवद्र्धन गर्न सकिन्छ र गर्नुपर्छ । सरकारले भारत ढुंगा, गिटी, बालुवा निकासी गर्ने सोच वा नीति तत्काल खारेज गर्नुपर्छ । ढुंगा, गिटी, बालुवाको निकासी रोक्नुपर्छ । स्थानीय जनता नजागेसम्म चुरेको संरक्षण गर्न सरकार उदासीन हुनसक्छ । जनचेतना बढाई, वन अतिक्रमण नियन्त्रण र अतिक्रमित वन पुनःप्राप्त गरेर वृक्षरोपण गरी तथा बारा जिल्लादेखि सप्तरी जिल्ला तथा सुनसरी, मोरङ र झापासम्मको चुरे क्षेत्रलाई राष्ट्रिय निकुञ्ज घोषणा गरी चुरे क्षेत्रको संरक्षण गर्न नेपाल सरकारले कठोर निर्णय लिनुपर्छ ।

प्रदेश र स्थानीय सरकारले आआफ्नो क्षेत्रको चुरे संरक्षणका लागि कठोर निर्णय लिनुपर्छ । राजनीतिक दल तथा आमजनताले पनि सो संरक्षण नीति कार्र्यान्वयनमा सरकारहरूलाई सहयोग पु-याउनुपर्छ । घर पोलेर खरानी निर्यात गर्न उक्साउने र ‘चुरे दोहनमा लोभी आँखा’ लगाउने छिमेकी देश र ढुंगा, गिटी, बालुवाका तस्कर माफियासँग राष्ट्रवादी नेपाली समयमा नै सावधान हुन जरुरी छ ।

 


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए maishirnepal@gmail.com मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर